अन्ना हजारेको पथ अङ्गाल्न ढिला भएन ?

अन्ना हजारेको पथ अङ्गाल्न ढिला भएन ?


-वसन्तराज कुँवर
भारतमा महात्मा गान्धीले हिन्दुस्थानलाई बेलायतीहरूको नियन्त्रणबाट मुक्त गर्ने अभियान चलाए । त्यसबखत सरकारमा बेलायतीहरू नै थिए । प्रशासनमा उनीहरूकै मानिस थिए । सुरक्षाफौजमा त्यही सरकारको हुकुम मान्ने सुरक्षाकर्मीहरू नै थिए । विपक्षी दलहरूको बाहुल्य पनि थिएन । बेलायती शासकहरूले राजा, जमिनदार आदिलाई आफ्नो अनुयायी बनाई प्रहरी तथा सैनिककलाई उनीहरूको सहयोगमा खटाएका थिए । बेलायती शासनविरुद्ध कामकारबाही गर्नेहरूलाई पहिला जमिनदारले नै ठीक लगाइहाल्थे । जमिनदारले भनेको नमाने तिनले पालेका डाँका-गुण्डाहरूबाट त्यस्ता व्यक्ति वा संस्थालाई ठीक पार्ने काम गरिन्थ्यो । डाँका-गुण्डाबाट पनि भएन भने ती जमिनदार वा राजालाई सहयोग गर्न सरकारी दरोगाहरू अगाडि बढ्दथे । सबैको काम भनेको एउटै दिशामा लक्षित हुन्थ्यो त्यो के भने ब्रिटिस शासनलाई झन्झन् बलियो बनाउने । त्यस समय पढेलेखेकाहरूलाई ब्रिटिसहरूले ठूलाठूला पद दिएर आफ्नो अनुयायी बनाएका थिए ।
त्यसबखत भारतको जनताको जीवन बेलायतको जीवनशैलीभन्दा बिलकुल फरक थियो । संभ्रान्त भारतीयहरू ब्रिटिस राजामा नै आफूलाई सम्मानित भएको महसुस गरिरहेका थिए । राजा, महाराजा, जमिनदार ब्रिटिसहरूको आशर्ीवादले निर्धक्कसँग शासन गर्न पाइरहेका थिए । मैले भन्न खोजेको के हो भने जो चेतनशील भारतीय थिए ती बेलायती हुकुमतको समर्थक थिए र जो गरिब-शोषित थिए तिनीहरू त्यो बन्दुक र बलियो पक्षसँग भिड्न कतै सक्दैनथे । यस्तो अवस्थामा बेलायती उपनिवेशवादबाट भारतको मुक्ति असम्भव नै लाग्दथ्यो तर त्यो मुलुकमा एउटा व्यक्ति जन्मिएका रहेछन्, ‘महात्मा गान्धी’ भन्ने । उनले शायद यो कुरा राम्ररी बुझेका रहेछन् कि ब्रिटिस शासनविरुद्ध सशस्त्र क्रान्ति गरेर तिनलाई ढाल्ने सामर्थ्य साधारण भारतीयहरूसँग छैन किनकि बन्दुक, प्रशासन, मात्र होइन गुण्डा, डाँका, दरोगा, न्यायाधीश, जेल, सेना पनि ब्रिटिसकै हातमा छन् र उनीहरूको साथमा कैयौँ भारतीय नागरिक पनि अन्धभक्त भएर काम गरिरहेका छन् । त्यसैले यो अवस्था बुझेका महात्मा गान्धीले यदि भारतलाई बेलायती हुकुमतबाट स्वतन्त्र पार्ने हो भने आफू सीधै पीडित साधारण मानिसहरूबीच जानुपर्छ र उनीहरूलाई लिएर अहिंसात्मक लडाइँ लड्नुपर्छ, सशस्त्र लडाइँमा जानुहुँदैन भन्ने कुरा राम्ररी बुझेका रहेछन् । सशस्त्र लडाइँमा जाँदा बेलायती मोर्चासँगको युद्ध कहिल्यै जित्न सकिँदैन भन्ने मान्यता बोकेका गान्धीले राष्ट्रियतालाई मुद्दा बनाई अनशन र उपवासबाटै विशाल भारतलाई शक्तिशाली बेलायती पकडबाट मुक्त गराइदिए ।
अहिले धेरै वर्षपछि भारतमा फेरि भ्रष्टाचारविरुद्ध एउटा अर्को लडाइँ महात्मा गान्धीकै शैलीमा सुरु भएको छ । अन्ना हजारे नामका चौहत्तर वर्षका एक बूढा व्यक्तिले भारत सरकारविरुद्ध भ्रष्टाचार रोक्ने जनलोकपाल बिल पास गर्नुपर्छ भनेर ठूलो मोहिम छेडेका छन् । उनी चाहँदारहेछन् कि भ्रष्टाचारको सजाय प्रधानमन्त्री, न्यायाधीशहरू, सीबीआई सांसद, मन्त्री, विशिष्ट श्रेणीका कर्मचारी सबैले पाऊन् । सरकार प्रधानमन्त्रीदेखि विशिष्ट कर्मचारीसम्मलाई भ्रष्टाचार कानुन प्रभावकारी रूपमा लगाउन चाहिने कानुन बनाएर जनताले नै उनीहरूलाई सजाय गर्न सक्ने व्यवस्था होस् भन्ने उनको चाहना रहेछ । अन्ना हजारेको तर्क रहेछ कि कोही सरकारमा बसेर, न्यायाधीश, सांसद, मन्त्री, प्रधानमन्त्री, उच्च अधिकृत भएको मान्छेले आफ्नैविरुद्ध लाग्न सक्ने कानुन किन बन्न दिन्छ ? आफ्नैविरुद्ध भ्रष्टाचारको मुद्दा किन लगाउँछ ? त्यसैले जनताकै उपस्थितिमा त्यस्ता ठूला व्यक्तिहरूलाई पनि कडा सजाय गर्न सक्ने कानुन बनाउन उनी लागिपरेका रहेछन् । सरकार भने लोकसभाबाटै अर्थात् संसद्बाट दिएअनुसारको भ्रष्टाचार कानुन लगाउन चाहँदोरहेछ र प्रधानमन्त्रीलगायत न्यायाधीशहरू, सांसदहरूलाई त्यो कानुन नलाग्ने व्यवस्था गर्न चाहँदोरहेछ । यही कुरामा अन्ना हजारे र सरकारबीच विगत केही समयदेखि लडाइँ हुँदै आएको छ । हाल आएर सरकारले अन्ना हजारेलाई अनशनसमेत बस्न नदिएर जेल हाल्न थालेपछि भारतमा मात्र होइन विदेशमा समेत अन्ना हजारेका समर्थकले सरकारलाई घुँडा टेकाई जेलमा राखिएका हजारेलाई समेत तोकेको दिनभन्दा पहिल्यै मुक्त गर्न विवश बनाएका छन् । हालको अन्ना हजारेको आजको लडाइँ पनि हिजो शासनमा बसेर अन्याय गर्ने ब्रिटिस हुकुमतसँग महात्मा गान्धीले गरेको लडाइँजस्तै नै देखिन्छ । उनको विचारमा हिजो ब्रिटिसहरूबाट जनता शोसित थिए भने आज देशमै भएका राजनीतिक पार्टीका नेता, कर्मचारी, न्यायालय, गुण्डा, अपराधी आदिबाट जनता शोषित छन् भन्ने रहेछ । भारतभर अन्ना हजारेको आफ्नो सङ्गठन नभए पनि हाल अन्नाले उठाएको विषयमा आमजनता उनीसँग छन् । अन्ना हजारे जेल पर्दा जनता जेल पुग्छन्, राजघाट पुग्दा राजघाट पुग्छन् । यो प्रकरणमा ज्यादै महत्त्वपूर्ण घटना के देखिएको छ भने त्यत्रो ठूलो राजनीतिक सङ्गठन, सेना, प्रहरी र प्रशासक आफ्नो हातमा हुँदा पनि अहिलेको भारतको केन्द्रीय सरकार एउटा चौहत्तर वर्षको बूढाका अगाडि निरीह भएर बसेको छ ।
भारतमा हाल अन्ना हजारेले चलाइरहेकोझैं आन्दोलन नेपालमा पनि जरुरी छ । आज जुन प्रकारले सत्तामा पुगेका वा नपुगेका राजनीतिक दलहरूले यो नेपाल भन्ने देश हाम्रै निजी सम्पत्ति हो र यसलाई हामीले जसरी चलाए पनि हुन्छ भनेर आफूखुसी मुलुकलाई अस्थिरता र गरिबीको खाडलमा जाग्दै छन्, त्यसबाट देशलाई जोगाउन अब कोही अन्ना हजारेको बाटोमा हिँडेर यो मुलुकलाई बचाउनुपर्ने बेला आइसकेको छ । आमजनताको हितका लागि एक आन्दोलन नेपालमा पनि चल्नु बिलकुल अपरिहार्य भइसकेको छ । नेपालमा संविधानसभाका लागि यति ठूलो आन्दोलन भयो, संविधान बनाउन अबौर्ं खर्च गरी सांसद चुन्ने काम भयो, तिनलाई भत्ता र सुविधा भन्दै अबौर्ं रुपैयाँ राष्ट्रिय ढुकुटीबाट दिने काम भयो तर तीन वर्ष बितिसक्दा पनि तिनले न संविधान बनाएका छन् न भत्ता खान नै छोडेका छन् ? यस्ता गैरजिम्मेवार कामको खबरदारी कसले गर्ने ? यस्ता गैरजिम्मेवार सांसदहरूलाई कसले पजनी गर्ने जब कि पजनी गर्ने अधिकार नै उनीहरूभित्र निहित छ भन्ने उनीहरूको मान्यता छ ? भ्रष्टाचार नियन्त्रण गर्न खटिएको अख्तियारका आयुक्त यिनै नेताहरूको कृपाबाट छानिन्छन् । राजाको शासनमा राजाको राजनीतिक स्वार्थ र माओवादी, काङ्ग्रेस वा एमाले सरकारको पालामा तिनकै स्वार्थबाट चल्ने यी इकाइहरूले कसरी प्रधानमन्त्री र राजनीतिक दलका नेताहरू वा न्यायालयमाथि कारबाही गर्न सक्छ ? प्रधानन्यायाधीशको सिफारिस र क्याबिनेटको निर्णयबाट आयुक्त भएकाहरूले कृष्णप्रसाद सिटौलाजस्तालाई कसरी जेल हाल्न सक्छ ? आजभोलि प्रत्येक राजनीतिक दलहरू सेना, बन्दुक, गुण्डागर्दीमा विश्वास गर्दै बेलायतीहरूले दरोगा र जमिनदार अनि डाँकाहरूमार्फत आफ्नो शासन बलियो बनाएझैं त्यही शैलीमा नेपालमा पनि आफू बलियो हुने विश्वास राख्दै छन् । जब तिनीहरू नै सरकारमा पनि छन् भने तिनकै राजनीतिक आडमा हुने अराजकताबाट आमजनतालाई कसले जोगाउन सक्छ ? सुरक्षा इकाइका प्रमुखहरूको भूमिका अहिले ब्रिटिसको पालामा जमिनदारको दबदबा कायम राख्न दरोगाले तिनलाई सहयोग गरेकोभन्दा फरक छैन । त्यो सुरक्षाफौजबाट आमजनताको हकमा काम कसले गराउन सक्छ ? माथिल्लो तहमा ब्रह्मलुट छ, बजेटको बाँडफाँड पार्टीगत हितमा छ, कर्मचारीहरूलाई सातोपुत्लो खाएर ब्रिटिस हुकुमतमा जस्तै गरी तर्सर्ाा राखिएको छ यो अराजकता रोक्ने कुन मेकानिजम छ ? उद्योगधन्धा बन्द हुँदै छन्, गरिबीको अवस्था झन्झन् आकासिँदै छ, पिउनलाई शुद्ध पानी छैन, खानलाई शुद्ध खाना छैन, जनता यतै ठगिएका छन् उतै ठगिएका छन्, तिनको दुःख बुझ्ने को छ ? तस्करी सरकारको र जनप्रतिनिधिको मिलोमतोमा भइरहेको छ, चुरे र जङ्गल अनि जङ्गली जनावरहरू ध्वस्त हुँदै छन्, सबैभन्दा बढी पैसा राजनीतिक पार्टीहरूलाई आफैंलाई चाहिएको छ, यस्तो बेलामा माथिका अराजकता कसले रोक्ने ? कसको हिम्मत छ ? नेपाली दैनिक हजारौँ अरबका खाडीमा शौचालय सोर्न जान बाध्य छन् भने सयौँ भारतीय वेश्या कोठीहरूमा बेचिन बाध्य छन्, तिनलाई रोक्ने कसको चाहना छ ? तिनलाई आफ्नै देशमा सम्मानजनक काम दिने कसको भावना छ ? बाटोघाटोहरू इनारझैं खाडल परेका छन्, देशमा झन्डै नौ महिना ब्ल्याकआउट हुन्छ, उद्योगधन्दा गुण्डागर्दी र राजनीतिक कारणले ध्वस्त हुँदै छन् । अपहरण कार्यर् धन कमाउने व्यवसायझैं गरी चलाइएको छ । खोलानाला र प्रकृति, ढुङ्गा, बालुवा झिक्नेहरूले कुरूप बनाइदिएका छन्, खेतीमा सिँचाइ छैन, खानलाई अन्न छैन, जो देश चलाउँछु भनेर गएका छन् तिनलाई आफू प्रधानमन्त्री र मन्त्री बन्नेबाहेक अरू केही धुन छैन, यो कसले हर्ेर्ने –
नेपालको दुर्दशाको अवस्था यहाँ लेखेर भ्याइन्न, तर पङ्क्तिकारले यो पनि बुझ्न सकेको छैन कि यी सब विकृति र अराजकता आखिर कसले हटाइदिन्छ भनेर हामी कुरिरहेका छौँ ? त्यो प्रधानमन्त्रीबाट जो आफैं पार्टी चलाउने खर्चस्रोत देशलाई बनाउन व्यस्त छन् । आफू प्रधानमन्त्री बन्न सांसद किन्न तयार छन् ? त्यो संविधानसभाबाट जो भत्ता खाएर समय लम्ब्याइ त्यही पदमा बसिरहने चाहना राख्छन् ? त्यो अख्तियारबाट जो तल्ला कर्मचारीविरुद्ध जबर्जस्ती कारबाही चलाई नेताहरूको भ्रष्टाचारबाट सफाइ दिन र आफू पनि त्यो पदको आडमा पैसा कमाउन व्यस्त छन् ? त्यो राजनीतिक नेताहरूबाट जो गुण्डा पाल्न र छुटाउन आफैं व्यस्त छन् ? त्यो पुलिसबाट जो आफैं गुण्डा तस्करबाट मिलेर पैसा खान र नेतालाई पैसा दिएर मेरो उन्नति हुन्छ भन्ने मान्यता राख्न विवश छन् ? त्यो प्रशासक वा न्यायालयबाट जो केवल सत्तामा आउने राजनीतिक पार्टीको स्वार्थ पूरा गर्न हतियारको रूपमा काम गर्न नै सधैं विवश छन् ?
वास्तवमै नेपालमा अहिले ब्रिटिस हुकुमतको झैं अवस्था छ जहाँ शासकहरूले सेना, प्रहरी, गुण्डा, कार्यकर्ताद्वारा आमनागरिकमाथि अकल्पनीय रूपमा शोषण गरिरहेका छन् । राज्य चलाउनेहरू नै गैरजिम्मेवार बनेका छन् र उनीहरूलाई कसैबाट डर छैन । जनताबाट त बिलकुलै डर छैन । प्रशासक, न्यायकर्मी, अख्तियार, सुरक्षाफौजहरूमा तिनका आदेश पालना गर्ने नै मानिसहरूबाट परिचालित छन् । यस्तो समयमा यो भयङ्कर प्रकोपबाट आमनेपालीलाई जोगाउन अब नेपालमा पनि कुनै व्यक्ति, कुनै संस्था, कुनै विचार अगा डि आउन जरुरी भइसकेको छ जसले आमनेपालीलाई साथमा लिएर भुइँमा न भाँडा भएको सरकारलाई सही बाटोमा ल्याउन सकोस् । नत्र यो मुलुक गरिबीको चरम बिन्दुमा, सुरक्षाको दृष्टिले विश्वकै असुरक्षित र राष्ट्रियताको हिसाबले चिराचिरामा विभाजित हुने निश्चित छ । हाम्रा नेताहरूका मार्गदर्शक चीन, रुस, कोरिया, अमेरिकालगायत मुलुकका नेताहरू भएका देखिन्छन् तर तत्कालका लागि त अन्ना हजारेको बाटो नेपालीलाई जरुरी छ ।