दस्तखत आतङ्कले काङ्ग्रेसमा चिन्ता रामचन्द्र ढुक्क

दस्तखत आतङ्कले काङ्ग्रेसमा चिन्ता रामचन्द्र ढुक्क


चुनाव लडेर संसदीय दलको नेता बन्न नसक्ने स्थिति भएपछि शेरबहादुर देउवा पार्टी सभापति सुशील कोइरालालाई दबाब दिएर नेता परिवर्तन गराउने खेलमा लाग्नुभएको छ । कोइरालालाई पटकपटक भेट गरेर आफूलाई दलको नेता बनाइदिन आग्रह गर्दै आउनुभएका देउवाले पछिल्लोपटक गत सोमबार पनि कोइरालालाई भेटेर अलिक कडा रूपमा प्रस्तुत हुँदै आफूलाई नेता पद दिन माग गर्नुभयो । देउवाको हठ देखेर आजित हुनुभएका सभापति कोइरालाले पहिलेझैँ सोमबारको भेटमा पनि देउवालाई सम्झाउँदै रामचन्द्र पौडेलजीसँग आफैं कुराकानी गरेर एउटा सहमति बनाउन सुझाव दिनुभयो । रामचन्द्रजी सहमत नभई दलको नेता बदल्ने प्रयास गर्नु भनेको पार्टीमा विग्रह र विवाद निम्त्याउनु हो भन्दै देउवालाई सम्झाएर कोइरालाले आफ्नो निवासस्थानबाट फिर्ता पठाइदिनुभयो । तर, देउवाले नेता पौडेलसँग अहिलेसम्म कुनै सम्पर्क र संवाद गर्नुभएको छैन । बरु कसरी बहुमत सभासद् जुटाएर रामचन्द्रविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने भन्ने अन्तिम तयारीमा देउवा लाग्नुभएको छ । पार्टी सभापतिमाथि दबाब सिर्जना गर्ने र रामचन्द्रविरुद्ध बहुमत सभासद्को दस्तखत भएको ढोल पिटाएर तर्साउने गरेको प्रयासमा देउवा पूर्ण असफल हुनुभएको छ । ‘नाङ्लो ठटाएर हात्ती नतर्सने’ भएपछि देउवा पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न बाध्य हुने स्थिति बन्दै गएको छ । देउवा निकटको एक सूत्रले जनाएअनुसार देउवाले यसै साताभित्र अविश्वास प्रस्ताव दर्ता गराउने तयारी गर्नुभएको छ । अहिलेसम्म बयालीस सभासद्को दस्तखत गराउनुभएका देउवाले बहुसङ्ख्यक सभासद्को दस्तखत जुटाउन असम्भव ठानिन्छ । कदाचित दस्तखत जुटाउन सके पनि बहुमत जुटाउन भने देउवा कदापि सफल हुन सक्नुहुने विश्वास गरिँदैन । ०५६ सालमा पनि बहुसङ्ख्यक सांसदको दस्तखत जुटाएर संसदीय दलको नेता बन्न देउवाले कसरत गर्नुभएको थियो । अन्ठाउन्नजनाको दस्तखत जुटाएर चुनावमा भिड्नुभएका देउवालाई त्यसबेला चवालीस मत मात्र प्राप्त भएको थियो । त्यसैले देउवालाई अहिले पनि दस्तखतमाथि पूर्ण विश्वास नभएको बताइन्छ । संसदीय दलमा पौडेललाई परास्त गर्न अन्ठाउन्न मतको आवश्यकता पर्छ, अन्ठाउन्नजनाले नै दस्तखत गरिदिए पनि गोप्य मतदानको समयमा दस्तखत देउवाको पक्षमा गर्नेहरूले समेत मतदानचाहिँ पौडेलकै पक्षमा गर्ने विश्वास गरिन्छ । त्यसो त केही सभासद्ले आफूलाई देउवाले उहाँको घरमा आयोजित चियापान कार्यक्रमको समयमा गरिएको उपस्थिति पुस्तिकामा दस्तखत गराएर आफ्नो सहीको दुरुपयोग गरिएको बताएका छन् भने केही सभासद्ले चाहिँ अर्कै प्रयोजनका लागि दस्तखत लिएर अविश्वास प्रस्तावमा आफ्नो उक्त दस्तखतको प्रयोग गर्न लागेको भन्दै आपत्ति जनाएका छन् । ती सभासद्ले पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएमा सार्वजनिक घोषणा गरी उक्त कार्यको निन्दा र भत्र्सना गर्दै आफ्नो समर्थन नरहेको जानकारी गराउने भएका छन् । दशकौँदेखि कोइरालाको पक्षमा रहेका सभासद् पुरुषोत्तम बस्नेत आफ्नो पक्षमा आएको दाबी देउवाले गर्नुभएको छ । बस्नेतसँगै गोकर्ण राईसमेतको समर्थन प्राप्त भएको विश्वास गर्नुहुने देउवाले केन्द्रीय सदस्य बन्न इच्छुक केही सभासद्लाई भड्काएर आफ्नो पक्षमा तान्ने योजना बनाउनुभएको बुझिन्छ । सभासद् शोभाकर पराजुलीलाई मन्त्री बनाउने आश्वासन दिँदा पनि दस्तखत गर्न नमानेपछि भने देउवा केही निराश बन्नुभएको बताइन्छ । भनिन्छ, केही सभासद् शोभाकर पराजुलीसँग परामर्श गरेर मात्र निर्णय लिने मानसिकतामा छन् । पराजुलीलाई आफ्नो बनाउन भएको प्रयासमा देउवालाई अहिलेसम्म सफलता प्राप्त भएको छैन । केही सभासद्को नामावली तयार गरेर खरिद-प्रक्रिया सुरु गर्न खोजिएकोमा ‘एक्स्पोज’ भएपछि देउवाको उक्त योजना पनि तुहिएको छ । खरिद गर्न सकिने भनी तयार पारिएको सूचीमा आफूलाई पनि राखेको थाहा पाउने केही सभासद्ले देउवाप्रति चरम असन्तुष्टि प्रकट गरेका छन् । एक सय चौध सभासद्मध्ये रामचन्द्र पौडेलको पक्षमा कम्तीमा छैसट्ठी (६६) जना दृढतापूर्वक उभिएका छन् भने देउवालाई छत्तीस सभासद्को दृढ समर्थन रहेको विश्वास गरिन्छ । गोविन्दराज जोशीको निर्देशनअनुरूप चल्ने भनी होच्याइएका नेता कुलबहादुर गुरुङको समर्थनमा रहेका सबै सभासद्ले देउवालाई समर्थन गरे भने पनि उहाँलाई छयालीसभन्दा बढी मत प्राप्त हुन मुस्किल देखिन्छ । स्मरणीय छ, देउवाले जतिसुकै सङ्ख्यामा दस्तखत प्रस्तुत गरे पनि नेता पौडेल दस्तखत देखेकै भरमा छोडेर भाग्ने मानसिकतामा हुनुहुन्न । उहाँ चुनाव लडेरै देउवालाई हैसियत देखाइदिने सोचमा रहनुभएको बताइन्छ । देउवाको पक्षमा उभिन अधिकांश सभासद्लाई पार्टीको मायाले रोकेको छ । सभापति सुशील कोइराला र नेता रामचन्द्र पौडेलप्रति असन्तुष्ट कतिपय सभासद् आफ्नो असन्तुष्टि यथावत् राखेर पनि पौडेलकै पक्षमा उभिन कटिबद्ध देखिन्छन् । देउवालाई बलियो बनाउँदा पार्टी विभाजन हुनसक्छ भन्ने आशङ्का उनीहरूले गरेका छन् । यसअघि देउवा संसदीय दलको नेता र प्रधानमन्त्री बन्नुहुँदा पार्टी विभाजन गराएर राजालाई ‘टेकओभर’ गर्न वातावरण बनाइदिनुहुने देउवालाई अब फेरि संसदीय दलको नेता बनाइँदा उहाँले कतै माओवादीलाई जनवादी क्रान्ति सम्पन्न गर्न सहज वातावरण बनाइदिने हो कि भन्ने त्रास सभासद्हरूमा पैदा भएको देखिन्छ । त्यसैले जतिसुकै असन्तुष्टि भए पनि पार्टीको एकता र यसको भविष्य जोगाउन सभापति सुशील कोइराला र नेता रामचन्द्र पौडेलकै हात बलियो बनाउन आवश्यक पर्ने अधिकांश सभासद्को ठम्याइ छ । ज्ञातव्य छ, सभापति कोइरालाको कार्यशैली सङ्कुचित भए पनि उहाँलाई सन्त र निष्कलंकित नेताका रूपमा लिइन्छ र पार्टीमा सबैले कोइरालालाई आदरपूर्वक हेर्छन् भने नेता रामचन्द्र पौडेललाई सङ्कीर्ण भए पनि निष्ठावान् एवम् पार्टीप्रति पूर्ण समर्पित नेताका रूपमा लिइन्छ । पौडेलबाट पार्टी र प्रजातन्त्रले कहिल्यै धोका नपाउने अधिकांश सभासद् र अन्य नेता तथा कार्यकर्ताको विश्वास छ । त्यसैले देउवाबाट जतिसुकै प्रयास भए पनि संसदीय दलको नेता बन्ने उहाँको सपना तत्कालका निम्ति सपना मात्र हुने देखिएको छ । उपसभापतिको भूमिका रहनुभएका पौडेलको विकल्प खोज्नुपरेको अवस्थामा पनि पार्टीको ठूलो हिस्सा देउवातिर र्फकने मानसिकतामा छैन, बरु पौडेलको विकल्प भविष्यमा डा. रामशरण महत बन्नुहुने ठानिन्छ । तीनपटक प्रधानमन्त्री बन्ने मौका देउवाले पाएको तर देउवाभन्दा वरिष्ठ र पार्टीप्रति समर्पित नेता रामचन्द्र पौडेललाई देशको नेतृत्व गर्ने अवसरबाट वञ्चित गर्न भइरहेको प्रयासलाई पार्टीभित्र स्वाभाविक रूपमा लिइएको छैन । तीनपटक प्रधानमन्त्री बनेको समयमा तीनैपटक प्रजातन्त्र र काङ्ग्रेसलाई अप्ठ्यारो पार्ने भूमिका निर्वाह गर्नुहुने देउवा र पौडेलबीचको द्वन्द्वलाई केहीले राम र रावणबीचको द्वन्द्वको रूपमा पनि टिप्पणी गरेका छन् । रावणले निहुँ खोज्दा त समुद्रपारिको श्रीलङ्का जलेको थियो, देउवाले निहुँ खोज्दा कतै आफ्नै काङ्ग्रेस र प्रजातन्त्र जल्ने हो कि भन्ने चिन्ता आमकाङ्ग्रेसजनमा देखापरेको छ ।