नेकपाको बैठक आज पनि

नेकपाको बैठक आज पनि


गत मङ्सिर २९ गतेदेखि शुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठक आज पनि बस्दैछ । सो पार्टीको स्थायी कमिटीका ४६ सदस्यले पार्टी र सरकार सञ्चालनबारे राखेका सुझावलाई समेटेर आज बुधबार बस्ने बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिउत्तर दिने बताइएको छ ।

अध्यक्षद्वयले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमाथिको छलफलमा हालसम्म ४६ सदस्यले विचार राखेका छन् भने प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भएगरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश गरिएका छन् ।

दुई अध्यक्षले प्रतिउत्तर दिएपछि ती राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गर्ने कार्यक्रम रहेको नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । बैठकमा पार्टी र सरकारका कार्य सम्पादनका बारेमा नेताहरूले मिस्रित धारणा राखेका थिए । अधिकांश नेताले पार्टी र सरकारमाथि विभिन्न शक्तिबाट आक्रमण भइरहेको अहिलेको समयमा आन्तरिक एकता सुदृढ गरेर जानुपर्नेमा सुझाव दिएका बताइन्छ ।

बैठकका क्रममा सचिवालय सदस्य वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पूरक प्रतिवेदन पेश गरेकामा उक्त प्रतिवेदनमा भएका सुझावलाई पार्टीको मूल्यवान् सम्पत्तिका रूपमा सुरक्षित गरिने बताइएको छ ।