आएन मन्त्री अधिकारीको राजीनामा !

आएन मन्त्री अधिकारीको राजीनामा !


वाइडबडी विमान खरिद प्रकरणमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । पर्यटनमन्त्री अधिकारीले सोमबार पत्रकार सम्मेलन गरी सो कुरा बताएका हुन् । सो अवसरमा उनले पूर्वाग्रह राखेर वाइडबडीमा आफ्नो नाम जोडिएको पनि बताए ।

संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले वाइडबडी खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार भएको र यसमा बहालवाला मन्त्री अधिकारीसहित दुई पूर्वमन्त्री र मन्त्रालयका सचिव तथा निगमका अधिकारीको संलग्नता रहेको भन्दै कारबाहीका सिफारिस गरेपछि मन्त्री अधिकारीले आज पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो धारणा राखेका हुन् ।

मन्त्री अधिकारीले मन्त्रालयमा आयोजना गरेको सो पत्रकार सम्मेलनमा नेपाल वायुसेवा निगमले खरिद गरेका दुईवटा वाइडबडी जहाज खरिदमा आफूले कानुनबमोजिम काम गरेको र त्यसमा भनिएको भ्रष्टाचारमा आफ्नो संलग्नता नरहेको दाबीसमेत गरे ।

उनले महालेखाले प्रश्न उठाए पनि कानुनको अन्तिम व्याख्या गर्ने निकाय सर्वोच्चको २७ मंसिर ०७४ को आदेशअनुसार आफूले अन्तिम किस्ता रोक्न सक्ने अवस्था नभएको बताए ।

उनले संसदमा आफ्नो कार्यकालमा कुनै पनि रकम नगएको बोलेको स्वीकार गर्दै भने, ‘२–३ दिनपछि पेमेन्ट कसरी जान्छ भनेर हेर्दा पो पहिले नै सेड्युल बनेको रहेछ । त्यसअनुसार अन्तिम किस्ता मेरो कार्यकालमा पनि गएको रहेछ ।’ ‘म मेरो कार्यकालमा भएको कामको जिम्मेवारी लिन तयार छु, यसबाट भाग्ने कुरै छैन,’ उनले भने । मन्त्री अधिकारीले वाइडबडी खरिद प्रकरणमा उठेका विषयमा निष्पक्ष छानबिन गर्न आग्रह गर्दै त्यसमा आफ्नोतर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

आजको पत्रकार सम्मेलनमा मन्त्री पदबाट नैतिकताको आधारमा उनले राजीनामा दिने धेरैको अपेक्षाविपरीत राजीनामाको घोषणा गरेनन् । यसलाई आलोचकहरूका अलावा सत्तापक्षकै कतिपयले अस्वाभाविक रूपमा लिएका छन् । नेकपाका होनहार नेताका रूपमा चित्रित गरिएका मन्त्री अधिकारीले नैतिकता प्रदर्शनभन्दा पदलाई महत्व दिएबाट उनका प्रशंसकहरू पनि निराश बनेका छन् ।

यो पनि हेर्नुहोस्-

लेखा समितिको बैठक उछिन्दै मन्त्री रविन्द्रद्वारा पत्रकार सम्मेलन किन ?
https://ghatanarabichar.com/132424