विष्णुविरुद्ध लेख्न चार लाख !

विष्णुविरुद्ध लेख्न चार लाख !


नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले आफ्नाविरुद्ध लेख्न पत्रकारहरूलाई प्रतिव्यक्ति चार लाख रुपैयाँसम्म उपलब्ध गराइएको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी स्थायी समितिको बैठकमा रिमालले उक्त धारणा प्रकट गर्नुभएको हो । तर उहाँले कसले कसलाई उहाँविरुद्ध लेख्न रकम उपलब्ध गराएको हो, सो भने बताउनु भएन ।

उता युनिफिकेसन चर्चसँग माधवकुमार नेपालको आबद्धता र एसिया प्यासिफिक समिटको विषयलाई लिएर सहभागी नेताहरूले चर्को आलोचना गरेपछि माधव नेपालले आफूबाट कुनै गलत काम नभएको दाबी गरेका छन् । बैठकमा नेपालको भनाइ छ, ‘मबाट कुनै गल्ती भएजस्तो लाग्दैन र त्यत्रो ठूलो मुद्दा बनाउनुपर्ने भन्ने पनि मलाई लाग्दैन ।’ नेपालले यसरी स्पष्टीकरण दिनु भए तापनि नेताहरू भीम रावल, योगेश भट्टराई र रघु पन्त लगायतले उहाँले स्पष्टीकरण दिएर हुँदैन, सार्वजनिक रूपमै आत्मालोचना गर्नुपर्छ भन्ने दबाब दिँदै आएका छन् ।

उहाँहरूले माधव कमरेडको भूमिकाको कारणले पार्टीलाई धेरै ठूलो क्षति पुगेको भन्दै सार्वजनिक रूपमा आत्मालोचना गर्नुको कुनै विकल्प नभएको अडान राख्नुभएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने घुमाएर माधव नेपालका कारण आफू फसेको विचार स्थायी समिति बैठकमा प्रस्तुत गर्नुभएको थियो । केपी ओलीले ‘माधव नेपालजीका प्रति अलिक बढी भरोसा राख्दा’ यसप्रकारको प्रतिक्रिया उत्पन्न हुन पुगेको आशय प्रकट गर्नुभएको थियो । केपीले प्रस्ट रूपले आफू फसेको त भन्नुभएन, तर माधव नेपालमाथि भरोसा गर्दा विवादित बन्न पुगेकोचाहिँ बुझिने गरी स्पष्ट गरिदिनुभएको थियो ।

केपीको पक्षबाट सल्लाहकार विष्णु रिमालले ‘कीर्तिमान रहने गरी डिफेन्ड गर्नुभएको’ थियो । रिमालको अभिव्यक्तिलाई बैठकका सहभागीले लाज मानी–मानीकन सुनेका थिए ।

एक साताभन्दा लामो समयदेखि निरन्तर चलिरहेको स्थायी समिति बैठकमा माधवकुमार नेपाल र केपी शर्मा ओली सबैभन्दा बढी आलोचित भएका छन् । केपीको पक्षबाट सल्लाहकार विष्णु रिमालले ‘कीर्तिमान रहने गरी डिफेन्ड गर्नुभएको’ थियो । बैठकमा महासचिव विष्णु पौडेलले पनि केपी ओली र प्रचण्डको ‘डिफेन्ड’ राम्रोसँग गर्नुभएको थियो । रिमालको अभिव्यक्तिलाई बैठकका सहभागीले लाज मानी–मानीकन सुनेका थिए भने पौडेलको ‘प्रतिरक्षा’लाई भने सहभागीमध्ये केहीले ‘केपीलाई खुसी बनाएर विष्णुले आफ्नो वर्तमान सुरक्षित तुल्याएको र प्रचण्डको प्रतिरक्षा गरेर उनले आफ्नो भविष्य सुनिश्चित गर्न खोजेको’ भन्ने जस्ता टिप्पणी गरेका थिए ।

चालू बैठक दुई दिनको निम्ति स्थगित भएर बुधबार (पुस ११) देखि पुनः सुचारु गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो ‘टिमसँग बसेर छलफल गर्न’ समय आवश्यक भएकोले दुई दिन बैठक स्थगित गरिएको हुन सक्ने अनुमान वामदेव गौतम पक्षले गरेका छन् । ज्ञातव्य छ, प्रधानमन्त्रीको टिम भन्नाले सल्लाहकार विष्णु रिमाल, महासचिव विष्णु पौडेल, राजन भट्टराई, गोकुल बाँस्कोटा, राजेश बज्राचार्य र युवराज खतिवडासम्मलाई बुझ्ने गरिएको छ । बैठकमा आफ्नो अलिक बढी नै आलोचना भएपछि प्रधानमन्त्री ओलीले ‘साथीहरू’सँग परामर्श गरेर अलिक तयारीका साथ प्रस्तुत हुने योजना बनाउनुभएको बुझिन्छ ।

प्राप्त जानकारीअनुसार केपी शर्मा ओली आगामी फागुनको आखिरी या चैतको पहिलो सातासम्ममा नेपालमा लगानी सम्मेलन आयोजना गर्ने तयारी गर्दै हुनुहुन्छ । यो सम्मेलन सफल भएमा युवराज खतिवडा प्रधानमन्त्री ओलीलाई गुमराहमा पारेर आफ्नो कार्यकाल लम्ब्याउन सफल हुने ठानिएको छ । जे होस्, स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूले अहिलेसम्म गरेका कामका साथै सरकारको भावी कार्ययोजनासमेत प्रस्तुत गर्न लाग्नुभएको बुझिएको छ । नेता माधवकुमार नेपालका पक्षमा बोलिदिने बैठकमा अहिलेसम्म कोही देखिएका छैनन् र, उहाँ आफैँले गरेको ‘प्रतिरक्षा’समेत निकै फितलो महसुस गरिएको छ ।