माओवादी चाहनामा निर्भर शान्तिप्रक्रिया र संविधान

माओवादी चाहनामा निर्भर शान्तिप्रक्रिया र संविधान


अवरुद्ध शान्तिप्रक्रियालाई थप अन्योलमा पार्ने एक कारकतत्त्व बन्न पुगेको छ- माओवादीको अन्तरपार्टी विवाद । सो पार्टीको बहुचर्चित पालुङटार भेलाताक पार्टीभित्र अत्यन्त मजबुत देखिएका अध्यक्ष प्रचण्ड यतिबेला त्यत्तिकै निरीह देखिनपुगेका छन् । पार्टीमा वर्चश्व कायम राख्न हाल उनले गर्नुपरेका अनेक अभ्यास त्यसका फोस्रा परिणतिले यही दर्शाइरहेको छ । प्रचण्डका गुरुका रूपमा समेत चिनिएका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य प्रचण्डलाई अप्ठ्यारो पर्दा सघाउन दिलोज्यानले अघिर्सर्ने पात्रका रूपमा सर्वपरिचत नै हुन् । तर, प्रचण्डका तिनै तारणहार यतिबेला सहजकर्ता नभई अवरोधकका रूपमा प्रकट भएका छन् । वैद्यको यो क्षणिक आवेग मात्र हुन सक्छ, अर्थात् विगतमा झैँ अन्तिम घडीमा वैद्यले आफूलाई साथ दिने विश्वास प्रचण्डले पालेका हुन पनि सक्छन् । तथापि, वैद्यखेमाको यसपटकको अडान भने अलिक जटिल प्रकृतिकै देखिन्छ । जुन शैली र गतिमा वैद्य-भट्टराई गठबन्धन विकसित हुन पुगेको छ- प्राय: निर्ढ र आत्मविश्वासी भावमा देखिने प्रचण्डलाई अस्वाभाविक प्रकृतिको उक्त गठबन्धनले क्लान्त तुल्याएको अनुभूति हुन्छ । दल र देशमा आफ्नो बर्चश्व बढाउन हरदम उद्यत् माओवादी अध्यक्ष जतिजति राजनीतिक दाउपेच चल्दै छन् त्यति नै स्वयम् उल्झनमा परेको विश्लेषण गरिन थालिएको छ । आफ्ना ठानिएका हस्तीहरू असन्तुष्ट देखिँदै जानु प्रचण्डका लागि थप चिन्ताकारी सन्दर्भ हो ।
र, यो सबै भएर पनि आश्चर्यपूर्ण यो छ कि एकातिर माओवादी पार्टीमा प्रचण्डर्-वर्चश्व कायमै रहेको अनुभूति हुन्छ भने अर्कोतिर समस्याहरू किनारा लगाउने सवालमा उनी फितला सावित हुँदै छन् । माओवादी पार्टीको यही विचित्र परिस्थिति मुलुकका लागि फेरि पनि अभिशाप बन्न पुगेको छ ।
यसै पनि प्रचण्ड अध्यक्ष रहेको पार्टीमाथि शान्तिप्रक्रिया र संविधान निर्माण कार्यप्रति गम्भीर नबनेको आरोप लाग्दै आएको छ । विगतदेखिका सहमति पालनामा माओवादीले दर्शाएको उदासीनताले आरोपको पुष्टि नगरेको पनि होइन । तर पनि माओवादी-व्यवहारमा तात्विक भिन्नता आएको महसुस गर्न अझै सकिएको छैन । माओवादी विधि-व्यवहारले सर्वसत्तावाद र निरङ्कुश अधिनायकवादी सत्ता स्थापनार्थ सो पार्टी अविचल अघिबढिरहेको आभास दिलाउँछ । फलस्वरूप शान्तिप्रक्रियालाई प्रकारान्तरले डिरेल गराउनु उसको अभीष्ट नै बन्न गएको छ । यो यथार्थ होइन भने थपिएको तीन महिनाको आधा समय र्व्यर्थ बित्दा पनि मुलुकको चिन्ताबाट मुक्त रही आन्तरिक खिचातानीमा अल्भिmने ऊर्जा एकीकृत नेकपा माओवादीमा पैदा हुनुनपर्ने थियो । माओवादीको आन्तरिक विवादले शान्तिप्रक्रियाका मोड-मोडमा व्यवधान खडा गरिरहेको आक्षेप लागिरहँदा पनि ठोस-प्रतिक्रियाबिहीन बन्ने र आफूमा बदलाव ल्याउन अग्रसर नबन्ने क्षमता उसमा पैदा नहुनुपर्ने थियो । तेहेर्‍याएर थपिएको तिथिमा पनि संविधान बन्न नसकेपछि पैदा हुनसक्ने अन्योल र भयावह अवस्थाको यति सोखपूर्ण प्रतीक्षा माओवादी दलबाट पक्कै नगरिनुपर्ने थियो ।
सम्भवत: माओवादीमा हाल देखिएको विवादको एउटा कारण उल्लिखित सवालप्रति संवेदनशील बन्ने र नबन्नेबीच पार्टीमा पकड जमाउन चलेको होड पनि हो । अर्को कारण यो पनि हुनसक्छ कि त्यहाँ पन्पिन थालेको उग्रवामपन्थी सोचका अनुयायीहरूले लोकतान्त्रिक परिपाटीप्रति लचकता प्रदर्शन गर्न रुचाउने धारलाई कुटिलतापूर्वक उपयोग गरी धराशयी तुल्याउने चाल चलिँदै छ । यसो हो भनेचाहिँ फेरि पनि माओवादीभित्र देखिएको अध्यक्ष प्रचण्डलाई कमजोर बनाउने वैद्यखेमाको खेल फगत देश र जनतालाई जिल्ल्याउने एउटा खतरनाक चाल सावित हुनेछ । त्यसले प्रचण्डको अभीष्टअनुरूप उनलाई शक्ति र सत्ता दिलाउँछ नै भन्न त सकिन्न तर शान्तिको प्रगाढ चाहना बोकेर लर्खराउँदै चलिरहेको मुलुक धराशयी बन्ने सम्भावनाचाहिँ पूरापूर बढाउँछ । त्यतिबेला एउटा मुलुक मृत्युशय्यामा चढ्नुको समग्र दोष सिङ्गो माओवादीले व्यहोर्नुपरेको एउटा अत्यन्त नमीठो सन्दर्भको साक्षी दुनियाँ बन्न पुग्नेछ । के यो भावीप्रति माओवादी नेतृत्वको किञ्चित ध्यान पुगेको छ ? यदि छ भने आन्तरिक खिचातानीलाई पछिका लागि थाती राखेर तत्कालचाहिँ शान्तिप्रक्रिया र संविधान निर्माण कार्यलाई मूर्तरूप दिन लागिपर्ने हो कि ! किनकि, सबैले यतिबेला ठानेको कुरा यो नै हो कि माओवादीले चाहँदा मात्र शान्तिप्रक्रिया र संविधानलेखनले मूर्तरूप पाउँछ ।