दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीलाई स्मार्टफोन

दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीलाई स्मार्टफोन


नेपाल टेलिकमले विपन्न र दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरुलाई फेरि स्मार्ट फोन उपलब्ध गराएको छ । सुर्खेतको छिन्चुमा आयोजित एक कार्यक्रमका बीच आज (असार १७ गते) कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरुलाई सामसुङ ग्यालेक्सी एम २० स्मार्टफोन प्रदान गर्नुभयो ।

कार्यक्रममा अधिकारीले नेपाल टेलिकमले देशका विकट क्षेत्रमा समेत अत्याधुनिक सञ्चार सेवाहरु उपलब्ध गराउनुका साथै फरक क्षमता भएका नागरिकहरुलाई उपलब्ध गराइएको सेवाले प्रविधिको माध्यमबाट आर्थिक गतिविधिका साथै सहज जीवनयापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल टेलिकम राष्ट्रको सञ्चार भएकाले व्यवसाय मात्र विस्तार नगरी सेवाको भावनाले समेत काम गरिरहेको बताउनु भयो ।

भेरीगंगा नगरपालिका १० का वडाअध्यक्ष मानबहादुर बुढाले नेपाल टेलिकमले विभिन्न सेवामूलक कार्य पनि गरिरहेकोमा प्रशंसा गर्दै यस्तो सेवा आगामी दिनमा अन्य क्षेत्रमा समेत उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो भने मैत्री समाज नेपालका प्रतिनिधि चन्द्रमणि पोखरेलले कम्पनीले प्रदान गरेको मोबाइल सेटमार्फत दृष्टिविहीन विद्यार्थीहरुलाई स्तरीय आवाजसहितको प्रविधिबाट अध्ययन गर्न सहयोग पुग्ने बताउँदै यसबाट समाजमा पिछडिएका र फरक क्षमता भएकाहरुले पनि केही गर्न सक्छन् भन्ने विश्वास कायम राख्न सहयोग पुगेको बताउनु भयो ।

नेपाल टेलिकमले मैत्री समाज नेपालको सहकार्यमा कर्णाली प्रदेशका दृष्टिसम्बन्धी अपांगता भएका उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई मोबाइल सेट हस्तान्तरण गरेको हो । स्मार्ट फोनमार्फत आवश्यक एप्लिकेसन प्रयोग गरी उनीहरुले अध्ययन कार्यलार्ई सहज रुपले अघि बढाउन सक्ने टेलिकमको दाबी छ ।

ज्ञातव्य छ, यही असार १३ गते सुनसरीको इटहरीमा पनि दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई मोबाइल सेट वितरण गरिएको थियो ।