परराष्ट्रमन्त्रीको रहस्यमयी भ्रमण

परराष्ट्रमन्त्रीको रहस्यमयी भ्रमण


नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको रहस्यमयी अमेरिका भ्रमणप्रति चीन र भारतले गम्भीर चासो राखेको पाइएको छ । दुवै मुलुकका सञ्चारमाध्यमहरूले ज्ञवालीको वासिङ्गटन भ्रमणलाई महत्वका साथ स्थान दिएका छन् । यूएस–इन्डो प्यासिफिक कमान्डमा नेपालको सहभागिताको विषयलाई लिएर दुई छिमेकी मुलुकहरूले विशेष चासो दिएको बुझिएको छ ।

अमेरिका र नेपालका परराष्ट्रमन्त्रीबीच यसरी छलफल भएको सत्र वर्षपछि पहिलोपटक हो र, अमेरिकी विदेशमन्त्री माइक पम्पियोको हार्दिक निमन्त्रणामा गत साता अमेरिका पुगेका परराष्ट्रमन्त्री ज्ञवालीलाई त्यहाँ उच्च महत्व दिइएको थियो । दुई समकक्षीबीच गत साताको मंगलबार (पुस ३ गते) भएको भेटमा दुई मुलुकबीचको राजनीतिक तथा रणनीतिक साझेदारीबारे विस्तृत कुराकानी भएको बुझिएको छ ।

भेटका क्रममा आर्थिक, पर्यटन, व्यापार र लगानी तथा भ्रमणहरूको आदानप्रदानलगायतका विषयमा पनि छलफल भएको संवादपछि विदेश मन्त्रालयका अधिकारीले जनाएका छन् । ज्ञवालीलाई विदेशमन्त्री माइकलगायत ह्वाइटहाउसका उच्च अधिकारीहरूले पनि भेटेका थिए । भनिन्छ, कुनै पनि शक्तिशाली राष्ट्रले कसैलाई विशेष महत्व दिन्छ भने त्यसका पछाडि विशेष स्वार्थ लुकेको हुन्छ । यस सन्दर्भमा सिक्किमका लेन्डुप दोर्जीलाई इन्डियाकी तात्कालिक प्रधानमन्त्री इन्दिरा गान्धीले गरेको भव्य स्वागतलाई उदाहरणका रूपमा लिने गरिन्छ । सत्र वर्षपछि अमेरिकाले नेपालको परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्नु र मन्त्री ज्ञवालीलाई उच्च महत्व दिनुको अर्थ खोज्नेहरूले इन्डो–प्यासिफिक कमान्डबाहेक अरू पनि केही हुन सक्ने अनुमान गरेका छन् ।

सन् १९८३ मा अमेरिका भ्रमणमा पुगेका तात्कालिक राजा वीरेन्द्रले यूएस–प्यासिफिक कमान्डमा सहभागिता जनाउने सहमति दिएका थिए । यसरी राजा वीरेन्द्रको प्यासिफिक कमान्डसँग साझेदारी गर्ने सहमतिपछि नेपाली सेनाका तात्कालिक कर्णेल धर्मपालवरसिंह थापालाई इतिहासमै पहिलोपटक अमेरिकाले त्यहाँको विश्व प्रसिद्ध ‘वार कलेज’मा एक वर्ष लामो तालिममा सहभागी गराएको थियो । यिनै धर्मपालबरसिंह थापा प्रधानसेनापति पदमा नियुक्त हुनु र देशमा माओवादीको नाममा हिंसात्मक घटना शुरु हुनुलाई अनौठो संयोग मानिएको छ ।

यसप्रकारको संयोग देखिए पनि माओवादी युद्धमा अमेरिकी संलग्नताको कुनै पनि प्रमाण अहिलेसम्म भेटिएको छैन । कम्युनिस्ट विचार र व्यवहारप्रति चरम दूरीको दृष्टिकोण राख्ने अमेरिकाको नेपालका कम्युनिस्टहरूसँगको निकटता भने स्वाभाविक देखिएको छैन । सामान्यतया नेपालका कम्युनिस्टहरू चीनसँग निकट रहने गरेको विश्वास गरिन्छ । तर, कम्युनिस्ट नेतृत्वको क्रियाकलाप र व्यवहारले उनीहरू चीनसँगभन्दा पश्चिमी मुलुकसँग निकट रहेको सङ्केत दिन थालेको छ ।