निगम डुबाउने जिम्मा मदनलाई

निगम डुबाउने जिम्मा मदनलाई


व्यवस्थापकीय कमजोरीका कारण नेपाल वायुसेवा निगम विमान थपेर पनि चरम घाटामा जाने आशङ्का बढेको छ । दक्षिण कोरिया सीधा उडानका निम्ति जीएसए नियुक्त गरेको ६ महिना बितिसक्दा पनि अहिलेसम्म काठमाडौं–सोल उडान शुरु गर्न निगमको व्यवस्थापन असमर्थ भएको छ । अहिले काठमाडौं–कोरिया उडानमा कोरियन एयरको एकाधिकार रहेको छ । कोरियन एयरको काठमाडौंस्थित जीएसएसँगको ‘समझदारी’मा नै नेवानिले कोरियातर्फको हवाईसेवा विलम्ब गरेको हुन सक्ने आशङ्का गर्न थालिएको छ ।

संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव नेवानिको अध्यक्ष हुने परम्परा अन्त्य गर्दै कार्यकारी अध्यक्षमा मदन खरेल नियुक्त भएर आएपछि निगमको व्यवस्थापन दुर्बल तथा निजी स्वार्थकेन्द्रित रहेको महसुस कर्मचारी स्वयम्ले गर्न थालेका छन् । कोरियन एयरसँग अनुचित लाभ लिएर नेपाली विमानको कोरिया उडानमा विलम्ब गरिएको चर्चासमेत नेवानिभित्र हुन थालेको छ ।

त्यसैगरी नेपाल–जापान सीधा हवाईसेवा शुरु गर्न भएको सम्झौता कार्यान्वयनमा पनि व्यवस्थापन कमजोर र अक्षम देखिएको छ । मदन खरेल कार्यकारी अध्यक्ष नियुक्त भएर आउनेबित्तिकै उनले काठमाडौं–टोकियो (नारिता) उडान गर्न नेवानिभित्र भइरहेको तयारीलाई रोक लगाइदिएका थिए । टोकियो (नारिता विमानस्थल) काठमाडौं सेवा शुरु गर्न समय लाग्ने भन्दै खरेलले ओशाकातर्फको विमानसेवा शुरु गर्दा सन् २०१९ को फेबु्रअरीसम्ममा नेपाल–जापान हवाईसेवा प्रारम्भ गर्न सकिने ‘प्रतिबद्धता’ सार्वजनिक गरेका थिए ।

खरेलले नारिता छोडेर ओशाका रोज्नुको वास्तविक कारण भने अर्कै बताइन्छ । आङछिरिङ शेर्पाको हिमालयन एयरलाइन्सले जापान–नेपाल हवाईसेवा शुरु गर्ने योजना बनाएको र ओशाकाबाट उठ्ने यात्री नहुने भएकोले नारिता (टोकियो) सँग जोडिएर सेवा शुरु गर्ने प्रयासमा शेर्पा लागिपरेको बताइन्छ । नारिता विमानस्थलबाट उड्दा मात्र नाफा निश्चित हुने भएकोले शेर्पाबाट नेवानिलाई ओशाकातर्फ पुऱ्याउने काम भएको जानकारीमा आएको छ ।

यसरी शेर्पालाई नाफा गराउन नेवानिलाई घाटामा लैजाने काम मदन खरेलबाट भइरहँदा पनि पर्यटन मन्त्रालय भने मौन बसेको छ । खरेलले यसैगरी आफ्नो ‘कार्यक्षमता’ देखाउँदै गए भने नेपाल वायुसेवा निगम धराशयी हुन अर्को पाँच वर्ष नलाग्ने देखिएको छ ।