जिप दुर्घटनाका ११ कै सनाखत

जिप दुर्घटनाका ११ कै सनाखत


दार्चुला तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति भएको जिप दुर्घटनाका सबैको सनाखत भएको छ ।

सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म१ज २८० नंको जिप दुर्घटनामा परी ११ को मृत्यु भएको थियो भने एक घाइते भएका थिए । दुर्घटनामा ११ को घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा नौ दार्चुला र दुई यात्रु बैतडीका छन् ।

सशस्त्र प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दका अनुसार मृत्यु हुनेमा दुहुँ गाउँपालिका–१ का ५३ वर्षीया मानमती भट्ट, ४५ वर्षीया गौमती बम, ७१ वर्षीया धानाम बम, २४ वर्षीय धनबहादुर बम,वडा नं २ का ४१ वर्षीय कल्यानसिंह बडाल र उनका १७ वर्षीया छोरी निर्मला (निरु) बडाल, सोही ठाउँका ३५ वर्षीया परुली धामी रहेका छन् ।

यस्तै दुहुँ गाउँपालिका–४ का ५५ वर्षीया अमरा बम, सात वर्षीया आयुषा बम तथा बुहारी माइती घर पु¥याउन आएका बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–६ का ६० वर्षीय प्रताप भनिने धनबहादुर चन्द र २१ वर्षीया स्नेहा बम चन्द रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिए ।

जिप चालक दीपकसिंह धामी गम्भीर घाइते भएपछि गए राति नै उपचारको लागि भारतको पिथौरागढ सिफारिश गरिएको छ । उहाँको टाउको र खुट्टामा चोट लागेको स्वास्थ्य सहायक डम्मरदत्त भट्टले बताउनुभयो । चार दिनअघि सोही क्षेत्रमा पहिरोमा परी एकको मृत्यु भएको थियो । पहिरो गएको क्षेत्रमै जिप दुर्घटना भएको हो । जिप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको थियो । घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर पर्छ ।

क्षमताभन्दा बढी यात्रु र सामान भएका कारण दुर्घटना भएको हुनसक्ने स्थानीय हिक्मतबहादुर बमले बताउनुभयो । सो सडकखण्ड उकालो छ । ‘पहिरो आएको कारण सडक सुधार भएको थिएन’, बमले भने, ‘रातिको समयमा जिप चलाउँदा दुर्घटना भएको हुनसक्छ । दार्चुला–तिङ्कर सडकमा गत वर्षदेखि जिल्ला यातायात व्यवस्थापन समितिले राति जिप सञ्चालनमा रोकसमेत लगाएको थियो । विगतमा राताकाठा क्षेत्रमा जिप सञ्चालनमा रोकसमेत लगाइएको हो । साघुरो बाटो र ट्याक्टरका कारण सडक खाल्डाखुल्डी छन् ।

जिप दुर्घटनाका सबै मृतकहरुको शव जिल्ला अस्पतालमा राखिएको छ । अहिले बिहान १० बजेपछि शव परीक्षण शुरु हुने बताइएको छ । अहिले अस्पतालमा आफन्तहरुको भीड लागेको छ । यो वर्षकै ठूलो जिप दुर्घटनाका कारण जिल्ला शोकमा डुबेको छ । आफन्तहरुको अस्पतालमा रुवावासी चलेको छ । पाँच सिट पास भएको जिपमा ११ जना यात्रु बोक्नु र उकालोमा ब्रेकले काम गर्न नसक्दा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।