सत्तामा एमाले, सडकमा एमाओवादी, काङ्ग्रेस त कुहिरोको काग मात्र– यज्ञराज आङदेम्बे

सत्तामा एमाले, सडकमा एमाओवादी, काङ्ग्रेस त कुहिरोको काग मात्र– यज्ञराज आङदेम्बे


antarbichar(नेता, नेपाली काङ्ग्रेस)
० काङ्ग्रेसभित्रैबाट तपाईंहरू सरकारको आलोचनामा खरो ढङ्गले उत्रिन थाल्नुको कारण के होला ?
– वर्तमान सरकारको आलोचना गर्नुपर्ने कारणहरू यथेष्ट छन् । जनताका दैनन्दिन आवश्यकताका कुरादेखि शान्तिसुरक्षालगायतका संवेदनशील विषयमा हाहाकारको अवस्था छ । सरकारले आफ्नो जिम्मेवारीका कुनै पनि कुरा व्यवस्थित गर्न सकिरहेको छैन । सरकारको नेतृत्व नेपाली काङ्ग्रेसले गरेको छ, तर काङ्ग्रेसजनले यसको आभास पटक्कै गर्न सकिरहेका छैनन् । कतै गैरकाङ्ग्रेसी नेता नै प्रधानमन्त्रीको कुर्सीमा विराजमान त छैनन् भन्ने खालको पीडादायी अनुभूति गर्न काङ्ग्रेस कार्यकर्ता विवश छन् । यस्तोमा सरकार र विशेषगरी प्रधानमन्त्रीको आलोचनामा आवाज उठ्नु के आश्चर्य भयो र ?
० विपक्षी पार्टीले भन्दा पनि प्रधानमन्त्रीको बढ्ता आलोचना काङ्ग्रेसवृत्तबाटै हुनु सुहाउँदो कुरा हो र ?
– विपक्षीले त सरकारी अकर्मण्यताको मज्जासँग स्वाद लिइरहेकै छन् नि ! अनि किन विरोध गर्थे विपक्षीले सरकारको ? सरकारको नेतृत्व गरिरहेको भनिने काङ्ग्रेसलाई कुहिरोको काग बनाउँदै आफ्ना एजेण्डामा मुलुकलाई दौडाउन पाएपछि अरूले आलोचना नै किन गर्नुप-यो र ! सत्तासीन पार्टीको नाममा सास्ती खेप्ने त काङ्ग्रेस–कार्यकर्ता छँदै छन् ।
० यसको मतलब काङ्ग्रेसभित्रैबाट शेरबहादुर देउवा सरकारको विपक्षी भूमिकामा रहनुभयो, हो ?
– यस्तो होइन । यहाँ शेरबहादुर देउवा, रामचन्द्र पौडेल र सुशील कोइरालाबीचको द्वन्द्व भन्ने सवाल नै होइन । कुरा के भने, सरकारको नेतृत्व नेपाली काङ्ग्रेसले गरिरहेको छ भने कमसेकम त्यसको महसुस पार्टीका कार्यकर्ताले पनि गर्ने अवस्था हुनुप-यो । हामी सुशील कोइरालाको व्यक्तिगत विरोधमा कुरा गरिरहेका छैनौँ, बरु सरकारको नेतृत्व गरिरहेको दलको सभापतिको अकर्मण्यताको विषय उठाइरहेका छौँ हामी । देउवाका समर्थक या कोइरालाका विरोधी भनी औँल्याउन खोज्नुको कुनै तुक छैन यस विषयमा ।
० काङ्ग्रेसभित्र यतिबेला तीनवटा खेमा त प्रस्टै देखिएको छ नि, हो कि होइन ?
– त्यो म मान्छु । एउटा जीवन्त पार्टीमा गुट–उपगुट हुनु सामान्य कुरा रहेछ । यसलाई कुनै अन्यथा लिनुपर्ने म देख्दिनँ । यहाँनेर मनन गर्नुपर्ने कुरा के छ भने अहिले देउवा क्याम्पभित्रबाट मात्रै नभई स्वयम् सुशील कोइरालाको खेमामा रहेका भनिएका साथीहरू नै प्रधानमन्त्रीको कार्यशैलीविरुद्ध खरो रूपमा मुखरित भइरहेका छन् । सुशील कोइराला इमानदार हुनुहोला, तर उहाँलाई गुमराहमा राखेर उहाँको इमानदारिताको अनुचित लाभ उहाँका मन्त्रीहरूले उठाइरहेका होलान् । आफ्ना मन्त्रीहरूलाई प्रधानमन्त्रीले आफ्नो ग्रिपमा राख्न नसक्नुभएको सिङ्गै देशले अनुभूति गरिरहेको छ । यसको जिम्मेवारी त प्रधानमन्त्रीले लिनुपर्छ, होइन र ?
० तपाईंहरूले त सरकारको नेतृत्व नै एमालेले गरिरहेजस्तो देखियो पनि भन्नुभएको छ नि ?
– हो त ! यस्तै देखिएपछि देखेको कुरो भन्नुपरेन ? आज सत्ता र सदनमा सम्पूर्ण रूपमा खड्ग ओली प्रतिध्वनित भइरहनुभएको छ भने सडकमा प्रचण्ड प्रतिध्वनित भइरहनुभएको छ । काङ्ग्रेसचाहिँ कहाँ छ त भनी खोज्नुपर्ने अवस्था छ । वास्तवमै काङ्ग्रेस कुहिरोको काग बनेर अल्मलिएको छ यतिबेला । प्रधानमन्त्री आफ्नै तालमा हुनुहुन्छ भने काङ्ग्रेसका मन्त्रीहरू आ–आफ्ना टप्पु (मन्त्रालय)का राजाझैँ देखिएका छन् । मानौँ तिनलाई त्यो मन्त्रालय आफूखुसी खाउ भनेर बाउले बपौती नै दिएका हुन् कि भनेजस्तो । पार्टीका आमकार्यकर्ता निराश र निसास्सिरहेका छन्, तर पार्टीनेतृत्व र सरकारका मन्त्रीहरूलाई कुनै पर्वाह नै छैन । के यिनका रैती भएर बस्नुपर्ने भन्ने छ कार्यकर्ताले ? यो कुनै गुटबन्दीको कुरा होइन, पीडादायी यथार्थ बोलेको हो ।
० तपाईंहरू सरकार परिवर्तनको खेलमा लाग्नुभएको हो ?
– सरकार परिवर्तनको खेलमा हामी लाग्नुपर्ने कुनै कारण नै छैन । संविधान निर्माण भएपछि यो सरकार स्वतः जान्छ भन्ने त तोकिएकै छ नि ।
० कोइराला हटाएर देउवा आफैँ प्रधानमन्त्री बन्न चाहनुहुन्छ भन्ने कुरा आइरहेको छ त ?
– शेरबहादुर देउवाले अब मन्त्री खान मिल्दैन, खाँदा उहाँले खाने फेरि पनि प्रधानमन्त्री या त्योभन्दा माथिकै ओहोदा हो । प्रधानमन्त्रीको जिम्मेवारी लिने चाहना त्यसस्तरका जो–कोही नेतालाई पनि हुनसक्छ भने राजनीतिबाट सन्न्यास नलिएको अवस्थामा देउवाजीलाई मात्रै त्यो इच्छा नहुनुपर्ने कुनै कारण छैन । तर, जुन कोणबाट म कुरा गरिरहेको छु, यो कसैलाई प्रधानमन्त्रीबाट हटाएर कसैलाई स्थापित गर्नका निम्ति होइन । काङ्ग्रेसका अधिकांश कार्यकर्ताको व्यथा म बोलिरहेको छु ।
० मन्त्रिमण्डल गठन हुँदा देउवा पक्षका नेताहरूलाई पनि मन्त्रीमा भागबण्डा लगाइएकै हो, ती मन्त्रीको कामचाहिँ सन्तोषजनक छन् त ?
– यो–ऊ भन्ने कुरै भएन, मैले त मन्त्रिमण्डलको समष्टिगत कार्यशैलीकै कुरा गरिरहेको छु । फलानो क्याम्पका मन्त्री असल र फलानो गुटका चाहिँ खराब भनी चित्रित गरिरहनैपर्दैन अहिले । सिङ्गो सरकार आफ्नै तालमा छ । जनताको व्यथा जहीँको तहीँ छ । काङ्ग्रेसकै मन्त्रीहरू पार्टी या प्रधानमन्त्रीको ग्रिपमा छैनन् भनेपछि अन्य पार्टीबाट प्रतिनिधित्व गर्नेहरूले त झन् कति टेरेका होलान् प्रधानमन्त्रीलाई ? चिन्ता र चासोको विषय यो हो । सिङ्गो मन्त्रिमण्डलले देश र जनताका लागि राहत पुग्ने के काम गर्न सकेको छ ? प्रश्न त यो हो । मन्त्रीहरू प्रधानमन्त्रीप्रति जवाफदेही हुनुपर्ने हो, तर प्रधानमन्त्रीको सम्पर्कमै छैनन् मन्त्रीहरू । यस्तो ताल छ । यो रोक्ने काम प्रधानमन्त्रीको होइन ? अनि, प्रधानमन्त्रीलाई सचेत गराउने काम हाम्रो होइन र ? यो आलोचनात्मक टिप्पणीलाई सकारात्मक रूपमा ग्रहण गर्नुपर्छ सम्बन्धित पक्षले ।
० सबै मन्त्री भ्रष्ट र निकम्मा भए भन्ने तपाईंको भनाइ हो ?
– सबैलाई दोष दिन नसकिएला, तर यीचाहिँ निर्दोष छन् भनी देखाउन सक्ने ठाउँ पनि मैले पाएको छैन । केही साथीहरू इमानदारीका साथ काम गर्न खोजिरहेका होलान् । तर, यो सरकार या मन्त्रीहरूको कार्यशैलीले सरकारलाई निकम्मै सावित गराएको छ । विरोधका लागि विरोधमा बोलिएका शब्द होइनन् यी, आमजनताले महसुस गरेको कुरा हो ।