नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सवै जनताले अनुभूति गर्ने गरी विकास र समृद्धिको दिशामा सरकारले काम गरिरहेको दाबी गरेका छन् ।
गोरखाको बारपाकमा शनिबार प्रभु बैंकको शाखा कार्यालयको उद्घाटन कार्यक्रममा नेता श्रेष्ठले भने, ‘सङ्घीय सरकार बनेको नौ महीना मात्र भएको छ, अहिले नै सरकारले काम गर्न सकेन भन्नु गलत हो ।’ शिक्षा, स्वस्थ, रोजगारी, खाद्यान्न र आवासको समस्याबाट कोही पनि पीडित हुन नपर्ने गरी विकसित नेपालको निर्माणका लागि सरकार लागि परेको उनले बताए ।
‘विकास र समृद्धिको प्रतिफल आमजनताले आफ्नै पोल्टामा अनुभूति गर्ने गरी परिवर्तन आवश्यक छ, तर त्यसका लागि केही समय लाग्छ’ भन्दै उनले वर्तमान सरकारले सबैखालका विदेशी हस्तक्षेपलाई बन्द गरी आफ्नो भाग्य र भविस्य निर्माणका लागि आफैँ निर्णय गर्ने हैसियतमा नेपाली जनतालाई पुर्याएको दाबी गरे । ‘विदेशीसँग सहयोग लिन्छौँ, मित्रता कायम गर्छौं तर हस्तक्षेप स्वीकार गर्दैनौँ भन्ने एउटा नीति लागू भएको छ, यो सरकारले गरेको सबैभन्दा महत्वपूर्ण काम हो’, पार्टीका प्रवक्तासमेत रहेका नेता श्रेष्ठले उल्लेख गरे ।
संविधानमा सबै नागरिकका लागि ३१ वटा मौलिक हकको व्यवस्था गरेको भए पनि कानून नबनाई त्यसको कार्यान्वयन सम्भव नभएकाले सरकारले कानून निर्माण गरिसकेको नेता श्रेष्ठले बताए । त्यस्तै सरकारले सबै मजदूर तथा श्रमजीवी जनताको जीवनस्तरमा परिवर्तन ल्याउन योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको उनको भनाई छ ।
नेता श्रेष्ठले भूकम्पपछिको पुनःनिर्माणका काम पछिल्लो चरणमा तीव्रगतिमा अघि बढेको भन्दै लाभग्राहीको सूचीमा नपरेका वास्तविक भूकम्पपीडितको गुनासा तत्काल सम्बोधन हुने बताए । ‘भूकम्पले क्षति पुर्याएका जो वास्तविक भूकम्पपीडित छ, जसको घर क्षति भएको छ र घरमा बस्न सक्ने स्थिति छैन भने एक जना पनि नछुट्ने गरी काम हुन्छ’, उनले भने, ‘त्यसका लागि प्राधिकरणले सबै जिम्मा स्थानीय तहलाई दिइसकेको छ ।’
उनले समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको भन्दै सबै राजनीतिक मिलेर दल प्राप्त उपलब्धिलाई रक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया