वैद्यहरू नेपाललाई चिहान बनाउँदै-शोभाकर पराजुली

वैद्यहरू नेपाललाई चिहान बनाउँदै-शोभाकर पराजुली


लिट्टेको हाल व्यहोर्न पनि आफूहरू तयार रहेको अभिव्यक्ति बेलाबेलामा माओवादी नेताले दिने गरेका छन् । उनीहरूले नै भन्ने गरेको क्रान्ति र अग्रगमनका लागि ज्यान दिन पनि उनीहरू तयार छन् । सकभर ज्यान त उनीहरू के देलान् र, कार्यकर्तालाई मूर्ख बनाएर मर्न तयार पार्ने मात्र हुन् । अहिले पनि उनीहरू सङ्घीय जनगणतन्त्र, जनवाद आदि शब्दहरूको प्रयोग गरिरहेका छन् । न ती प्रयोग गरिएका शब्दअनुसारका सोचहरू न संविधानसभा, न सङ्घीयता नै उनीहरूको लक्ष्य हो । उनीहरूको लक्ष्य भनेको सर्वहाराको नाममा उनीहरूको अधिनायकवाद स्थापना गरेर नेपाली जनतालाई दु:ख दिने नै हो । एकछिनलाई उनीहरूको नेपाली लक्ष्य इमानदारीसाथ सर्वहाराको अधिनायकवाद नै हो भने पनि लागू हुने वाद त्यो होइन ।
पहिला त माओवादीहरूको संविधानसभा जनतालाई आफूले नयाँ कुरा गरेको र क्रान्तिकारी कुरा गरेजस्तो देखाएर जनताको समर्थन लिने र सत्ता कब्जा गर्ने एउटा माध्यम हो । विश्वको कुनै पनि देशमा कम्युनिस्टले संविधानसभाबाट शासन लिएको छैन । कम्युनिस्टहरूका लागि संविधानसभा रणनीति हुन सक्ने त हुन्छ नै । यो लक्ष्य हुन सक्दैन । संविधानसभा भन्नासाथ संविधानवादमा आधारित संविधान आउनुपर्ने हुन्छ । जनतालाई पनि चाहे भन्दैमा जे पनि छान्ने अधिकार छैन । उनीहरूलाई आफ्नो मृत्युपत्रमा हस्ताक्षर गर्ने अधिकार छैन । त्यस्तै गरेर जनताले माओवादीलाई बहुमत नै दिएको भए पनि लोकतन्त्र र मानवअधिकारको मर्मविपरीत हुने गरेर संविधान बनाउने अधिकार हुने थिएन । संविधानसभा त माओवादीका लागि सेफ ल्यान्डिङका लागि गरिएको योजना मात्र हो ।
संविधानसभाबाट जनवाद र सर्वहाराको अधिनायकवादमा पुग्न सकिँदैन । यसो भएपछि यो उनीहरूको लक्ष्य होइन भन्ने प्रस्ट हुन्छ नै । राजसंस्था फाल्ने पनि उनीहरूको लक्ष्य होइन किनभने राजसंस्थाले कम्युनिस्टहरूलाई जहिले पनि सहयोग नै गरेको हो । अझै क्रान्तिकारी देखिने कुरा गरेर राजसंस्था फाल्ने नारा लगाउँदा लोकतन्त्रको विपक्षमा गएर राजाले बारम्बार दु:ख दिएको र कम्युनिस्ट बढाउने कार्यमा नै लागेको हुँदा राजसंस्थाबाट वाक्क भएको काङ्ग्रेसले राजसंस्था फाल्नेमा पूर्ण सहमति जनाएपछि राजसंस्था गयो । पछि राजसंस्था फाल्न हुँदैन भन्ने आधार रहेन । त्यसो भनेमा उनीहरूको राजनीतिक अस्तित्व नै समाप्त हुने हुँदा बरु राजसंस्था आफूहरूले फालेको भन्नमा नै माओवादीले उचित सम्झ्यो ।
कम्युनिस्टहरूले कम्युचियामा राजसंस्थाको पुनर्स्थापना गरेका छन् । बेलायतजस्ता देशमा लोकतन्त्रवादीहरूले राजालाई काटेर टाउकोको भकुण्डो खेलेका हुन् । विश्वमा विभिन्न प्रकारका उदाहरण छन् । उदाहरणको खडेरी छैन । अमेरिकाको भिसाका लागि अन्तर्वार्ता दिन लागेको नेपालीले अङ्ग्रेजी राम्रोसँग नबोलेकोले अन्तर्वार्ता लिनेले ‘यस्तो बोलीले अमेरिकामा कसरी काम गर्दछौ ? तिम्रो भिसा हुँदैन’ भन्नासाथ उसले ‘तपाईंले नेपालमा कसरी काम गर्नुभएको छ ? तपाईंको नेपालीभन्दा मेरो अङ्ग्रेजी राम्रो छ’ भनेछ । कुरैबाट प्रभावित भएर उसले भिसा पाएछ । त्यस्तै गरेर अपवादहरू र कुरा मिलाउने अवस्थाहरू कहिलेकाहीँ आउलान् । तर, सङ्घीयता र संविधानसभाको लक्ष्यसँग माओवादीहरू विमति राख्छन् ।
यो तथ्यलाई हामीले बुझेका छैनौँ र बुझ्नेहरूले सबैलाई बुझाउन सकिरहेका छैनौँ । माओवादीहरूको जनहित भनेको कसैलाई ‘तँ मर्, मरिस् भने करोड रुपैयाँ दिन्छु’ भन्दै मर्ने मानिसलाई भ्रम दिएजस्तो हो । यसबाट हामी सजग हुन आवश्यक छ । जनताको सबै अधिकार थपक्क उनीहरूको हातमा राखिदिने भनेर सत्ता कब्जा गरेपछि बन्दुक, सम्पत्ति, सञ्चार, यातायात सबै आफ्नो हातमा लिएपछि केको अधिकार दिनुपर्छ र ? त्यहाँ त व्यवस्थित सामन्तवाद र दासयुगको फ्युजन हुन पुग्छ । जनता दास बन्छन् । सबैतर्फबाट जञ्जिर लागेकोले जनताले विरोध गर्न सक्दैनन् । केही अधिक विकास भएकोले विकासको अवस्था पुँजीवादी भए पनि जनताको सुविधाका लागि सामन्तवादको जस्तो हुन्छ र कम्युनिस्टहरूको व्यवहारले त्यो दास युगजस्तो हुन्छ ।
माओवादीहरूले सत्र हजारभन्दा बढी होनाहार नेपालीलाई मृत्युवरण गराए । लाखौँ पीडित भए, लुटिए, विस्थापित भए । अहिले पनि आफ्नो लक्ष्य पूरा गर्न विद्रोह, हतियारबन्द आन्दोलन गर्नुपर्नेजस्ता आवाजहरू आएका छन् । वैद्यहरूलाई देशमा मानिस मरेको कोटा पुगेको छैन । फेरि हिंसा गर्ने धम्की दिएका छन् । हुन त उनीहरूलाई पद नदिएकोले चित्त नबुझेको हो । त्यस्तै वैद्यको ठाउँमा प्रचण्ड भएको भए पनि उनी त्यसै गर्थे होलान् । तर, अहिले प्रचण्ड र बाबुराम अब जनताको पीडामा पीडा थप्न हुँदैन केवल अवस्थालाई सुरक्षित अवतरणमा लग्नुपर्छ भन्नेमा रहेको जस्तो पनि देखिएको छ । यो रणनीति होइन भने सकारात्मक पनि हो ।
हुन त गणतन्त्रका पिता गिरिजाप्रसाद कोइरालाले प्रचण्डहरूले बहुदलीय व्यवस्था मान्दछौँ भनेकोमा पछि रणनीति हो भनिदिएकोमा भन्नुभएको रहेछ कि ? विश्वासको राजनीति नगर्नेहरूको कुनै विश्वास हुँदैन । अहिले पनि रणनीति र लक्ष्य तथा कार्यनीतिका सम्बन्धमा वैद्यले भनेका रहेछन्- समस्या कार्यविभाजनको होइन, कार्यनीतिको हो । उनीहरूको लक्ष्य अधिनायकवाद र त्यसको रणनीतिका लागि कार्यनीतिको रूपमा बहुदलीय व्यवस्थामा विभिन्न उतारचढाव ल्याउने कार्य गरेर विकास होइन सिद्धान्तको खेतीमात्र गर्ने कार्य भएको छ ।
अव वैद्यहरू देशमा पुन: रक्तपात नै चाहन्छन् भने यो पक्का छ कि उनीहरू पनि निभ्न लागेको बत्तीजस्तो गरेर धेरै मानिस मारेमा जनता डरले आफ्नो पक्षमा आउँछन् भन्ने अतिवादी सोचमा ढुक्क छन् । उनीहरूको दशवर्षो हिंसात्मक क्रियाकलापको परिणाम पनि त्यस्तै रहेको हो । यसो भएमा उनीहरूले मानिस मार्ने कार्य तीव्र पार्ने छन् । आफूसँग सहमत नभएमा बाबुराम तथा प्रचण्डहरूसमेत त्यो घानमा पर्न सक्छन् । त्यसपछि आमनरसंहारको कारणले विश्व समुदायले नेपालमा पनि अवश्य नै सैन्य कारबाही गर्ने हुन्छ नै । त्यसपछि नेपालीलाई माओवादीले मार्ने र मानिस मार्दै हिँडेकोमा उनीहरूलाई विश्वका अन्य देशका सेनाले मार्ने अवस्था आउन सक्दछ । त्यसो भएमा वैद्यहरू विदेशीको विरुद्धमा, पुँजीवादको विरुद्धमा, सामन्तवादको विरुद्धमा युद्धमा सहिद भएको नारा लगाउनेछन् । ती नारा लगाउने पनि मरेपछि देशमा त्यो झुटो इतिहास पनि सुन्ने कोही हुने छैन । छिमेकीहरूको चलखेल त बढ्ने छ नै । त्यसपछि ‘एउटा नेपाल भन्ने राष्ट्र थियो, त्यहाँ नेपाली रहने गर्दथे, उनीहरू आपसमा लडेकाले आफैं सखाप भए, अहिले अन्यत्रबाट आएकाहरूले यो ठाउँलाई गुल्जार गरेका छन्, नेपाली जाति तिनै नयाँ जातिमा बिलाए र केही बाँकी पनि रक्तपिपासु जाति र काम गर्नभन्दा झगडा गर्न र चर्का कुरा गर्ने जाति भनिने डरले नेपाली नभएको बताउँदै छन्, …’ भनी कथा हालिनुपर्ने अवस्था आउनुहुँदैन । समयमा नै वैद्यहरूले यो सम्भावित वा आंशिक सत्यलाई बुझ्न सक्नुपर्छ ।
मानव क्षमताको सीमा हुन्छ । यो पूर्ण हुँदैन । समयअनुसार समाजहितका माध्यम परिस्कृत हुन्छन् भन्नेजस्ता कुरालाई बिर्सेरमाक्र्स, लेनिन आदिका पोथाहरू पढेर नै अहिले पनि राजनीति गर्ने हो भने हामी परम्परावादी हौँ भन्दा चित्त दुखाउनु हुँदैन र आफू अग्रगमनको पक्षधर होइन प्रतिगमनको पक्षधर भएको महसुस गर्न सक्नुपर्छ । मर्नु र मार्नु तथा देशलाई तहसनहस पार्नु ठूलो कुरा पनि होइन ।