संसदमा अमरेशको गर्जन- ‘क्रिश्चियन संस्थालाई सरकारी लोगो प्रयोग गर्न कसले दियो ?

संसदमा अमरेशको गर्जन- ‘क्रिश्चियन संस्थालाई सरकारी लोगो प्रयोग गर्न कसले दियो ?


हिजो (विहिबार)देखि शुरु भएको हिउँदे संसदको आजको बैठक गम्भीर विषयको उठानसँगै शुरु हुन पुगेको छ ।

नेपाली काङ्ग्रेसका नेता एवम् सांसद डा. अमरेश कुमार सिंहले क्रिश्चियन धर्म प्रचारक संस्था युपीएफको कार्यक्रममा नेपाल सरकार र संसदको लोगो प्रयोग गर्न कसले दियो भन्दै जोशका साथ प्रश्न उठाएपछि बैठकको माहोल शुरुमै तात्न पुगेको हो ।

बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले अत्यन्त विवादित रूपमा आयोजना गरिएको एसिया प्यासिफिक सम्मेलनमा नेपाल सरकार र संसदको लोगो प्रयोग गरिनु सिङ्गै देश र संसदको अपमान र बेइज्जतीको सवाल भएको तर्क गरे ।

‘यसरी क्रिश्चियन धर्मप्रचारक संस्थाको दुर्उद्देश्यपूर्ण कार्यक्रममा संसदको लोगो प्रयोग गर्न कसले दियो ? नेपाल सरकारको लोगो प्रयोग गर्न कसले दियो ? यसको छानबिन हुनुपर्छ, दोषीमाथि कारवाही हुनुपर्छ’, सांसद डा. सिंहले माग गरे ।

ज्ञात रहोस्, नेपाल सरकारको लोगो प्रधानमन्त्रीको अनुमतिविना प्रयोग हुन नसक्ने र संसदको लोगो पनि सभामुखको अनुमतिबेगर प्रयोग गर्न सकिँदैन । यति मात्र नभई एसिया प्यासिफिक सम्मेलनको एउटा सत्रको अध्यक्षता त सभामुख कृष्णबहादुर महरा स्वयंले गरेका थिए । कतिपय देशका सभामुखहरूलाई महराले नै निम्तो पठाएर क्रिश्चियन धर्म प्रचारक कार्यक्रममा बोलाइदिएका समाचार यसअघि नै छताछुल्ल भइसकेका छन् ।

यस्तै, नेपाल सरकारलाई क्रिश्चियन धर्मप्रचारक संस्थाको उक्त कार्यक्रममा सहआयोजक राखिएको थियो । प्रधानमन्त्री खड्गप्रसाद ओलीले कार्यक्रमको उदघाटन गरेका थिए । ओली अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव नेपाल त मूल आयोजक समितिको संयोजक नै रहेका थिए ।

क्रिश्चियन धर्मप्रचारक संस्थाको कार्यक्रममा नेपाल सरकारलाई सहआयोजक राखेको भनेर निकै आलोचित बन्न पुगेको सो कार्यक्रम नेपाली कांग्रेसले भने वहिष्कार गरेको थियो ।

सांसद सिंहले बोल्ने क्रममा उखुकृषकहरूको पीडालाई पनि ज्वलन्त ढङ्गले उठाएका थिए । कात्तिक महिनामै खुलिसक्नुपर्ने चिनीमिलहरू अहिलेसम्म नखोलेर सरकारले मिल–मालिकको मिलेमतोमा देशभरका तीन लाख उखुकृषकमाथि लात हानेको आरोप डा. सिंहले लगाए ।

किसानको उखुको मूल्य नदिएको र चिनीमा कालोबजारी गर्न ठूलो षडयन्त्र भएको उनको भनाई थियो । उद्योगमन्त्री मातृकाप्रसाद यादवको नाम नलिइकन सांसद सिंहले भने– ‘उखुकृषकको हितमा काम गर्नुपर्ने मन्त्रालयको भूमिका नै अत्यन्त शंकाष्पद देखिएको छ । सरकारको किसानमारा अनुहार उदाङ्ग भएको छ ।’