बिरामी पत्रकारप्रति मन्त्रीको वक्रदृष्टि !

बिरामी पत्रकारप्रति मन्त्रीको वक्रदृष्टि !


जनकपुरमा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार दिलीप घिमिरे बिरामी परेका छन् । केही समययता क्यान्सरबाट पीडित घिमिरेको यसअघि पटकपटक शल्यक्रिया भइसकेको छ । काठमाडौंस्थित क्यान्सर अस्पतालमा उपचाररत दिलीप घिमिरे करिब चार दशकदेखि ‘हिमज्योति’ साप्ताहिक प्रकाशन गर्दै आएका छन् । पत्रकारिताका साथै उनी तत्कालीन अवस्थामा कम्युनिस्ट विद्यार्थी सङ्गठनमा पनि सक्रिय थिए ।

उनले आफ्नो उपचारका लागि सहयोग पुगोस् भनेर केही सहयोगको अपेक्षा गर्दै सहयोगका लागि अनुरोध गरेकोमा सम्बन्धित मन्त्रीहरूले यस विषयमा वास्ता नगरेको घिमिरेको भनाइ छ । उनले जनकपुरकै नेकपा नेता तथा मन्त्री पनि रहेका रघुवीर महासेठ र स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गरेर निवेदन दिएका थिए । तर, तत्सम्बन्धमा कुनै कारबाही नगरी एउटा बिरामी पत्रकारप्रति उपेक्षाभाव राखेको दिलीपको गुनासो छ ।

दिलीप भन्छन्, ‘एक समय कम्युनिस्ट आन्दोलनमा लागेर जनकपुर क्षेत्रमा इतर विचारसहितको पत्रकारिता गर्दै तत्कालीन प्रतिकूल परिस्थितिमा जेल सजाय पनि भोगेको आज कसैले देखेनन् । गम्भीर बिरामी हुँदा पनि यहाँ कसैले सकारात्मक दृष्टिकोण राख्दा रहेनछन् ।’

त्याग गर्नेले सधैँ दुःख पाउँदै आएको पत्रकार दिलीप घिमिरेको भनाइबाट स्पष्ट हुन्छ । दिलीप घिमिरेको सक्रिय पत्रकारिताका विषयमा जनकपुर क्षेत्रका पत्रकारहरू जानकार छन् । पत्रकार घिमिरे तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको समयमा दर्जन पत्रकारहरूसँगै सम्मानित पनि भएका थिए ।