३० खर्ब लगानी भित्र्याउने सरकारी योजना पूरा होला त ?

३० खर्ब लगानी भित्र्याउने सरकारी योजना पूरा होला त ?


यतिखेर मुलुक लगानी सम्मेलनको सन्दर्भमा छ । नेपालको समग्र विकासका लागि सम्मेलनबाट ३० खर्ब बढि लगानी भित्र्याउने सरकारी योजना पनि छ । यसका लागि सरकारले बाह्य लगानीकर्तालाई लगानीका लागि ढोका खुलेको प्रतिबद्धता जनाएको छ ।

कुल ७७ वटा आयोजनामार्फत मुलुकमा ३० खर्बभन्दा बढी लगानी भित्रिने सरकारी अपेक्षा छ । पछिल्ला तीन वर्षयता नेपालमा भित्रिएको वैदेशिक लगानीको आँकडा हेर्ने हो भने सरकारी अपेक्षा महत्वकांक्षी देखिन्छ । विगतका प्रयास र अनुभवलाई मध्यनजर गदैै सरकार तेस्रो लगानी सम्मेलनलाई फलदायी बनाउनेतर्फ केन्द्रीत पनि छ । सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मस्थल र सर्बोच्च शिखर सगरमाथाजस्ता मनमोहक हिमालपहाडको देशमा लगानी गर्न विदेशी नागरिकलाई आग्रह गरे । राजनीतिक वातावरण सहज बनेको, लगानीमैत्री ऐन, नियम तथा नियमावली बनाइएको, युवा जनशक्ति र श्रमशक्ति उपलब्ध भएकोले पनि स्वदेशी तथा विदेशी लगानीकर्तालाई थप सहज हुने सरकारको ठम्याई छ ।

अहिले मुलुकमा अर्थतन्त्रको आकार ३० खर्ब रुपैयाँको हाराहारीमा छ । यो आकारको अर्थतन्त्रमा वार्षिक रूपमा प्राप्त हुने १० देखि १५ अर्ब रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानीले खासै ठूलो अर्थ राख्दैन् । तर उच्च, दिगो, फराकिलो र समावेशी आर्थिक विकासका लागि मुलुकभित्र लगानीको ठूलो आवश्यकता र संभावना पनि छ । ९० को दशकमा थालिएको उदारीकरणले राम्रो नतिजा दिइरहेका बेला द्वन्द्व, संविधान निर्माण, भुकम्पजस्ता थुप्रै अप्ठ्याराहरुले नेपालले समस्या पनि नझेलेको होइन् । पछिल्ला २० बर्ष आर्थिक बृद्धि गर्न नसकिएको कसैमाझ छिपेको छैन् । तर मुलुकमा अहिले दुईतिहाईको बलियो सरकार भएकोले लगानीका लागि उपयुक्त वातावरण भएको पूर्व अर्थमन्त्री रामशरण महत बताउँछन् ।

सम्मेलनमा माइक्रोसफ्ट, अमेजनजस्ता प्रतिष्ठित कम्पनीका प्रतिनिधि र बहुपक्षीय तथा द्विपक्षीय विकास साझेदारबाट समेत उच्च तहका प्रतिनिधि सहभागी छन् । सरकारले सोकेशमा भएका परियोजनालाई विदेशी लगानीकर्तामाझ राखेको छ । त्यसो त एसियाली विकास बैंकले ऊर्जा, खानेपानी, शहरी पूर्वाधार, शिक्षालगायत क्षेत्रमा लगानी गर्दै आएको छ । यसका साथै मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पनि लगानी छ । लगानीकर्ताहरुले सरकारसँगै निजी क्षेत्रले समेत सकारात्मक रुपमा लगानी गर्नसक्ने वातावरण बनेकोले ऊर्जाको क्षेत्रमा लगानी गर्न इच्छा ब्यक्त गरेका छन् ।

सम्मेलनमा सहभागी ४० देशका ६ सयभन्दा बढी विदेशी लगानीकर्ताले नेपालमा लगानीका लागि चासो देखाएका छन् । सरकारले यसपटक उर्जा, पर्यटन, कृषि, उद्योग, पूर्बाधार लगायतका क्षेत्रलाई लगानीका प्रमुख क्षेत्रको रुपमा अघि सारेको छ । नेपालमा बाह्य लगानी आकर्षित गर्नका लागि सरकारले लगानीको संरक्षण र नाफा फिर्ता लैजान पाउने सुनिश्चितता गर्न आवश्यक छ ।