‘सहयात्री गुमाएको पीडा समाजसेवाबाटै भुल्न चाहन्छु’ : शकुन्तला

‘सहयात्री गुमाएको पीडा समाजसेवाबाटै भुल्न चाहन्छु’ : शकुन्तला


मेची अञ्चलका चार जिल्लामध्ये झापाको आफ्नै विशेषता छ– तराई भएकाले, चिया र पाथीभरा मन्दिरको प्रसिद्धिका कारण क्रमशः इलाम र ताप्लेजुङको पनि चर्चा हुने गर्छ । तर, अर्को जिल्ला पाँचथरको चाहिँ त्यसप्रकारको कुनै चिनाउने परिचय नभएकाले ओझेल परेको कैयन पाँचथरवासीको सोचाइ रहेकोे पाइन्छ । यसै सवालमा पाँचथरको सदरमुकाम फिदिम नगरपालिका–४ का निर्वाचित वडा सदस्य श्रीमती शकुन्तला ओलीसँग केही राजनीतिक, सामाजिक अनि वडा तथा नगरको विकाससम्बन्धी धारणा बुझ्ने चेष्टा गरियो । श्रीमती ओलीले शुरुमा आफ्नै बारे कुरा गर्दै आफू ०२८ सालमा जन्मेर प्लस टुको अध्ययन गर्दै सामाजिक क्षेत्रमा अग्रसर भएर काम गर्दागर्दै राजनीतिमा होमिएको खुलासाा गर्नुभयो ।

कसको प्रेरणाले राजनीतिमा लागियो त भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ– ‘मेरो माइतीघर फिदिम नै हो । मेरो बुबा कुलबहादुर भण्डारी नेपाली काङ्गे्रसमा संलग्न हुनुहुन्थ्यो । मेरो श्रीमान्को घर (तेह्रथुम)मा पनि काङ्ग्रेसकै माहोल रहेछ । अनि म पनि नेपाली कांग्रेसको सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति आकर्षित भएर राजनीति (नेपाली कांग्रेस)मा प्रवेश गरेकी हुँ ।’

उहाँ थप्नुहुन्छ– ‘यसरी सामाजिक क्षेत्रमा संलग्न हुने क्रममा म सन् २००४ देखि २०१२ सम्म पारालिगल क्षेत्रमा स्रोतव्यक्ति भई काम गरेँ । त्यसबखत घरेलु हिंसासँग सम्बन्धित मुद्दा हेर्ने कार्यमा बढी संलग्न भइयो । आफू कानुनविद् नभए पनि कानुनविद्का साथमा लागेर काम गर्दाको अनुभवले त्यसपछि पनि महिलासँग सम्बन्धित विभिन्न सङ्घ/संस्थासँग आबद्ध पतञ्जली योग शिविर फिदिमकी महासचिव भई काम गर्दै आइरहेको अवस्थामा स्थानीय तहको निर्वाचनको समय आयो । म एक महिला र सामाजिक अभियन्ताका रूपमा सशक्त भएर काम गरेको अनुभव र क्षमता देखेर नै हुनुपर्छ– नेपाली काङ्ग्रेसले मलाई वडा नंं. ४ को सदस्य पदका लागि चुनावमा उठ्न टिकट दियो । पार्टीको आफ्नो मत त छँदै थियो, संयोगले मेरा श्रीमान् भीमप्रसाद ओलीको प्रेरणा र प्रोत्साहन नभएको भए वडा सदस्यको उम्मेदवार नै हुन्नथेँ होला । तर, उहाँको प्रेरणा मात्र नभई उहाँसँगै कार्यरत साथीभाइहरूको पनि ठूलै सहयोग प्राप्त गर्न सकेकीले मात्र विजयी हुन पुगेकी हुँ । मेरो श्रीमान् त अर्कोपटक नेपाली काङ्ग्रेसबाट नै उपमेयरमा लड्नुपर्छ भनी अहिलेदेखि नै प्रेरणा र प्रोत्साहन दिँदै हुनुहुन्थ्यो । तर, दैवको लीला सरकारी नोकरीबाट उमेरको कारण अवकाश लिनेबित्तिकै उच्च रक्तचापले थला नै पर्ने गरी च्याप्यो । उपचारार्थ राजधानी लिएर गएको बेला उहीँ पशुपतिनाथको चरणमा अन्तिम बिदाइ गरेर एक्लै आफ्नो जिल्ला फर्कनुपऱ्यो । हालैको घटना हो यो ।’

फिदिम नगरपालिकाको राजनीति तथा विकासका गतिविधि सम्बन्धमा उहाँ भन्नुहुन्छ– ‘जिल्ला नै ओझेलमा परेको जुन कुरा गर्नुभयो, त्यस सम्बन्धमा म मात्र होइन, झापा, इलाम र ताप्लेजुङको जस्तो चिनारी दिने धार्मिक वा ऐतिहासिक स्थल त हाम्रो जिल्लाको केही छैन र पनि अन्य कुरामा हामी केही कुरामा पनि पछि परेका छैनौँ भन्ने लाग्छ । तथापि, राष्ट्रिय स्तरमा त चिनारी दिने जिल्लाकै नामले मात्र हो ।’

‘फिदिम नगरपालिकामा नेपाली काङ्ग्रेसको बहुमत छ । मेयर श्री ओनाहाङ नेम्वाङ र उपभेयर श्रीमती उर्मिला प्रधान हुनुहुन्छ । मेरो वडा नं. ४ माचाहिँ वडाध्यक्ष प्रकाश गुरुङ, सदस्यहरूमा तोया खनाल, वसन्त रिजाल, पूर्णमाया विक र म छौँ । हामी सबै नेपाली काङ्ग्रेसकै टिकटबाट मेयर, उपमेयरसहित विजयी भएका हौँ । नगरपालिकाबाट गत साल पनि आफ्नो क्षेत्रको विकासको क्रममा गाउँघरका बाटाघाटालाई स्तरोन्नति गर्ने काममा प्रमुख प्राथमिकता दिएर काम भएको थियो भने हामीले पनि हाम्रो वडामा अन्य विकासमा क्रमका अतिरिक्त हामीले पनि शाखा–प्रशाखा सडक स्तरोन्नति गर्नलाई प्राथमिकता दिएका थियौँ । आगामी वर्ष पनि शिक्षा, स्वास्थ्य, खानेपानीका अतिरिक्त सडक निर्माणमा स्तरोन्तिलाई प्राथमिकता दिइने लक्ष्य लिएका छौँ ।’

वडा सदस्यमा विजयी भएपछि जनप्रतिनिधिको हैसियतले के–कस्ता काममा बढी संलग्न तथा व्यस्त रहने गर्नुभएको छ भन्ने विज्ञासामा श्रीमती ओली भन्नुहुन्छ– ‘म एक महिला भएको नाताले हिजो पनि लामो समय सामाजिक क्षेत्रमै कार्यरत रहँदा रमाएकी थिएँ भने अहिले त जनप्रतिनिधि भएको हैसियतले सामाजिक क्षेत्रमा खास गरेर महिला वर्गको हक, हित र अधिकार, घरेलु हिंसा, लेनदेनका विषय, पीडित महिलाका दुखेसाहरू र महिला वर्गकै उत्थानमा सक्रिय भएर हिजो पनि लागेकी थिएँ भने भोलि पनि लाग्ने नै छु ।’

पार्टीगत संलग्नताबारे उहाँको भनाइ छ– ‘मैले नेपाली काङ्ग्रेसको पहिले साधारण, क्रियाशील सदस्य हुँदै जिल्ला सदस्यसम्म कार्यभार सम्हालेकी थिएँ । जब म वडा नंं. ४ को सदस्यमा विजयी भएँ, तब पार्टीले मलाई जिल्ला समन्वय समितिको सभापति पदमा लड्न टिकट दियो । त्यो पदमा पनि विजयी हुन सक्थेँ होला, तर आफ्नै केही कमजोरी र त्यस्तै कार्यले राजधानी आउनुपरेकाले निर्वाचनका बेला जिल्लामा बढी समय दिन सकिनँ, फलस्वरूप एक मतले पराजित हुन पुगेँ । जिल्लास्तरीय पदमा पुगेर सेवा पु¥याउन नसके पनि नगरपालिकाको वडास्तरमै जनप्रतिनिधिको रूपमा रहेर काम गर्न म रमाएकै छु । अब झन् म एक्ली भएँ । एक छोरा लक्ष्मण पनि इन्जिनियर भई कार्यरत रहेको छ भने एक छोरी पनि उच्च शिक्षा हासिल गरी ज्वाइँसँग राजधानीमै भएकीले जनप्रतिनिधि तथा सामाजिक अभियन्ता बनेर जनसेवामा समर्पित भएर रहने सोचाइ रहेको छ । जीवनकै सहयात्री गुमाएको पीडा पनि राजनीति तथा समाजसेवाको माध्यमबाट भुल्न चाहन्छु ।’