एकता बिथोल्न देउवाको उपयोग

एकता बिथोल्न देउवाको उपयोग


देशव्यापी जागरण अभियान सञ्चालन गरी ‘एकता सन्देश’ दिएको महिना दिन नपुग्दै नेपाली काङ्ग्रेसमा विवाद र झमेलाको विजारोपण गर्ने प्रयास भएको छ । काङ्ग्रेस नेता शेरबहदुर देउवाले संसदीय दलको नेता बन्न बेग्लै अभ्यास सुरु गरेपछि पार्टीमा तनाव उत्पन्न भएको हो । काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेललाई उपसभापति र कृष्णप्रसाद सिटौलालाई महामन्त्री मनोनयन गर्ने क्रममा आफूलाई संसदीय दलको नेता बनाउने सहमति भएको दाबी देउवाले गर्नुभएको छ । तर, सभापति सुशील कोइरालाले त्यस्तो कुनै सम्झौता या सहमति नभएको स्पष्ट गर्दै उहाँ अमेरिका र युरोपको भ्रमणमा जानुभएको छ । भनिन्छ, उपसभापति र महामन्त्री मनोनयन गर्न काङ्ग्रेस केन्द्रीय समितिको बैठक बस्नुअघि काङ्ग्रेसका उच्च नेताहरूबीच अनौपचारिक छलफल चलेको थियो र त्यसक्रममा देउवाले सुशील कोइरालासँग एकान्त वार्ता पनि गर्नुभएको थियो । एकान्त वार्तापश्चात् कोइरालाले नेता रामचन्द्र पौडेलतिर देखाउँदै ‘लौ रामचन्द्रजीसँग कुरा गर्नुहोस्’ भनेर देउवालाई भन्नुभएको पनि थियो । तर, त्यसबखत पौडेल र देउवाबीच खासै संवाद नभएको बताइन्छ । कोइराला र देउवाबीचको एकान्त वार्तामा के भएको थियो भन्ने जानकारी अहिलेसम्म कसैलाई छैन । तर, त्यही वार्ताका आधारमा देउवाले आफूलाई संसदीय दलको नेता बनाउने सहमति भएको प्रचार गर्दै आउनुभएको छ र कोइरालालगायत अन्य नेताहरूले त्यस्तो भनाइ अस्वीकार गरिरहनुभएको छ ।
नेपाली काङ्ग्रेसमा भाग्यमानी व्यक्तिका रूपमा समेत चिनिनुहुने शेरबहादुर देउवा विशेष परिस्थितिमा काकताली परेर तीनपटक प्रधानमन्त्री भइसक्नुभएको छ । उहाँको प्रधानमन्त्रीत्व काललाई काङ्ग्रेस पार्टीले अँध्यारो कालखण्डका रूपमा बुझेको छ । राजाको शासनकालमा तुलसी गिरीको उपमा पाउनुभएका देउवालाई पछिल्लो समयमा माओवादी अध्यक्ष प्रचण्ड र झलनाथ खनालले उपयोग गर्न खोजेको महसुस काङ्ग्रेसभित्र गर्न थालिएको छ । पहिले ‘तुलसी गिरी बनेका’ देउवा अब ‘च्याङ्काई सेक’ बन्न अग्रसर हुनुभएको हो या ‘सुकार्नो’ त्यो छुट्याउन काङ्ग्रेसले सकिरहेको छैन, तर माओवादीबाट देउवालाई काङ्ग्रेस र लोकतन्त्रविरुद्ध उपयोग गर्न प्रयास भइरहेकोप्रति भने काङ्ग्रेसको नेतृत्वपङ्क्ति स्पष्ट हुँदै गएको छ । भनिन्छ, प्रचण्ड, झलनाथ र देउवाबीच गुप्त गठबन्धन कायम भएको छ र आफूहरू प्रधानमन्त्री बन्न या बनिरहन नसक्ने अवस्थामा प्रचण्ड र खनालले देउवालाई प्रधानमन्त्री बनाउने आश्वासन दिनुभएको छ । दुई अतिवादी कम्युनिस्ट नेताको आश्वासनपश्चात् देउवा काङ्ग्रेस संसदीय दलको नेता बन्न सर्सकाउनुभएको जानकारहरूको भनाइ छ । ज्ञातव्य छ, काङ्ग्रेसले आफ्नो पार्टीका तर्फबाट प्रधानमन्त्रीमा कसैलाई प्रस्ताव गर्नुपरेमा संसदीय दलको नेतालाई नै गर्ने वैधानिक व्यवस्था छ । भविष्यमा कथंकदाचित काङ्ग्रेसले सरकारको नेतृत्व लिनुपर्ने अवस्था आएमा संसदीय दलका नेता रामचन्द्र पौडेललाई नै अघि सार्ने निश्चित छ । त्यसैले प्रचण्ड-झलनाथको आश्वासनको वशमा पर्नुभएका देउवाले भविष्यमा प्रधानमन्त्री बन्न अहिले संसदीय दलको नेता बन्ने कसरत सुरु गर्नुभएको छ, जुन कसरतका कारण काङ्ग्रेसको बनिबनाउ एकतामा दखल पुग्न सक्ने देखिएको छ । आफ्नो पक्षमा बहुमत सदस्य सङ्ख्या पुग्ने देखिएमा नेता रामचन्द्र पौडेलका विरुद्ध अविश्वास प्रस्ताव राख्ने योजना देउवाले बनाउनुभएको छ । तर, अहिलेसम्म पौडेलका विरुद्ध बहुमत जुट्न सक्ने देखिएको छैन । तथापि यही विषयलाई लिएर काङ्ग्रेसमा विवाद रहेमा त्यसको असर आगामी भदौ १४ र त्यसपछि काङ्ग्रेसले लिनुपर्ने निर्णयमा गम्भीर असर पर्न सक्ने राजनीतिक विश्लेषकहरूको धारणा छ । प्रचण्ड र झलनाथ खनालहरू भदौ १४ पछि पनि संविधानसभालाई निरन्तरता दिइनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ । जब कि शान्तिप्रक्रिया टुङ्गोमा नपुग्ने हो भने काङ्ग्रेस पुनः म्याद थप गर्न तयार होला भन्न सकिँदैन । ठीक त्यही बहस र छलफलका बीच देउवालाई आफ्नो पक्षमा उपयोग गर्ने रणनीतिक चाल प्रचण्ड र झलनाथले चल्नुभएको छ, देउवा उनीहरूबाट उपयोग हुने पृष्ठभूमि अहिलेदेखि नै बनाउँदै हुनुहुन्छ । स्मरणीय छ, प्रचण्ड र झलनाथ खनालले संविधानसभामा दुईतिहाइ बहुमत पुर्‍याएर राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने योजना दुई महिनाअघि बनाउनुभएको थियो र उहाँहरूको त्यस्तो योजनामा देउवाको पनि साथ रहने विश्वास प्रचण्ड-झलनाथमा थियो । तर, राष्ट्रपतिविरुद्ध कुनै पनि हालतमा दुईतिहाइ मत जुट्न सक्ने नदेखिएपछि महाभियोगको प्रयास थला परिरहेको छ । गत वर्ष काङ्ग्रेस महाधिवेशनमा राष्ट्रपति डा. रामवरण यादवले आफूलाई सहयोग नपुर्‍याएको, बरु विरुद्धमा लागेको भन्ने आरोप देउवाको छ । त्यसैले देउवा राष्ट्रपतिसँग अझै क्रूद्ध हुनुहुन्छ । कदाचित लोकतन्त्रको रक्षाका निम्ति मुलुकमा राष्ट्रपति अग्रसर हुनुपर्ने अवस्था आयो भने त्यस्तो समयमा देउवाको सहयोग राष्ट्रपतिलाई नहुने बताइन्छ । देउवाले नेपाली सेना आफूसँग निकट रहेको दाबी गर्दै खास समयमा सेनालाई राष्ट्रपतिविरुद्ध परिचालन गर्न सकिने वचन प्रचण्ड र झलनाथ खनाललाई दिनुभएको पनि सम्बद्ध सूत्रको भनाइ छ । काङ्ग्रेसको नेतृत्वपङ्क्तिमा यससम्बन्धी सूचना प्रतप्त भए पनि देउवा यो हदसम्म तल जानुहोला भन्ने कुरामा चाहिँ विश्वास गरिएको छैन ।