बाघको जुँगा उखेल्ने चौधरीलाई पाँच लाख जरिवाना

बाघको जुँगा उखेल्ने चौधरीलाई पाँच लाख जरिवाना


मरेको बाघको जुँगा उखेल्नुलाई परम्परागत नेपाली समाजमा पुरुषार्थ मानिँदैन । तर, वातावरण सचेत आधुनिक राज्यमा त्यो विषय महँगो पर्छ । बर्दिया जिल्ला अदालतले हालैको आफ्नो फैसलामा यसको पुष्टि गरिएको छ ।

गेरुवा गाउँपालिका–४ शान्तिपुर धकनिया निवासी सुन्दरलाल चौधरीले मरेको बाघको जुँगा उखेलेर घरमा लुकाएको आरोपमा रु. पाँच लाख जरिवाना तिर्नुपरेको छ । उनलाई बाघ मारेको आरोपसमेत लगाई पक्राउ गरिएको थियो । तर, बाघ मारेको प्रमाण फेला नपरेपछि जिल्ला अदालतले बाघको जुँगा उखेली घरमा लुकाएको अभियोगमा रु. पाँच लाख जरिवाना तिर्न लगाई रिहा गरिदिएको छ ।

बर्दिया जिल्ला अदालतका मुख्य न्यायाधीश किरणकुमार पोखरेलको इजलासले बाघ मारेको आरोपमा पक्राउ परेका चौधरीलाई रु. पाँच लाख जरिवाना तिराएको हो । फैसलामा अभियुक्त चौधरीले गत पुस २८ गते बाघको जुँगा उखेलेर घरमा लुकाइराखेको प्रमाण फेला परेको र बाघको जुँगा घरमा राख्नु गैरकानुनी भएको उल्लेख गर्दै उक्त जरिवाना तोकिएको हो । वन्यजन्तु मारेको र अंग ओसारपसारमा संलग्न अभियुक्तलाई रु. पाँचदेखि १५ लाखसम्म जरिवाना हुने कानुनी प्रावधान छ ।