सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पास गरेको छ । शुक्रबार बिहान बसेको बैठकले प्रतिवेदन परिमार्जनसहित पास गरेको हो । अब परिमार्जनसहित पास गरिएको उक्त प्रतिवेदन सचिवालयमा पेस हुनेछ ।
बैठकमा स्थायी समिति सदस्यले राखेका विचार र दिएका सुझावलाई समेटेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रूपमा पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
मंसिर २९ गतेबाट जारी बैठकमा नेतृत्व र सरकार दुवैको चर्काे आलोचना भएको थियो । बैठकमा सरकारले जनपअेक्षाअनुसार काम गर्न नसकेको र पार्टी एकीकरणलाई टुंगोमा पु¥याउन नसकेको भन्दै पार्टी नेतृत्व र सरकार दुवैको चर्को आलोचना भएको थियो ।
आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले बैठकमा नेताहरूबाट प्राप्त सुझावलाई समेटेर प्रतिवेदन परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गरेपछि राजनीतिक प्रतिवेदन सर्वसम्मतले पारित भएको हो ।
बैठकले महासचिव विष्णु पौडेल, रामबहादुर थापा बादल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बेदराम भुसाल र लेखराज भट्ट रहेको संगठनात्मक एकताबारे गृहकार्य गर्न कार्यदल पनि बनाएको छ । कार्यदलले तयार गरेको प्रस्तावकै आधारमा पुसभित्रै अर्को स्थायी कमिटी बसेर संगठनात्मक काम टुंग्याउने बताइएको छ ।
प्रतिक्रिया