निर्वाचनको बाढी लिलिपोटहरूको पत्तासाफ-श्रीविक्रम भण्डारी

निर्वाचनको बाढी लिलिपोटहरूको पत्तासाफ-श्रीविक्रम भण्डारी


वर्षात्को मौसमसँगै अहिले खेलकुदमा पनि निर्वाचनको बाढी आएको छ । साँच्चै भन्नुपर्दा अहिले खेलकुद, खेलकुदमय भएको छ । हिजोसम्म वर्षको एउटै प्रतियोगिता आयोजना नगर्ने र कानमा तेल हालेर कुम्भकर्णको निद्रामा सुत्ने सङ्घहरू अहिले एक्कासि ब्युँझेको देख्दा पत्यार लाग्न गाह्रो भएको छ । अझ ती खेलकुद सङ्घहरूले भटाभट प्रतियोगिताहरूको आयोजना र निर्वाचन गरेको देख्दा सबै आर्श्चर्यचकित भएका छन् । उनीहरूको उत्साह र खेलकुदप्रतिको लगाव देख्दा खेलकुदमा साँच्चिकै रौनकता छाएको छ । हिजोसम्म राष्ट्रिय खेलकुद परिषद्को वार्षिक बजेटमा रमाउने र खेलको विकासका लागि सिन्कोसमेत नभाँच्ने सङ्घहरूको यस्तो गतिविधिले अहिले खेलाडी र खेलप्रेमीलाई आर्श्चर्यमा पारेको छ । उनीहरू सबै सूर्य पश्चिमबाट उदाएको देख्दा रनभुल्लमा परेका छन् । आखिर खेलकुदमा अहिले जे भइरहेको छ त्यो कल्पनाबाहिरको भइरहेको छ ।
तसर्थ अहिले प्रश्न खडा भएको छ, उनीहरूमा आफ्नो जिम्मेवारीको बोध कसरी आयो त ? खेलकुदप्रतिको लगावले त पक्कै होइन, त्यो होइन भने वास्तविकता के हो त ? त्यो आमखेलप्रेमीको चासोको विषय बनेको छ । प्रजातन्त्रको उदयसँगै खेलकुदमा मच्चिएको भाँडभैलोले खेलकुदलाई अघोगतितर्फ उन्मुख गराएको कसैबाट छिपेको छैन । त्यसबेला नीति-नियमभन्दा पनि व्यक्तिगत स्वार्थ र राजनीतिक हस्तक्षेपको सिकार बनेको थियो खेलकुद । जुन यद्यपि जारी छ । तर, अहिले पनि राजनीति हावी भएको खेलकुदमा कसरी सङ्घका पदाधिकारीमा सद्बुद्धि आयो त्यो कसैले बुझ्न सकेका छैनन् । अड्कल र अनुमान लगाउने हो भने यो परिवर्तनको सङ्केत ‘डर’ नै हो भन्दा अतिशयोक्ति नहोला । हिजोसम्म छाडा गोरुको भूमिका निभाइरहेका सङ्घहरूलाई जब राखेपले ६० दिने म्याद दिएर नाकमा रस्सी लगायो तब उनीहरूको होस खुलेको अहिले यत्रतत्र सर्वत्र चर्चा भइरहेको छ । अन्यथा राजनीतिक आडमा आफ्नो दुनो सोझ्याउँदै आएका सङ्घहरूले कदापि खेलकुदको भलो हुने कार्य गर्ने थिएनन् ।
आखिर ‘डर’ नै रहेछ सबथोक । डरले गर्दा नै आज सबैले प्रजातान्त्रिक पद्धतिलाई आत्मसात् गर्न पुगेका छन् । अहिले प्रत्येक दिन खेलकुदमा सङ्घहरूको पुनर्गठन भएको समाचार सुनिनमा आएको छ । खेलकुदमा प्रवेशसँगै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले खेलकुदको समग्र विकासका लागि निष्त्रिmय सङ्घहरूलाई खारेजी गर्ने निर्णय गरेका थिए । लामाको यो निर्णयसँगै खेलकुदको स्थान मात्रै ओगटेका र त्यहाँ वर्षौंदेखि हालिमुहाली र तानाशाही चलाउँदै आएकाहरूको सातोपुत्लो उडेको थियो । यसरी समयअनुसार चल्न जानेका अर्थात् ‘गंगा आए गंगाराम, जमुना आए जमुनाराम’को भूमिका निर्वाह गरिरहेका चाकरी र चाप्लुसीवाजहरूको निद हराम हुनु स्वाभाविकै थियो । अझ सदस्यसचिव लामाले खेलकुदका लिलिपोट राजाहरूलाई नियम-कानुनको परिधिमा नबसे कोर्रा हान्दै लखेट्ने शंखनाद गरेपछि यो अवस्थाको सिर्जना भएको हो ।
आखिर अहिले खेलकुदमा जे भएको छ, त्यो ठीक भएको छ । कसैले लामाको यो कार्यशैलीलाई तानाशाही र अवैधानिक भने पनि लामाको यो निर्णयले वर्षौंदेखि तदर्थवादमा जिउँदै र चल्दै आएका खेलकुद सङ्घहरूको परम्परालाई तोडेको छ । यो कार्यले खेलकुदमा प्रजातान्त्रिक अभ्यासको थालनी भएको छ भने खेलकुदमा सकारात्मक सन्देश गएको छ । हो, लामा आफ्नो उद्देश्य पूर्ति गर्न र खेलकुदको विकास गर्ने क्रममा कहीँ चुकेका पनि छन् । उनले नीति-नियमहरूलाई धोती पनि लगाइदिएका छन् । तर, त्यो उनको बाध्यता थियो । वास्तविक रूपमा भन्नुपर्दा लामाले अनियमितता, अपारदर्शिता, भ्रष्टाचार र गैरकानुनी हरकतलाई रोक्न त्यसो गरेको प्रस्ट रूपमा देखिएको छ । यसको विरोधभन्दा सबैले स्वागत गर्नुपर्छ । आफ्नो स्वार्थभन्दा पनि समग्र खेलकुदको विकासलाई मध्यनजर गरेर कसैले आफ्नो शक्तिको सही समयमा प्रयोग गर्छ भने त्यो बुद्धिमानी ठहरिन्छ । लामाले पनि यसै गरेका हुन्, यसमा उनलाई कदापि दोष दिन मिल्दैन । सितोरियो करातेको विघटन र पुनर्गठनमा लामाले उठाएको कदम यस्तै थियो । लामाले करातेका कलङ्कहरूलाई पन्छाउने क्रममा आफ्नो स्वार्थभन्दा पनि करातेको स्वार्थलाई अगाडि सारेका थिए । अन्यथा अहिले करातेको अध्यक्षमा दावा गुरुङ कदापि हुने थिएनन् होला । राजनीतिक रूपले हेर्दा पनि छत्तीसका आँकडा भएका काङ्ग्रेसी दाबालाई करातेमा ल्याउनुले पनि लामाको खेलकुदको धारणालाई प्रस्ट्याएको छ । लामाको नियत खराब भएको भए उनी माओवादीको मान्छे राख्न सक्थे तर लामाले त्यसो गरेनन् । उनले करातेलाई हाँक्न सक्ने र सही मार्गदर्शन प्रदान गर्न सक्ने व्यक्तित्वको खोजी गरेर जिम्मेवारी सुम्पिए । लामाको यही खासियतले गर्दा अहिले उनी छोटो समयमा चर्चाको शिखरमा पुग्न सफल भएका छन् ।
सङ्घहरूलाई ६० दिने समय सीमा तोकेपछि अहिलेसम्म करिब ५० वटा सङ्घहरूको निर्वाचन भइसकेको छ । यो नेपाली खेलकुदको ऐतिहासिक उपलब्धि हो भन्दा अतिसयोक्ति नहोला । अझ केही सङ्घहरूले १५ दिनको थप समय मागेका हुनाले केही दिनमै निर्वाचित सङ्घहरूको सङ्ख्या ६० काट्ने थाहा भएको छ । केही समय पहिलेसम्म औंलाले गन्न सकिने सङ्घहरू मात्र निर्वाचित भए पनि अहिले सदस्यसचिव लामाको दूरगामी सोच र दृढ आत्मविश्वासको प्रभावले खेलकुदको नौलो खाका कोरिन पुगेको छ । जुन आफैंमा प्रशंसायोग्य छ भने खेलकुदका लागि सञ्जीवनी बुटी । तसर्थ स्वच्छ र स्वस्थ खेलकुद बनाउन लामाले जुन रणनीति अख्तियार गरेका छन् त्यो समग्र खेलकुदको विकासका लागि कोसेढुङ्गा हुने विश्वास गर्न सकिन्छ । खेलकुदमा आफ्नो पार्टीको डम्फु बजाउँदै राजनीति गर्नेहरूलाई ढोका बाहिरै बस्न आग्रह गरेकै कारणले राजनीतिक पार्टीको चुनौतीसमेत झेलिसकेका लामा अहिले पनि आफ्नो उद्देश्य र प्रतिबद्धतामा अडिग रहेका छन् ।
वर्तमान अवस्थामा छैटौँ राष्ट्रिय प्रतियोगिताप्रति आफ्नो ध्यान केन्द्रित गरेका लामाले यसको सफल आयोजनपछि मात्रै राहतको सास फेर्ने प्रतिबद्धता जाहेर गरेका छन् । लामाले एकपटक प्रतियोगिताको आयोजनाबाट वञ्चित र दोस्रोपटक स्थगित भएपछि सुदूरपश्चिमको मानसम्मान र प्रतिष्ठा दाउमा लागेको कुरालाई आत्मसात् गर्द जसरी भए पनि तोकिएको समयमा राष्ट्रिय प्रतियोगिता सुदूरपश्चिममा गर्ने निर्णय गरेका छन् । जसका लागि सरकारले विनियोजन गरेको बजेटलाई मध्यनजर गर्द ६ महिनाभित्रमा भौतिक संरचनाहरूको निर्माण र पुनरि्नर्माणमा लामा जुटिसकेका छन् । स्मरण रहोस्, आगामी फागुनको पहिलो सातामा सुदूरपश्चिममा छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना हुँदै छ । समयको पावन्दीसँगै जसरी भए पनि प्रतियोगिता गर्नुपर्ने बाध्यताले अहिले यो प्रतियोगिता सुदूरपश्चिमका लागि मात्रै नभई राखेपका लागि पनि प्रतिष्ठाको विषय बनेको छ । हेरौँ, राखेपले कस्तो रणनीति अपनाएर प्रतियोगितालाई सफलताको मूर्तरूप दिन्छ –

राखेपको गम्भीर आपत्ति
केही समय पहिले विघटन गरिएको नेपाल कराते महासङ्घको नाममा केही व्यक्तिहरूले वक्तव्यबाजी गरी कराते खेल र खेलाडीमा भ्रम फिँजाउने निन्दनीय प्रयास गरेकोमा राष्ट्रिय खेलकुद परिषद्लेे गम्भीर आपत्ति प्रकट गरेको छ । राखेपले चीनको गोन्जाओमा सम्पन्न एकेएफ च्याम्पियनसिपमा नेपालमा छनोट नै नगरी मकाउबाट आफूखुसी खेलाडी सहभागी गराई ऐन-कानुन उल्लङ्घन गरी अन्तर्राष्ट्रियमा नेपालको घोर बेइज्जती गर्ने, नौ वर्षदेखि सङ्घको साधारणसभा नगरेर सङ्घलाई वैधानिकता दिन नसक्ने, नेपाल सरकारले दिएको पुरस्कारको राशि र रकमहरू हिनामिना र अपचलन गर्ने, कराते खेलको विकासमा अवरोध पुर्‍याउनेजस्ता कार्य गरेकोले सितेरियो सङ्घलाई राखेपले पुनर्गठन गरेको प्रेस वक्तव्यमा जनाएको छ । साथै कराते सङ्घले गरेका यस्ता निन्दनीय अपराधको तथ्यका आधारमा हाल राखेपले छानबिन गरिरहेको बताएको छ । त्यस्तै तत्कालीन नेपाल कराते महासङ्घमा सितेरियो, गोजुरियो, सोतोकान र बादेरियो कराते सङ्घहरूको कुनै पनि प्र्रतिनिधित्व नरहेको जानकारी गराउँदै उक्त महासङ्घ खारेज भएको राखेपले उल्लेख गरेको छ । साथै पुरेन्द्रविक्रम लाखे र केदारबाबु सिवाकोटीले खेलाडी र खेल जगत्मा भ्रम पिँmजाउने कार्य गरेको आरोप लगाउँदै ती व्यक्तिले दिएको वक्तव्यको पछि नलाग्न र भ्रममा नपर्न सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीलाई राखेपले अनुरोध गरेको छ ।

भारोत्तोलनको अध्यक्षमा टन्डन
रतनकुमार टन्डन नेपाल भारोत्तोलन सङ्घको अध्यक्षमा निरि्वरोध चुनिएका छन् । नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा सम्पन्न सङ्घको पहिलो साधारणसभाले टन्डनको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमितिको निरि्वरोध चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षत्रयमा सुरेन्द्रबहादुर हमाल, सुनीललाल जोशी र सीताराम मास्के रहेका छन् भने महासचिवमा पार्थसारथी सेन गुप्ता, सचिवमा तिलकबहादुर राउत, सहसचिवमा सञ्जय महर्जन तथा कोषाध्यक्षमार् इश्वरबहादुर श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरूमा समसुद्दिन सिद्धिकी, अमरचन्द्र अनिल, सुरेन्द्र मकाजु, प्रदीपकुमार श्रेष्ठ, सन्तोष चौधरी, लवदेव पन्त, सूर्यनाथप्रसाद यादव तथा विजेन्द्रविक्रम शाह चयन भएका छन् । साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा लामाले सङ्घहरूलाई आफूलाई अनुकूल हुने गरी ऐन र नियमको व्याख्या नगर्न बताउँदै खेलकुदमा रहेका अराजकता, आर्थिक अनियमितता र खेलकुदको नाममा हुने मानव तस्करको अन्त्य गर्ने बताउनुभयो । उद्घाटनका अवसरमा भारोत्तोलनका अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई सम्मान गरिएको थियो ।

छैटौँमा ठेकेदारी प्रथाको अन्त्य हुने
सुदूरपश्चिमाञ्चमा हुने छैटौँ राष्ट्रिय खेलकुदको पूर्वतयारीको विषयमा छलफल, विचार, विमर्श एवम् सूचना प्रवाह गर्नका लागि राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित ‘छैटौँ राष्ट्रिय खेलकुद- २०६८ बृहत् केन्द्रीय कार्यशाला गोष्ठी हालै सम्पन्न भएको छ । कार्यक्रममा मन्त्री ओनसरी र्घर्तीले मन्त्रालयले अहिले केन्द्रबिन्दुमा राखेको कार्यक्रम नै छैटौँ राष्ट्रिय खेलकुद भएको बताउँदै विगतमा के भयो भन्ने कुरालाई छाडेर सकारात्मक ढङ्गले छैटौँ खेलकुदलाई सफलतापूर्वक सम्पन्न गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएकी थिइन् । मन्त्री र्घर्तीले सक्षम खेलाडीले अवसर नगुमाउन् भन्नेमा सबैले ध्यान पुर्‍याउन आवश्यक रहेको स्पष्ट पारेकी थिइन् । त्यस्तै, राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनाले छैटौँलाई सफलतापूर्वक सम्पन्न गर्न सबै लागि पर्नुपर्ने बताएका थिए । सो अवसरमा राखेप सदस्यसचिव युवराज लामाले पाँचौँमा भएको ठेकेदारी प्रथा छैटौँमा नदोहोरिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले छैटौँका लागि जति पनि काम अगाडि सारिएको छ त्यसबाट पछि हट्ने अवस्था नरहेको बताउँदै यदि कसैले छैटौँका लागि अहिलेसम्म गरिएको कार्य फर्काउन खोजे त्यो आफंै ध्वस्त भएर जाने बताउनुभयो । राखेप कोषाध्यक्ष इन्द्रबहादुर थिङले गोष्ठी आयोजनाको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
गोष्ठीमा विभिन्न क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष, युवा तथा खेलकुद मन्त्रालयका सचिव श्रीराम पन्तले राष्ट्रिय सङ्घका तर्फबाट नेपाल भलिबल सङ्घका अध्यक्ष गंगाबहादुर थापा र नेपाल जिम्न्यास्टिक सङ्घका अध्यक्ष किशोरबहादुर सिंह तथा प्रशिक्षकको तर्फबाट पार्थसारथी सेन गुप्ताले छैटौँ अगाडि हुने जिल्ला, क्षेत्रीय प्रतियोगितालाई कसरी सञ्चालन गर्ने, जनशक्ति परिचालनलगायतका विषयमा धारणा प्रस्तुत गरेका थिए । गोष्ठीमा पाँचै क्षेत्रीय खेलकुद विकास समितिका पदाधिकारी र सचिव, जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरू, राष्ट्रिय खेल सङ्घका पदाधिकारी, प्रमुख प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो ।

राखेप हातामा कभर्डहल शिलान्यास
राष्ट्रिय खेलकुद परिसर हातामा रहेको एउटै कभर्डहलले धेरै खेलको प्रतियोगिता र प्रशिक्षणको भार धान्नुपर्ने बाध्यतालाई महसुस गरी राखेपले आफ्नै हातामा अर्को कभर्डहल निर्माण गर्ने भएको छ । हालको बहुउद्देश्यीय कभर्डहलको पूर्वमा रहेको खाली ठाउँमा खुला कभर्डहल बन्न लागेको हो । खुला कभर्डहलले चार सय ५२ दशमलब ५९ वर्गमिटर क्षेत्रफल ओगट्नेछ । त्यसको लम्बाइ २७.४३ मिटर र चौडाइ १६.५ मिटर रहनेछ । ३ महिनाभित्र निर्माणकार्य पूरा हुने उक्त खुला कभर्डहलको लागत खर्च ५० लाख रुपैयाँ रहेको छ । राष्ट्रिय खेलकुद परिषद् -राखेप) का सदस्यसचिव युवराज लामाले आइतबार कभर्डहलको शिलान्यास गर्नुभयो । ‘खुला कभर्डहल निर्माणकार्य सकिएपछि परिषद्मा रहेको एक मात्र कभर्डहलले धान्नुपर्ने थुप्रै प्रतियोगिता र प्रशिक्षणको भारमा निकै कमी आउनेछ, शिलान्यासपश्चात् सदस्यसचिव लामाले भन्नुभयो ।

मोटरर्‍यालीमा राजेशले सबैलाई पछारे
नेपाल अटोमोबाइल्स स्पोर्टस् एसोसिएसन -नासा) द्वारा नाडा अटो सो तथा टुरिजम इयर २०११ को उपलक्ष्यमा आयोजित तेस्रो सिन्सियर सिटिजन मोटर र्‍यालीमा राजेश खड्गीले ४२ प्रतिस्पर्धीलाई पछि पार्द पहिलो स्थान हासिल गरेका छन् । उनको नेभिगेटरमा मोहन अर्याल थिए । र्‍यालीमा दोस्रो स्थान सुवास शर्मा र नेभिगेटर दीपक दत्त र तेस्रो स्थान उपन्द्र प्याकुरेल र नेभिगेटर राजन तन्डुकारले प्राप्त गरेका थिए । ललितपुरस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरबाट सुरु भएको १९२.७ किमिको मोटरर्‍याली लेखनाथ नगरपालिकाको सैनिक मैदानमा आएर अन्त्य भएको थियो । उक्त दूरीको समय पाँच घन्टा १४ मिनेट निर्धारण गरिएको थियो । त्यसपश्चात् मोटरर्‍याली पोखराको पृथ्वीचोक, नयाँसडक, चिप्लेढुङ्गालगायत नगर परिक्रमा गरी नयाँसडकस्थित दीपेन्द्र सभागृहमा आएर टुङ्गिएको थियो । प्रतियोगितामा पहिलो स्थान हासिल गर्नेले ४४, द्वितीयले २२ र तेस्रो हुनेले ११ हजार नगद, सिल्ड र प्रमाणपत्र प्राप्त गरेका थिए ।