संघीय संसदमातहतको संसदीय सुनुवाइ समितिले आज प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश बनाउन हुन्न भनी उजुरी हाल्ने उजुरीकर्तासँग छलफल गरेको छ ।
नौजना उजुरीकर्तालाई आ–आफ्नो उजुरीको पुष्टि गर्न समितिले बैठकमा बोलाएर छलफल गरेको हो । संवैधानिक परिषदले सर्वाेच्च अदालतमा तीन वर्ष सेवा अवधि पुगेको वरिष्ठतम न्यायाधीशका रूपमा सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा जबराको प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।
समितिले सूचना प्रकाशित गरी यही पुस ११ गतेसम्म उनको नाममा उजुरीका लागि आह्वान गरेकामा नौजनाले उजुरी दर्ता गराएका थिए ।
कार्य सम्पादनका क्रममा प्रस्तावित प्रधानन्यायाधीश राणाले संविधान, ऐन र नियमविपरीत व्यक्तिविशेषबाट प्रभावित भएर मुद्दाको निर्णय गरेको हुँदा यस्तो पात्र प्रधानन्यायाधीशजस्तो गरिमामय पदमा नियुक्त गर्नु उपयुक्त नहुने उजुरीकर्ताले बैठकमा तर्क प्रस्तुत गरेका थिए ।
उजुरीकर्तासँगको छलफलपछि समितिले प्रस्तावित प्रधानन्यायाधीश जबरालाई संसदीय सुनुवाइका लागि आगामी आइतबार २ बजे बोलाउने निर्णय गरेको छ ।
बैठकपछि समितिका सदस्य जीतेन्द्रनारायण देवले उजुरीकर्तासँग उजुरीको व्यहोरा, व्याख्या र थप जानकारी लिने काम सकिएपछि प्रस्तावित प्रधानन्यायाधीशलाई संसदीय सुनुवाइका लागि आगामी आइतबार बोलाउने निर्णय भएको जानकारी दिए ।
प्रतिक्रिया