वीरगञ्जमा गायत्री अश्वमेध महायज्ञ शुरु

वीरगञ्जमा गायत्री अश्वमेध महायज्ञ शुरु


राष्ट्रपति विद्यादेवी भण्डारीले महायज्ञहरू पञ्चतत्व, वृक्ष, वनस्पति र प्राणवायुलाई पुष्ट गर्दै प्रकृतिको चक्र र पर्यावरणलाई सन्तुलित गर्नका लागि भूमिका खेल्ने दिशामा लक्षित हुनुपर्ने बताएकी छिन् ।

वीरगञ्जको आदर्शनगरमा आइतबारदेखि शुरु भएको चारदिने गायत्री अश्वमेध महायज्ञमा पठाएको शुभकामना सन्देशमा राष्ट्रपतिले महायज्ञले नेपालका तीर्थस्थल, पर्यटकीयस्थल, अप्रकाशित महिमा र सांस्कृतिक ज्ञान राशिलाई विश्वसामु परिचित गराउन भूमिका खेल्ने विश्वास व्यक्त गर्दै यसले जीवनमूल्य र आध्यात्मिक अनुशासनप्रति जनविश्वास अभिवृद्धि हुने वातावरण तयार गर्दै राष्ट्रलाई अजय शक्ति प्रदान गर्ने बताएकी छिन् ।

आयोजक मूल समितिका संयोजक डा. उपेन्द्र महतोले पढेर सुनाएको सो शुभकामना सन्देशमा सर्वकल्याणको प्रादुर्भाव भएको सनातन धर्म विज्ञानको उद्गमभूमि नेपालको औद्योगिक र व्यापारी नगरी वीरगञ्जमा गायत्री अश्वमेध महायज्ञको आयोजना भएकोमा राष्ट्रपतिले खुसी व्यक्त गरेकी छिन् ।

नेपाली भूमिमा पहिलोचोटि भएको चारदिने गायत्री अश्वमेध महायज्ञको अखिल विश्व गायत्री परिवारका अध्यक्ष डा. प्रणव पाण्डया र सोही परिवारका प्रमुख शैलबाबा पाण्डयाले दीप प्रज्ज्वलन तथा गायत्री मन्त्रको उच्चारण गरी शुभारम्भ गर्दै नेपाल र नेपालीको खुसी, प्रगति र समृद्धिको कामना गरेका थिए ।

सो अवसरमा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सराबगीले गायत्री महायज्ञबारे प्रकाश पारेका थिए । नेपाललगायत भारतका बिहार, उत्तरप्रदेश, उत्तराखण्ड, झारखण्ड, दिल्ली, हरियाणा, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, गुजरात र अन्य देश गरी ४० मुलुकका श्रद्धालुको महायज्ञमा सहभागिता छ । यसअघि महिला सहभागी रहेको कलशयात्रा नगर परिक्रमा गरी यज्ञस्थल आदर्शनगर पुगेको थियो ।