चोरी–शिकारी रोक्न निकुञ्जमा ‘स्विप अप्रेशन’

चोरी–शिकारी रोक्न निकुञ्जमा ‘स्विप अप्रेशन’


चितवन राष्ट्रिय निकुञ्जमा आइतबारदेखि ‘स्विप अप्रेशन’ शुरु भएको छ । निकुञ्जको अमलटारी क्षेत्रको खोरिया मुहान र गैँडा खासा क्षेत्रबाट अप्रेशन शुरु गरिएको हो ।

निकुञ्जलाई १० भागमा विभाजन गरेर स्विप थालिएको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए । अप्रेशनमा सात हात्ती परिचालन गरिएको छ । निकुञ्जका कर्मचारी, नेपाली सेना र माउतेहरू गरी २५ जनाको टोली उक्त कार्यमा जुटेका छन् ।

सम्बन्धित क्षेत्रमा रहेका पोष्टका सुरक्षाकर्मी र कर्मचारी अप्रेशनमा जुटेका छन् भने अनुमानित १० दिनसम्म उक्त कार्य जारी रहनेछ । शुरुआत अमलटारी क्षेत्रबाट भए पनि एक–दुई दिनमा दश ठाउँमै काम शुरु हुने घिमिरेले बताए । सो क्रममा चुरे क्षेत्रमा राति बसेर गस्ती गर्ने तयारी गरिएको छ ।

बर्सातको समय चोरी–शिकारका दृष्टिले संवेदनशील मानिन्छ । बर्सातसँंगै घाँस उम्रिएर झाडी बन्ने, बाढीले गस्ती गर्न कठिन हुने, सडक र पुल भत्कने, मानिसलाई हात्तीसम्म पुग्नसमेत कठिन हुन्छ । सोही कारण बर्सातअघि पूरै क्षेत्र भ्याउने गरी स्विप गर्न लागिएको हो ।

निकुञ्जको विगतको तथ्याङ्कलाई हेर्दा यो समयमा धेरै चोरी–शिकार भएको देखिन्छ । यसैलाई मध्यनजर गर्दै निकुञ्जले चोरी–शिकार नियन्त्रणका लागि नयाँ रणनीति निर्माण गरी स्विप कार्यलाई अघि बढाएको हो । निकुञ्जमा ५३ स्थायी पोष्ट छन् ।

निकुञ्जमा पैदल, साइकल, हात्ती, डुङ्गा, कुकुर र गाडीबाट गस्ती गरिँदै आएको छ । यो निकुञ्ज दुर्लभ वन्यजन्तु एकसिँगे गैँडा र पाटेबाघका लागि प्रख्यात छ । गस्ती बढेसँगै दुई वर्षयता शिकारीले गैँडा मार्न पाएका छैनन् । शसस्त्र द्वन्द्वका समयमा एकै वर्षमा ३६ वटासम्म गैँडा तस्करले मारेका थिए ।