पुग्ला त प्रतिव्यक्ति आय १६ सय डलर ?

पुग्ला त प्रतिव्यक्ति आय १६ सय डलर ?


१५ औँ पञ्चवर्षीय योजनामा मस्यौदा स्वीकृत भएको छ । २ दिनसम्म चलेको बैठकमा विकास परिषद्ले आएका सुझाव समावेश गर्ने गरी मस्यौदा स्वीकृत गरेको हो । परिषद्को बैठकले अधिकतम १०.३ र औसत ९.६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गरी बनाइएको योजना बिहीबार पारित गरेको हो ।

बैठकले दिएको सुझावलाई समावेश गर्ने गरी प्रधानमन्त्रीको तर्फबाट राष्ट्रिय योजना आयोगले प्रस्तुत गरेको मस्यौदा सर्वसहमतले पारित गरेको छ । बैठकमा ३ सय बक्ताले १ सय ७८ सुझाव दिएका थिए । विकास परिषद्बाट पारित मस्यौदा मन्त्रिपरिषद्मा पेस गरेपछि योजनाका रूपमा आउनेछ ।

गरिबीको रेखामुनिको जनसंख्या २८ बाट १३ प्रतिशतमा झार्ने

१५ औ पञ्चवर्षीय योजनामा १६ सय डलर प्रतिव्यक्ति आय पुग्ने गरिबीको रेखामुनिको जनसंख्या १३ प्रतिशतमा झार्ने तथा बहुआयामिक गरिबीको जनसंख्या १४ प्रतिशतमा झार्ने लक्ष्य निर्धारण गरेको छ । अहिले बहुआयामिक गरिबीको जनसंख्या २८ प्रतिशत छ ।

रेल मार्ग ११२ किलोमिटर र द्रुत लोकमार्ग ७६ किलोमिटर पुऱ्याउने

अपेक्षित आयु ७२ वर्ष पुऱ्याउने लक्ष्य निर्धारण गरिएको छ भने साक्षरतादर ९० प्रतिशत, युवा साक्षरता ९९ प्रतिशत, आधारभूत खुद भर्ना ९९.५ प्रतिशत रहने लक्ष्य निर्धारण गरिएको छ । उता, पूर्वधार क्षेत्रमा ३० मिनेटको दूरीमा यातायात पहुँच पुग्नेको जनसंख्या ९५ प्रतिशत, विद्युतीय पहुच प्राप्त परिवार ९९ प्रतिशत, रेल मार्ग ११२ किलोमिट र द्रुत लोकमार्ग ७६ किलोमिटर पुऱ्याउने योजना समावेश गरिएको छ ।

उच्च आर्थिक वृद्धि नै आत्मनिर्भर अर्थतन्त्रको जग : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले जतिसक्यो छिटो १५ औँ पञ्चवर्षीय योजनालाई अन्तिमरूप दिनका लागि आग्रह गरेका छन् । उनले यही योजनाका आधारमा आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने बताए । ‘बजेट ल्याउन अब दुई महिना बाँकी छ, छिटो योजना आयो भने बजेट बनाउन सजिलो हुन्छ’ अर्थमन्त्री खतिवडाले भने । उनले उच्च आर्थिक वृद्धि नै आत्मनिर्भर अर्थतन्त्रको जग भएको बताएका छन् । उच्च आर्थिक वृद्धि तथा त्यसले सिर्जना गर्ने बचतले नै स्वाधीन अर्थतन्त्रको आधार तयार हुने उनको भनाई छ ।

योजनाबद्ध रुपमा काम गर्नेछौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपीशर्मा ओलीले दीर्घ परिवर्तित अवस्थामा देशको पहिचान र परिचय बदल्ने योजना सरकारले अघि बढाएको दावी गरेका छन् । केन्द्र, प्रदेश र स्थानीय तहकाबीचमा विभिन्न संयन्त्र तय गरिएको जनाउँदै प्रधानमन्त्री ओलीले मुलुकले योजनाबद्ध रुपमा परिवर्तन गरिने दावी गरे । अहिलेको संघीय संरचना पहिलेको भन्दा खर्चालुु भएकोले मितव्ययिता अपनाएर अघि बढ्ने उद्घोष गरे । पारित गरिएको १५ औं योजनाको आधार पत्रमा कृषि, उर्जा, खनिज र पर्यटन क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने उल्लेख गरिएको छ । २५ वर्षे दीर्घकालीन सोचसहितको आधार पत्रको मस्यौदामा ५ वर्षभित्र मुलुकमा समृद्धको सृजना गर्ने, १० वर्षभित्र समृद्धिका लागि आवश्यक काममा तीव्रता दिने कार्यक्रम पनि समावेश गरिएको छ ।