केपीसँग समझदारी बढाउने प्रचण्डको प्रतिबद्धता

केपीसँग समझदारी बढाउने प्रचण्डको प्रतिबद्धता


नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा जारी स्थायी कमिटी बैठकमा करिब पौने दुई घन्टा आफ्नो धारणा राखेका छन् । आफ्नो धारणा राख्ने क्रममा प्रचण्डले पार्टी र सरकारलाई सफल बनाउन जारी स्थायी समिटी बैठक ऐतिहासिक भएको बताए । उनले दुई अध्यक्षले संयुक्त रूपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पार्टी नेताहरूले दिएको सुझावलाई समेट्दै परिमार्जनसहित पारित गर्नुपर्ने उल्लेख गरे ।

पार्टीबाटै सरकारको आलोचना गर्नुभन्दा सरकारलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ । यो पार्टी एकता असाधारण भएकोले तल्लो तहसम्मको एकतामा ढिलाइ भएको उनले स्वीकार गरेका छन् । बैठकमा नेताहरूको प्रश्नमा प्रचण्डले पार्टीमा द्विअध्यक्षात्मक प्रणाली नौलो भएकोले यसलाई मिलाएर लैजानुपर्ने बताए । उनले सो अवसरमा पार्टीमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउनु आफ्नो जिम्मेवारी रहेको उल्लेख गरे ।

पार्टीमा दुई अध्यक्ष भएपछि कहिलेकाहीँ अप्ठ्यारो अवस्थाको पनि सामना गर्नुपर्ने उनको भनाइ छ । उनले आफू प्रधानमन्त्री केपी शर्मा ओलीसँग असमझदारी बढाउने पक्षमा नरहेको बताएका छन् । उनले भने, ‘कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, तर म प्रधानमन्त्रीसँग असमझदारी बनाएर जान चाहन्नँ ।’

पार्टीभित्र पनि सत्तापक्ष र प्रतिपक्षको अभ्यास भएकोमा असन्तुष्ट बनेका अध्यक्ष प्रचण्डले पार्टी एक भएर सरकारको बचाउ गर्नुपर्ने आसय व्यक्त गरेका थिए ।

आजकै बैठकमा दुवै अध्यक्षले स्थायी कमिटी सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिने बताइएको भए पनि अध्यक्ष प्रचण्डले बोलेपछि समयाभावका कारण अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओली भने बोलेनन् । नेकपा स्थायी कमिटीको अर्को बैठक बिहीबार दिउँसो ३ बजे बस्ने कार्यक्रम रहेको छ । सोही बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेताहरूले उठाएका प्रश्नको जवाफ दिएपछि नेकपाको स्थायी कमिटी बैठक सकिने बताइएको छ ।