अन्तरविचारहरु

अन्तरविचारहरु


ए, ती विषयमा प्रश्नावली नै नबनाइने– राजाराम श्रेष्ठ (सहमहासचिव, राप्रपा नेपाल)
० राजनीतिक दलबीच अहिले संवादहीनताको अवस्था छ, यसको अन्त्यका लागि के गर्नुपर्ला ?
– अहिले जुन प्रकारको गतिरोध र संवादहीनताको अवस्था छ, त्यो ज्यादै दुःखदायी र मुलुकका लागि प्रत्युत्पादक छ । राष्ट्रको स्वार्थलाई भन्दा आफू र आफ्नो पार्टीको स्वार्थलाई प्राथमिकता दिने प्रवृत्तिले गर्दा यस्तो भएको हो । यस्तो अवस्था आउनु हुँदैनथ्यो । प्रमुख दलहरू जवाफदेही ढङ्गबाट प्रस्तुत हुन नसक्दा यस्तो परिस्थिति निम्तिएको भए पनि मुलुकको वर्तमान अवस्थालाई दृष्टिगत गरी अब सबै पार्टी दलगत स्वार्थबाट माथि उठ्नैपर्छ । मेरो गोरुको बाह्रै टक्का भन्ने बानी छोड्नुपर्छ । खासगरी सत्तासीन दलहरूको मिचाहा प्रवृत्ति हुनुहुँदैन ।
० अहिलेको मुठभेडको स्थिति उत्पन्न गराउन मुख्य रूपमा कसको भूमिका बढी छ होला ?
– संविधानसभामा प्रमुख दलको रूपमा रहेका तीन दल नेपाली काङ्ग्रेस, एमाले र एमाओवादी उत्तिकै जिम्मेवार छन् । ती तीनवटै दल र तिनका नेताहरूको अक्षमता, अकर्मण्यता, अदूरदर्शिता र पदलोलुपताका कारण अहिलेको विषम परिस्थितिको सिर्जना भएको हो । जनतासमक्ष कबुल गरेका वाचा पूरा नगर्ने, सहमति गर्ने त्यसको पालना नगर्ने ठूला दलको बानी नै परिसकेको छ । एक–आपसमा दोषारोपण गर्ने, एकले अर्कालाई बेवकुफ बनाउने उनीहरूको सौख नै बनिसकेको छ । देश र जनताप्रतिको जिम्मेवारी केवल नारा र भाषणमै सीमित बनाइएको छ । तर, अहिले जनताको चाहना झुट बोल्ने बेवकुफ नेता होइन, काम गरेर देखाउने इमानदार नेताको छ ।
० दलहरू सहमतिको राजनीतिमा फर्कन या वार्ता–संवादको वातावरण बनाउन कसले के त्याग्नुपर्छ ?
– अहिलेको राजनीतिमा त्यागको संस्कार नै अन्त्य भइसक्यो भन्दा हुन्छ । लुच्चा, लफंगा, फटाहा, लोभीपापीहरूको हालिमुहाली राजनीतिमा भएकाले राजनीति नै घृणित बनेको छ । त्याग, तपस्या, नैतिकता र इमानदारिता देखाउन नसकिएकै कारण आज देशले यो दुर्दशा भोग्दै छ । प्रमुख दलहरूको विगत र वर्तमानको पृष्ठभूमि हेर्दा सहमतिमा आउन निकै गाह्रो छ । विगतमा भएको जनयुद्धको समयमा आतङ्ककारी घोषणा गर्ने, टाउकोको मूल्य तोक्ने र विद्रोही शक्ति (एमाओवादी) अहिलेको संविधानसभामा पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । बाह्य शक्तिको संयोजन र प्रायोजनमा विदेशी भूमिमा दुई विपरीत ध्रुवका पार्टीहरूका बीचमा गरिएको १२ बुँदे समझदारी अप्राकृतिक र अपवित्र थियो । एक दिन त्यो भङ्ग हुनुपर्ने नै थियो । १२ बुँदे समझदारीकै कारण आज हाम्रो राष्ट्रियता कमजोर बन्यो, राष्ट्रिय पहिचानहरू गुमे, इतिहासकै कालखण्डमा नेपाली जनताले सर्वाधिक दुःखकष्ट झेल्नुप-यो, अहंकार त्याग्नुप-यो, विदेशीको सामु हुने आत्मसमर्पण त्याग्नुप-यो ।
० अहिले एमाओवादीसहितको मोर्चा संविधानसभा प्रक्रियामा गएको विरोधमा आन्दोलनमा होमिएको छ, यसलाई कसरी हेर्नुभएको छ ?
– नहुनुपर्ने काम भएको छ । राजनीतिक परिवर्तन भएको नौ वर्ष भो, संविधान बनेन, बन्ने छाँट पनि देखिँदैन । संविधान बनाउन कसैलाई हतारो पनि छैन, कोही गम्भीर छैन, कसैको इमानदारिता पनि देखिँदैन । सत्ता, पद र पैसा कसरी हात पार्ने भन्नेमा नै रातदिन तल्लीन देखिन्छ । कथनी र करनीमा ठूलो अन्तर छ । देखाउने र चपाउने दाँत फरक छ । संविधानको संविधान कस्तो बनाउने भन्दा पनि को राष्ट्रपति बन्ने, को प्रधानमन्त्री बन्ने भन्नेमा आन्तरिक रस्साकस्सी छ । विधि, प्रक्रिया र सहमति, प्रधानमन्त्री, सभामुखलगायतका पदहरूको गएको वर्ष एक वर्षको म्याद तोकिएको थियो । अब एक वर्षको म्याद सकियो । तीन दलका आँखा राष्ट्रपति र प्रधानमन्त्रीको दुई पदमा केन्द्रित छन् । असली कुरा यही हो ।antarbichar
० यो संविधानसभाप्रति जनताको दृष्टिकोण कस्तो पाउनुभएको छ ?
– पटकपटक म्याद थपेर अनि संविधानसभाकै दुई–दुईपटक चुनाव गरेर पनि संविधान दिन नसकेकोले यो संविधानसभाप्रति नेपाली जनताको विश्वास रहेन । जनतालाई पटकपटक ढाँट्ने काम भयो । यो सभा जनताको आस्था र विश्वासको केन्द्र बन्न सक्नुपथ्र्यो, बन्न सकेन । यो संविधानसभाबाट देशको यावत् समस्याको समाधान हुने जनताको अपेक्षा थियो, तर त्यसको ठीक विपरीत संविधानसभा आफैँ समस्या बन्यो, सङ्कटसभा बन्यो । संविधानसभा समाधानसभा बन्न सकेन । आस्था र विश्वास गुमेको संस्थाले बनाएको संविधानको विश्वसनीयता हुँदैन । अब त संविधान पालना गर्नेभन्दा संविधान जलाउनेको जमात बढी देखिन थाल्यो ।
० राप्रपा नेपालले लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार संविधानसभा अगाडि बढ्नुपर्छ भन्ने आफ्नो अडान राखेको थियो, तर अहिले यहाँहरू पनि एमाओवादीसँग सडकमा भेट्ने भन्दै हुनुहुन्छ, यसलाई कसरी लिने ?
– राप्रपा नेपालले सुरुदेखि नै समयमै संविधान निर्माण होस् भन्ने चाहेको हो । केही राजनीतिक दलको सत्ताकेन्द्रित खेलमा प्राथमिकता भएकाले हामीले विभिन्न चरणमा जनदबाबको सङ्घर्षका कार्यक्रम पनि ग-यौँ, तोकिएकै समयमा संविधान बनाउन, ठूला दलको ध्यान संविधानमा भन्दा अन्तै देखियो । जनताका हैसियत झन्झनै दयनीय, केही नेता भने सधैँ माननीय र सम्माननीय । आठ वर्षको अन्तरालमा सात प्रधानमन्त्री फेरिए, तर जनताको मुहार फेरिएन । सर्वहारा नेताहरू रातारात अर्बपति भए, तर जनताको यो दुर्गति भयो । सकेसम्म सहमतिबाट त्यो नभए विधि र प्रक्रियाबाटै भए पनि संविधान निर्माण गरौँ भन्ने हाम्रो चाहना हो । सङ्क्रमणकाल लम्ब्याउनु भनेको सङ्कटकाल निम्त्याउनु हो भन्ने सबैले बुझ्नुपर्ने हो । शान्ति, सहमति र संविधानका नाममा मुलुकको लामो समय बर्बाद भइसक्यो । गरिब जनताले तिरेको सयौँ अर्ब रित्तिसक्यो । तर, शान्ति र संविधान आकाशको फलजत्तिकै भएको छ । जहाँसम्म एमाओवादीसँग हाम्रो भेट सडकमा हुन्छ भन्ने प्रश्न छ, त्यसको जवाफ स्पष्ट छ । सैद्धान्तिक रूपमा वैचारिक भिन्नता राख्ने केवल दुई पार्टी राप्रपा नेपाल र एमाओवादी मात्रै हुन् । काङ्ग्रेस, एमाले त माओवादीको कहिले टाउकाको मूल्य टोक्ने र आफ्ना स्वार्थका लागि कहिले जोड्ने पार्टी हुन् । हामीले राष्ट्रियता, जनताको सर्वोच्चताका लागि निरन्तर आन्दोलन गरिरहेका छौँ । एमाओवादीजस्तो कहिले सत्तामा कहिले सडकमा गरेका छैनौँ ।
० तपाईंहरूले राखेको सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विषयमा प्रश्नावली नबनाउने भएपछि संविधानसभा नै अवरोध गर्नुभयो, तर अन्तरिम संविधानले स्वीकार गरेको विषयमा किन प्रश्नावली बनाउनुप-यो नि ?
– सबै कुराको एउटा हद हुन्छ । सर्वाधिक विवादित विषय बनेको मूल मुद्दा सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्रका विषयमा छलफल नै नहुने, बहस नै नहुने, प्रश्नावली नै नबन्ने लोकतान्त्रिक दुनियाँमा त्यस्तो सम्भव हुन्छ ? कुरा प्रजातन्त्रको मूल्य र मर्यादा नराख्ने अनि जनता ठग्ने ? यस्तो प्रवृत्ति अब चल्दैन । जनताको आँखामा सधैँ छारो हाल्न सकिँदैन । जनतालाई सधैँ भ्रमित पारेर सत्ता हत्याउन सकिँदैन । अब वास्तविकता प्रकट हुन्छ, अन्ततोगत्वा सत्यको नै जित हुन्छ । गणतन्त्र, धर्मनिरपेक्षता र सङ््घीयताका विकल्पमा हामीले जनतासामु मत माग्नुहुने, त्यही आधारमा देशको चौथो ठूलो राजनीतिक शक्ति हुनुहुने अनि ती विषयमा प्रश्नावली नै बनाउन नहुने ? यो सार्वभौमसत्तासम्पन्न नेपाली जनता र संविधानसभा दुवैको घोर अपमान हो । अन्तरिम संविधानले स्वीकार गरेको विषयमा प्रश्नावली नै बनाउनु नपर्ने भए संविधानसभाको दुई–दुईपटक चुनाव किन गर्नुप-यो ? मुलुकको सयौँ अर्ब रुपैयाँ किन स्वाहा गर्नुप-यो ? यति लामो समयसम्म ६०१ को पल्टन किन पाल्नुप-यो ? अन्तरिम संविधानलाई जस्ताको तस्तै नयाँ संविधान भनेर घोषणा गरिदिए भइहाल्यो नि ।
० तपाईंहरूले निर्वाचनमा जाँदा हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्रको मुद्दा निकै जोडतोडले उठाउनुभएको थियो । अहिले त राजतन्त्रको कुरा नै छाड्नुभयो नि ? राप्रपा नेपालको एजेण्डा नरहेको हो ?
– हामी आफ्ना एजेण्डामा अडिग छौँ । आफ्नो एजेण्डामा सधैँ स्पष्ट र अडिग रहेकै कारण नेपालको राष्ट्रिय राजनीतिमा राप्रपा नेपालको फरक पहिचान छ । धर्मनिरपेक्षता र राजसंस्थालगायतका विषय राप्रपा नेपालले केवल आफ्नो पार्टीगत स्वार्थका लागि उठाइरहेको छैन । यी विषय नेपालको राष्ट्रियता, राष्ट्रिय पहिचान, राष्ट्रिय स्वाभिमानसँग प्रत्यक्ष गाँसिएका विषयहरू हुन् । जसको अभावमा नेपालको राष्ट्रिय एकता, अखण्डता, अस्तित्व र विकास सम्भव छैन ।
० नयाँ जारी हुने संविधान राजतन्त्र हिन्दूराज्यविहीन भयो भने के गर्नुहुन्छ ? हिन्दूराष्ट्र र राजतन्त्रविहीन संविधान पनि राप्रपा नेपालले स्वीकार गर्छ भन्ने हो ?
– सिङ्गो र अखण्डित राष्ट्रको रूपमा नेपाललाई अटल राखिरहने हो भने प्रजातान्त्रिक राजासहितको सनातन धर्मसापेक्ष हिन्दूराष्ट्रको अपरिहार्यता छ । राजसंस्थाविहीन वा हिन्दूराष्ट्रविहीन हुन भनेको राष्ट्रविहीन हुनु हो । हाम्रो भूराजनीतिक स्थिति, धार्मिक, सामाजिक परिवेश नै त्यस्तो छ, जहाँ भोटको राजनीतिभन्दा फरक, पार्टीको राजनीतिभन्दा अलग संस्थाको आवश्यकता छ । जसले बहुभाषा, बहुधर्म, बहुजाति, बहुसंस्कृति भएको देशमा एकताको भाव जागृत र जीवित राख्न सकोस् । त्यो राजसंस्थाबाट सम्भव छ । हाम्रो देशको कुनै त्यस्तो दलका नेताले सबै जातजाति, धर्म, सम्प्रदायका मानिसलाई एकताको सूत्रमा आबद्ध राख्न सक्ने खुवी र सामथ्र्य राख्न सक्छन् त ? त्यसैले राप्रपा नेपालको मात्र होइन, सबै स्वाभिमानी, प्रजातन्त्रवादी र राष्ट्रवादी नेपालीले प्रजातान्त्रिक राजासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दूराष्ट्रको संविधानको अपरिहार्यता महसुस गरेको छ ।

अन्तरविचार–२
मरे पनि फरक नपर्ने कर्म गरिएछ – बुलु मुकारुङ (वरिष्ठ सङ्गीतकार एवम् साहित्यकर्मी)
एक दर्जनभन्दा बढी साहित्यिक कृतिका सर्जकसमेत रहेका वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ ‘जापानको चक्कर’ र ‘हाम्रो जाति हाम्रो थर’ जस्ता कृतिबाट उहिल्यै नेपाली साहित्य क्षेत्रमा विशेष चर्चामा रहिसकेका व्यक्तित्व हुन् । सयौँ गीतमा सङ्गीत भरिसकेका बुलु स्वयम् एक अब्बल गायकसमेत हुन् । सङ्गीतलाई मूल कर्म माने पनि साहित्य–साधना तथा नेपालको भाषा, संस्कृति आदिबारेका खोज–अन्वेषणमा पनि उत्तिकै रुचि राख्ने उत्साही सर्जक बुलु मुकारुङ यतिबेला ‘नेपाली सङ्गीतको अभिलेख’ नामक बृहत् कृतिका कारण विशेष चर्चामा छन् । १६ वर्षको अनवरत प्रयत्नपछि प्रकाशित भएको ८ सय ४८ पृष्ठको यस कृतिलाई समीक्षक–समालोचकहरूले नेपाली सङ्गीत क्षेत्रको ‘इन्साइक्लोपेडिया’कै दर्जा दिएर कृतिकार मुकारुङको प्रशंसा गरेका छन् । प्रस्तुत छ यसै कृतिसँग सम्बन्धित सन्दर्भमा केन्द्रित भई सर्जक मुकारुङसँग गरिएको कुराकानीको सार रूप ः
० नेपाली सङ्गीतको अभिलेख उतार्ने सोच कसरी आयो ?
– जब म सङ्गीत क्षेत्रमा लागेँ, सुरुदेखि नै साहित्य क्षेत्रका सर्जकहरूसमेत मेरा मित्रमण्डली बन्न थाले । उहाँहरूसँगको सान्निध्यता बढ्दै गएपछि साहित्यतर्फ पनि मेरो झुकाव र लगाव बढ्दै गयो । यही क्रममा साहित्यिक कृतिहरू प्रशस्तै प्रकाशन हुने तर सङ्गीत क्षेत्रसँग सम्बन्धित विषयवस्तुमा खासै केही प्रकाशन नै नभइरहेको मलाई अनुभूति हुन थाल्यो । साहित्यकारहरूका चाहिँ जीवनीपरक पुस्तकहरू पनि निस्कने, जस्तो कि यहाँदेखि बर्मा, सिक्किम, दार्जिलिङ, आसाम, देहरादूनलगायत जहाँ–जहाँ नेपाली छन्, त्यहाँकाले नेपालका र नेपालकाले त्यहाँका साहित्यकर्मीसँग हातोमालो गरी कृतिहरू प्रकाशित गरेको मैले पाएँ । तर, सङ्गीतकर्मीको भने कुनै लेखोट नै छैन । यति लामो इतिहास बोकेको नेपाली गीत–सङ्गीत फाँटमा को–को गायक थिए, को–को रचनाकार र को–को थिए सङ्गीतकार, बादक, साधक या यस कर्मसँग जोडिएका अन्य कर्मीहरू ? यसो हेर्दा त आफ्नै इतिहास पनि नामेट भएर जाने देखियो । यसपछि मलाई लाग्यो– सङ्गीत क्षेत्रका सबै कर्मीहरूको एकमुष्ट परिचय खुल्ने अभिलेख–ग्रन्थको अपरिहार्यता छ । र, यो काम आफैँले अघि नसरे तत्काल सम्भव पनि छैन भन्ने लागेर म यस कर्ममा होमिएको थिएँ । वास्तवमा म साहित्यकारहरूसँग निकट नरहेको भए यो काम गर्ने थिइनँ होला, किनकि साहित्यकारको त कहिले–कहिलेका सुवानन्ददेखिका इतिहास लेखिएका छन्, तर नेपाली सङ्गीतको भने आधुनिक कालखण्डकै इतिहास पनि सय वर्ष नाघिसक्दा पनि कुनै ऐतिहासिक दस्तावेज नभएको ज्ञान मलाई साहित्यकर्ममा आफू संलग्न भएकाले नै ज्ञान भएको हो । सारमा भन्नुपर्दा एउटा गीत श्रोतासम्म आइपुग्दा त्यसमा क–कसको योगदान रहेको छ भन्ने कुराको दस्तावेज आममानिसबीच रहोस् भन्ने आकाङ्क्षाबाट प्रेरित भई मैले ‘नेपाली सङ्गीतको अभिलेख’ प्रस्तुत गरेको हुँ ।
० यो दस्तावेजमा तपाईंले कुन कालदेखिका सङ्गीत–स्रष्टाको अभिलेख उतार्नुभएको छ ?
– नेपाली आधुनिक सङ्गीतको मानक वर्षको रूपमा वि.सं. १९६५ लाई मानिएको छ । यस अभिलेखमा मैले त्योभन्दा धेरै अघिदेखिका सर्जकलाई समेत समावेश गरेको छु । किनकि, नेपालमा पहिला कस्तो अवस्थामा सङ्गीतको विकास भएर आएको छ भन्ने सन्दर्भमा ढुङ्गामा उत्कीर्ण गरिएका लिच्छविकालीन अभिलेखहरू पढ्दै जाँदा त्यसमा बादित्रगोष्ठीका, प्रेच्छमण्डपी, ध्वजगोष्टिकाजस्ता शब्द उल्लेख भएका पाइन्छन् । बादित्रगोष्ठी भनेको बाजागाजालाई व्यवस्थित गर्ने अर्थात् बाजागाजा बजाउनेहरूको एउटा गुठी भनिएको हो । त्यतिबेलाको गोष्ठी नै अहिले गुठीको रूपमा रूपान्तरण भएको रहेछ । भन्न खोजिएको के भने त्यतिबेला नै त्यसरी बादन या सङ्गीतको काम यहाँ सुरु भइसकेको रहेछ । हाम्रो सङ्गीतको इतिहास त निकै अगाडि जाने रहेछ । परागत भनौँ या शास्त्रीय, त्योभन्दा अगाडि जान्छ । आधुनिक भनिएकोचाहिँ जब गीत रचना गरिन थालियो, गायन जब रेकर्डमा आउन थाले या डिस्करेकर्ड आउन थालेपछिका कर्मलाई आधुनिक सङ्गीतको सुरुवात भनेर लिइएको हो । त्यो वि.सं. १९६५ मा भएको हो । यस अभिलेखमा मैले भेटेसम्म त्योभन्दा अघिदेखिका नाम उतारेको छु ।
० नेपाली सङ्गीत–कर्मसँग जोडिएका पात्रहरूलाई यसरी बृहत् दस्तावेजमा उतारेर अमर तुल्याइदिने यो कठिन काम तपाईंले कुनै व्यक्तिगत लालसा या धन पनि आर्जन हुन्छ कि भन्ने सोचबाट प्रेरित भएर गर्नुभएको थियो कि ?
– त्यस्तो धन नै आर्जन होला भन्ने सोचबाट त पटक्कै मैले यो कामको सुरुवात गरेको थिइनँ । बरु एउटा लालसा केचाहिँ हो भने सङ्गीत क्षेत्रमा मैले नै तीन दशकसम्म काम गरिसकेँ । तीन दशकको आधा अवधि हुने बेलामै मलाई के चैतन्य खुल्यो भने आफ्नै कर्मको इतिहास पनि भोलि हराएर जाने, मेटिने पो हो कि ? मसँगसँगै अन्य थुप्रै–थुप्रै सर्जक कति हराएर जालान् कि ? यहाँ त राजा–महाराजा या ठूलाठालुका मात्रै इतिहास लेखिन्छन्, यस्तोमा हामीजस्ताको इतिहास अभिलेखमा कसले संरक्षित गरिदिने ? आफ्नो पनि अभिलेख रहने र आफूसँगसँगै यावत् सङ्गीतकर्मीले पनि इतिहासबाट हाउनु नपर्ने भन्ने लालसाका साथ म यो कठिन कर्ममा जुटेको थिएँ ।
० यस अभिलेखमा नामहरू छुटेका पनि त होलान् नि ?
– अवश्य पनि नामहरू छुटेका हुन सक्छन् । हुन त मैले अनवरत सोह्र वर्ष लगाएर अभिलेख सङ्कलन गरेको हुँ । तथापि, एक्लो व्यक्तिको प्रयास भएकाले नामहरू छुटेका हुन सक्छन् । तर, छुटेका नामहरू खोजबिन गर्दै आगामी संस्करणहरूमा समावेश गर्दै जाने सोच हामीले बनाएका छौँ । छिट्टै प्रकाशनमा आउने तेस्रो संस्करणमा सोह्र पृष्ठ थपिने निश्चित भइसकेको छ ।
० तपाईंले व्यक्तिगत तथ्य उपलब्ध गर्न कस्तो विधि अपनाउनुभयो ?
– व्यक्तिगत भेटघाट गरेर जानकारी लिनेदेखि पत्रपत्रिका र पुस्तकहरूको अध्ययन गर्ने, नेपाली सङ्गीतसम्बन्धी सामग्री प्रसारण हुने हरेक मिडियाहरूमा कान र ध्यान लगाएँ, एलबम विमोचनका कार्यक्रममा सरिक हुनेदेखि जहाँ जतिबेला जे हासिल हुन्छ स–साना चिर्कटामा टिपोट गरिहाल्ने कामसमेत मैले गरेँ । यति मात्र नभई व्यक्तिगत खर्चमा उतिबेलै अखबारमा विज्ञापनसमेत प्रकाशन गराएको थिएँ मैले, त्यसमा आ–आफ्नो सङ्गीत–कर्मबारे जानकारी र तस्बिरसमेत उपलब्ध गराइदिन मैले आह्वान गरेको थिएँ । तर, दुःखको कुरा, यसरी लागिपर्दा पनि कैयनले उचित रेस्पोन्स नगरिदिएका तिक्त अनुभव मसँग छन् । यस सिलसिलामा मैले कति आर्थिक, शारीरिक तथा मानसिक कष्ट उठाउनुप-यो भन्ने कुराको बेग्लै वृत्तान्त तयार हुन सक्छ ।
० यस कृति प्रकाशनपछि तपाईंले कस्ता प्रतिक्रिया पाउनुभएको छ ?
– मैले यो कामको सुरुवात ०५४/५५ सालतिरबाटै गरेको हुँ । त्यतिबेला जब तथ्य सङ्कलनको लागि मैले फारम बाँड्न थालेँ, कैयनले ‘यस्तो बेकारको काम के गर्न लागेको ? यस्तो पुस्तक कसले पढ्ला र ?’ भन्ने टिप्पणी गरे । सम्बन्धित सङ्गीतकर्मीहरूले नै यसको महत्व नबुझी अवमूल्यन गर्न खोजे । तर, अहिले तिनै व्यक्तिहरू ‘अहो ! यस्तो महत्वपूर्ण कृतिमा मेरो त तस्बिर नै छुटाइदिनुभएछ’ भन्दै गुनासो गर्न थालेका छन् । एकातिर यो अवस्था छ भने ६ हजारभन्दा बढी व्यक्तिका कृतित्व समावेश गरी पुस्तक निकाल्न सक्नु चानेचुने काम होइन भनी प्रशंसा गर्नेहरूको पनि कमी छैन । ‘यस्तो खालको पुस्तक नेपाली पाठकमाझ आवश्यक परेको थियो– आयो’, यो त न भूतो न भविष्यति कोटिको कृति हो भन्ने खालका प्रतिक्रिया विश्लेषक, समीक्षकलगायत धेरैले दिएका छन् । अहिलेसम्ममा मलाई सबभन्दा बढ्ता मन छुने प्रतिक्रियाचाहिँ राजनीतिक विश्लेषक एवम् इतिहासका अध्येता प्राध्यापक डा. सुरेन्द्र केसीज्यूबाट पाएँ । रेडियो नेपालको एक लाइभ अन्तर्वार्तामा उहाँले मलाई भनिदिनुभया,े ‘बुलुजी, तपाईंकै खानदानका कति सदस्यहरूले धन कमाएर मस्तीको जीवन बाँचेका होलान्, कोही सुखको जिन्दगी खोज्दै बेलायत पुगेका छन्, त्यहाँको पेन्सन खाइरहेका छन्, कोही महँगा कोट लगाएर मख्ख होलान्, तर तपाईंले त्यस्तो कुनै मोह नराखी साहित्य, सङ्गीत, कला क्षेत्रमा लागिरहनुभएको छ र यतिबेला त यस्तो महत्वपूर्ण काम गर्नुभएको छ कि अबउप्रान्त तपाईं मरे पनि हुन्छ, तपाईं अमर बन्नुभयो !’ उहाँको यस खालको प्रतिक्रियाले म अत्यन्तै भावुक पनि भएँ । साँच्चै एउटा गुनिलो काम गर्न सकेँछु भनेर आत्मसन्तुष्टि पनि मिल्यो ।
० एउटा मात्रै गीत लेख्ने या गाउनेलाई पनि अभिलेखमा समावेश गरेको भनी आलोचना गर्ने पनि देखिएका छन् नि ?
– यस्तो त नबुझ्नेहरूले गर्ने आलोचना हो । त्यस्ता व्यक्तिले यो बुझ्नु जरुरी छ कि अभिलेख भनेको अभिलेख नै हो । एउटा लेखोस् या हजारवटा, उसको काम उल्लेख हुनुपर्छ अभिलेखमा । शिव अधिकारीले एउटै गीत लेखे– सपना भुलाई सारा…, मेलवादेवीले गाएको न घरलाई घर…. भन्ने बोलको गीत शहीद शुक्रराज शास्त्रीको एउटै रचना हो, पूर्वसभामुख दमननाथ ढुङ्गानाको यही हो नेपाल नेपालीको घर… भन्ने एउटै गीत रेकर्डमा छ, यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द, हालका गृहमन्त्री वामदेव गौतम, केपी ओली, प्रदीप नेपाल, विद्या भण्डारी आदिका यस्तै एक–दुईवटा मात्र रचना रेकर्डमा छन्, दस्तावेजमा यिनको उल्लेख नगर्ने त ? सिर्जनामा एउटै कृतिले मानिसलाई अगाडि ल्याइदिन्छ । जस्तो कि हरिभक्त कटुवाललाई ‘यो जिन्दगी खै के जिन्दगी’ भन्ने रचनाले माथि ल्यायो, भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ले उनलाई राम्ररी चिनायो, हालका चर्चित कवि श्रवण मुकारुङलाई बिसे नगर्चीको बयानले यहाँसम्म ल्याइदियो । त्यसैले एउटै कृति पनि मानक सावित हुन सक्छ ।
० बिक्रीको हिसाबले तपाईंलाई यस कृतिबाट कति सन्तुष्टि मिलेको छ नि ?
– यो पनि रोचक पक्ष बन्न पुगेको छ । हामीकहाँ पठन–संस्कृतिको निकै विकास भएको रहेछ, मानिसहरूले ऐतिहासिक ग्रन्थको महत्व बुझ्न थालेछन् भन्ने यसको बिक्रीमा देखिएको उत्साहजनक अवस्थाले दर्शाएको छ । सोह्र सय मूल्यको महँगो पुस्तक एकै व्यक्तिले पाँच–पाँचवटासम्म एकैपटक खरिद गरेको जानकारी मैले प्रकाशकबाट पाएको छु । नलुकाई भन्नुपर्दा आर्थिक हिसाबले पनि यस कृतिले केही भरथेग पु-याउने सम्भावना बढेको छ ।
० राज्यले गर्नुपर्ने काम एउटा व्यक्तिबाट भयो भन्ने लाग्दैन तपाईंलाई ?
– मलाई यस्तो लाग्ने–नलाग्ने भन्दा पनि यससम्बन्धी काम गर्ने राज्यको निकायले नै यो काम त हामीले गर्नुपर्ने थियो, हामी चुक्यौँ भन्ने प्रतिक्रिया मैले पाएको छु ।
० तपाईंले यस पुस्तकका पाठक एवम् समीक्षकहरूबाट त प्रशंसा पाउनुभयो, पाउँदै हुनुहुन्छ, राज्यको तर्फबाट पनि आफूलाई सम्मान र पारितोषिक प्रदान गरियोस् भन्ने अभिलाषा राख्नुभएको छ कि ?
– राम्रो काम गरेछ, राष्ट्रलाई नै गुन लगाएछ भन्ने मूल्याङ्कन गरी राज्यले त्यस्तो कदर गर्न खोजेछ भने आल्हादित भई सम्मान स्वीकार गर्नुमा कुनै अस्वाभाविकता नरहला । तर, मैले आफैँ मलाई सम्मानित गर, पुरस्कार देऊ भनी माग गर्ने कुरा त आउँदैन ।