आफ्नै पार्टी र सत्तासाझेदार मोर्चा नै डा. भट्टराईका प्रमुख चुनौती हुन् -नरहरि आचार्य (नेता, नेपाली काङ्ग्रेस)

आफ्नै पार्टी र सत्तासाझेदार मोर्चा नै डा. भट्टराईका प्रमुख चुनौती हुन् -नरहरि आचार्य (नेता, नेपाली काङ्ग्रेस)


० नवनिर्वाचित प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई तपाईं कुन रूपमा चिन्नुहुन्छ ?
– ‘प्रधानमन्त्री बाबुराम’लाई त चिन्न बाँकी नै छ, अब चिन्नुपर्ला । तर, माओवादी नेता डा. बाबुराम भट्टराईलाई त चिनिँदै आएको हो । भन्ने नै हो भने सानै उमेर या विद्यार्थी हुँदादेखि नै चिनेको हुँ । ०४६ को आन्दोलनको पूर्वसन्ध्यामा प्रोफेसनल सोलिडाइरेटी गु्रपमा त सँगै बसेर काम पनि गरियो । उहाँलाई उहाँका लेख-रचना तथा अभिव्यक्तिमार्फत पनि चिन्ने गरेको हुँ मैले ।
० कस्तो व्यक्ति भन्न रुचाउनुहुन्छ त तपाईं उहाँलाई ?
– उहाँको व्यक्तित्वका बारेमा धेरै बताइरहनुपर्छ जस्तो लाग्दैन मलाई । उहाँलाई धेरैले चिनिसकेकै छन् । उहाँ एक सम्भावना भएको व्यक्ति हुनुहुन्छ । तर, मानिसले कुन भूमिकाका लागि कस्तो सम्भावना देखाउन सक्छ भन्ने महत्त्वपूर्ण पक्ष हो । अहिलेसम्म बाबुराम भट्टराईले सधैं दोस्रो भूमिकामा रहेर काम गर्नुभयो, अब पहिलो भूमिका उहाँलाई हासिल भएको छ । अर्थात्, दोस्रो व्यक्तिका रूपबाट उहाँले पहिलो व्यक्ति बनेर काम गर्ने अवसर पाउनुभएको छ । कार्यकारी हिसाबले मुलुकको पहिलो व्यक्तिका रूपमा उहाँ कति खरो उत्रिनुहुने हो, हेर्न बाँकी नै छ । सम्भावना त प्रशस्तै छन् तर उहाँका अगाडि चुनौती पनि त्यत्तिकै छन्, यससँग कसरी उहाँले मुकाबिला गर्नुहुन्छ- त्यो हेरेपछि मात्रै उहाँबारे बोल्न सकिन्छ, बोल्नुपर्छ ।
० तैपनि बिहानीले दिनको सङ्केत गर्छ भनिन्छ, यसका आधारमा भन्नुपर्दा त डा. भट्टराईबाट धेरै काम हुनै सक्दैन र ?
– यसअघि प्रचण्डजीका बारेमा पनि यस्तै धारणा बनाएका थियौँ हामीले । व्यक्तिगत रूपमा मैले त उहाँबाट नेपालको शान्ति, संविधान एवम् गणतन्त्रलाई व्यवस्थापन र संस्थापन गर्ने सवालमा व्यापक काम हुन्छ भन्ने अपेक्षा गरेको थिएँ । सार्वजनिक भएर बालुवाटारबाट बाहिर निस्कँदा प्रचण्डबाट मुलुकका हितहकमा अपेक्षा नगर्ने को होला । तर, त्यो आमअपेक्षा कता पर्‍यो प्रचण्डको काम कुरा कता पर्‍यो- यो त हाम्रासामु छर्लङ्ग नै छ । बाबुरामजीका बारे पनि यस्तै नहोला भन्न नसकिने आधार छैन । पहिलो कुरा त उहाँले सानो छरितो मन्त्रिमण्डल बनाउन सक्नुहुने हो कि होइन भन्नेमा सचेत तप्काको नजर अडेको छ यतिखेर । सङ्क्षिप्त स्वरूपको मन्त्रिमण्डल बनाउन सक्नुभएन भने उहाँ आशा गर्नेहरूलाई पहिलो धक्का नै त्यहीँबाट लाग्छ भन्ने मेरो बुझाइ छ । त्यसो भयो भने उहाँ पनि सनातनमै जानुहुनेछ ।
० कस्तो या कत्रो मन्त्रिमण्डल बनाउनुपर्छ भन्ने लाग्छ तपाईंलाई ?
– सकेसम्म १५ जना नकटाउने ! अझ एघारैले पनि पुग्ने हो । कम्तीमा पनि शान्तिप्रक्रिया र संविधान घोषणा नभएसम्मका लागि यस्तै छरितो मन्त्रिमण्डल रहनुपर्छ । उहाँ सोचेझैं सफल हुन पनि सक्नुहोला र असफल हुन पनि सक्नुहोला, तर उहाँले छरितो मन्त्रिमण्डल बनाएर अघि बढ्ने आँट गर्न सक्नुभयो भने एउटा सफलता त म त्यसलाई नै मान्छु ।
० आमधारणा त यही हो कि एउटा योग्य व्यक्ति मुलुकको प्रधानमन्त्री बनेको छ, डा. बाबुराम भट्टराईको यो योग्यता उहाँका अघिल्तिर चुलिएका चुनौतीका पहाड फोड्न सामर्थ्यवान छ कि छैन होला ?
– हामीले व्यक्तिलाई योग्य देखेर मात्र नहुँदोरहेछ भनेर मैले भनिसकेँ नि ! प्रचण्डजी नौ महिनामै पद छोड्नुपर्ने अवस्थामा पुग्नुभयो । हामी प्रतिपक्षीहरूले अप्ठ्यारोमा पारेर, अवरोध सिर्जना गरेर उहाँलाई त्यो अवस्था आएको थिएन, बरु उहाँका सबैभन्दा नजिकका मित्र झलनाथजीले नै त्यतिबेला प्रचण्डजीलाई पत्याउनुभएन र एक नम्बरमा हस्ताक्षर गरेर राष्ट्रपतिकहाँ निवेदन हाल्न पुग्नुभयो । नेपालका प्रधानमन्त्रीहरूमा एउटा के विशेषता देखिँदै आएको छ भने आफ्ना कार्यकर्ताको व्यवस्थापन गरेर उनीहरूलाई खुसी तुल्याउन सकियो भने आफू सफल भएको ठान्ने ? कार्यकर्ता र पार्टीलाई सन्तुष्ट पार्ने अति चुनाव जित्ने भन्ने मात्र उनीहरूको ध्याउन्न रहेको पाइन्छ । म दाबीका साथ भन्छु कि पार्टी-कार्यकर्ताको व्यवस्थापनलाई नै आफ्नो सफलता ठान्ने सोचभन्दा माथि अहिलेसम्म कुनै पनि प्रधानमन्त्री उक्लन सकेको छैन । ०४६ सालअघिको कुरा त म गर्न चाहन्न तर त्यसयता सफल भनिएका प्रधानमन्त्रीले गरेको काम त्यत्ति हो । अब डा. बाबुराम भट्टराई पनि यसरी कार्यकर्ता रिझाउनुपर्ने बाध्यतामै अड्कनुहुने हो या त्यसबाट फुत्किएर देशका लागि केही गर्न सक्नुहुने हो भन्ने अहिले नै किटान गरिहाल्न म सक्दिनँ ।
० प्रतिपक्षी नेपाली काङ्ग्रेसले चाहिँ उहाँलाई क्षमताअनुसारको काम गर्ने मौका दिने हो कि होइन नि ?
– किन नदिने ? काङ्ग्रेसका संसदीय दलको नेता तथा डा. भट्टराईकै हिजोका प्रतिस्पर्धी रामचन्द्र पौडेलले पनि भनिसक्नुभएकै छ कि सरकारका रूपमा त हामी गुण-दोषलाई हेछौर्ं- व्यवस्थापिका संसद्मा एउटा प्रमुख प्रतिपक्षी हुनुको नाताले । तर, संविधानसभाले गर्नुपर्ने कामतिर काङ्ग्रेसको प्रमुख चासो छ । प्रधानमन्त्री नै विशेष समितिको अध्यक्ष हुने भएकोले सरकारका रूपमा उनले शान्तिप्रक्रियाका बाँकी रहेका काम पूरा गर्नुपर्‍यो, साथसाथै संविधान निर्माण सम्पन्न गर्नुपर्‍यो । संविधान निर्माण गर्ने काम संविधानसभाको भएकोले त्यसका लागि हामी माओवादीसँग मिलेर नै अघि बढ्छौँ, बाटो सहज तुल्याउन आफ्नोतर्फबाट पूरा सहयोग गर्छ काङ्ग्रेसले सहकार्य नै गछौर्ं हामी शान्तिप्रक्रियाका लागि पनि । तर, हामी प्रमुख प्रतिपक्षी भएको हुनाले संसद्मा चाहिँ गुणदोषका आधारमा हामी मूल्याङ्कन गरी व्यवहार गर्र्छौं । पौडेलजीले व्यक्त गर्नुभएको यो कुरा नै मलाई लाग्छ मोटामोटी रूपमा काङ्ग्रेसको आधिकारिक धारणा नै हो । मचाहिँ के पनि भन्न चाहन्छु भने संविधानसभा निर्वाचनपछिको उहाँ (डा. भट्टराई) चौथो प्रधानमन्त्री हुनुहुुन्छ । साढे तीन वर्षमै हामी चारजना प्रधानमन्त्री बनाउनुपर्ने अवस्थामा छौँ । यो विचारणीय कुरा हो । नेपालका कम्युनिस्ट दलहरूले भन्दै आएका छन् कि संसद्मा हाम्रो ६५ प्रतिशत सङ्ख्या छ भनेर, त्यसअनुसार कम्युनिस्टहरूबाटै प्रधानमन्त्री बनाइआएका छन्, यसरी चार-चारवटा प्रधानमन्त्री फेर्न या बनाउन सकेकोमा उनीहरूलाई बधाई त भन्नैपर्ला । तर टिकाउन र काम गराउन सकेका छैनन् । यस्तो परिवेशमा बाबुरामजी आउनुभएको छ, मान्छे असल हुनुहुन्छ, हिजो अर्थमन्त्रीका रूपमा पनि रामै्र काम गरेर चर्चा पाउनुभएको हो । तर, हिजो अर्थमन्त्री हुनु र अहिले प्रधानमन्त्री बन्नु एउटै कुरो होइन । हिजोको हिसाबले मूल्याङ्कन गर्नु त स्वाभाविक होला तर बाबुरामले नयाँ ढङ्गको प्रस्तुतीकरण दिन सक्नुभएन भने अप्ठ्यारो पर्छ उहाँलाई । हामी प्रतिपक्षीबाट भन्दा उहाँकै तिरबाट समस्या पर्न सक्छ ।
० भनेपछि उहाँ आफ्नो पार्टीगत अल्मल्याईमा अल्झनुभएन ?
– हो, म मुलुकका लागि प्रधानमन्त्री भएको छु, अत्यन्त अप्ठ्यारो अवस्थामा मैले जिम्मेवारी पाएको छु भन्ने मनन गरेर यस्तो परिस्थितिमा गर्नुपर्ने काम या प्राथमिकता तय गरेर आँटका साथ उहाँले अगाडि बढ्ने कोसिस गर्नु अपरिहार्य छ । उहाँलाई अवसर छ तर सक्नुहोला-नसक्नुहोला त भन्न सक्दिनँ । यो अवसरलाई उहाँले चिन्न सक्नुहोला या नसक्नु होला, यो पनि म जान्दिनँ ।
० मधेसी दलहरूले त पैंतालीस दिन मौका दिने हो, सहमतिअनुसार काम गर्न नसके समर्थन फिर्ता लिन पनि सकिन्छ भनेर धम्क्याइसकेका छन् नि, यसबारे के भन्नुहुन्छ तपाईं –
– मधेसी मोर्चा त प्रधानमन्त्री बाबुरामका लागि चुनौती हुँदै हो तर त्यो त बाहिरी चुनौती मात्रै हो । उसले चुनौती दिए पनि यदि सही ढङ्गले हिँडेमा बाबुरामको सरकार समाप्त नै भइहाल्छ भन्न सक्दिनँ म । तर, उहाँलाई सबभन्दा पहिलो चुनौती त उहाँको आफ्नै पार्टीभित्रबाट आउने देख्छु म । त्यसलाई उहाँले कसरी म्यानेज गर्नुहुन्छ कुन्नि ? पार्टीभित्रबाट आएका कुरालाई उहाँले म्यानेज मात्र गर्न सक्नुपर्छ, पार्टीबाट आएका काम या कुरा हुन् भन्दै उहाँले त्यसलाई जथाभावी बोकेर या अपनाएर हिँड्नु थाल्नुभयो भनेचाहिँ उहाँ फेरि एउटा अर्को पुष्पकमल दाहाल मात्र बन्न सक्नुहुन्छ ।
० यतिबेला क्रम मिलाएर भन्नुपर्दा प्रधानमन्त्री बाबुरामका चुनौती काङ्ग्रेस, एमाले, मधेसवादी दल र उहाँको आफ्नै पार्टीमध्ये कुन-कुन हुन् ?
– नम्बर एक उहाँको आफ्नै पार्टी र दोस्रोमा उहाँसँगै सरकारमा बस्ने मधेसवादी मोर्चा नै उहाँका प्रमुख चुनौती हुन् ।
० नेपालको संसदीय इतिहासमै सम्भवतः काङ्ग्रेस र एमालेजस्ता महत्त्वपूर्ण दल एकसाथ प्रतिपक्षमा बसेका छन्, योचाहिँ चुनौती हुन सक्दैन र ?
– यो त बाबुरामजीका लागि एउटा अवसर पनि हो जस्तो लाग्छ मलाई । पटकपटक एकले अर्कोसँग सहकार्य गरेको, सघाएको एमालेले त्यत्तिकै माओवादी नेतृत्वको सरकारलाई आक्रमण गरिहाल्ला भन्ने मलाई लाग्दैन र रह्यो कुरा नेपाली काङ्ग्रेसको, उहाँहरू वनका कता कुना-कन्दरामा रहँदाखेरि नै, राष्ट्र अन्तराष्ट्रले ‘माओवादीलाई हेर्द नहेर, सुन्दै नसुन’ भन्दाभन्दै पनि उनीहरूलाई शान्तिप्रक्रियामा लिएर आएको काङ्ग्रेसले त झन् असान्दरि्भक तवरले उसलाई असफल तुल्याउने सोच र उद्देश्य राख्दै राख्दैन । त्यसैले ठूलाठूला पार्टीहरू अपोजिसनमा छन् भनेर अत्तालिनुपर्ने कुरै छैन । राम्रो काम गर्दा रचनात्मक हिसाबले सघाउने पार्टीहरू प्रतिपक्षमा छन् भनेर बुझन सक्नुपर्छ यतिबेला डा. भट्टराईले । उहाँलाई समस्या त सरकारमा गएकाहरूबाटै बढ्ता छ न कि प्रतिपक्षबाट । आफू अध्यक्ष हुँदाहुँदै बाबुरामजीलाई प्रचण्डले प्रधानमन्त्री बनाउनुभएको छ, आफू कमजोर भएकोले प्रचण्डले यसो गर्नुभएको पक्कै होइन, यो यथार्थ त बाबुरामजीले बुझनुभएकै होला ।
० नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै कार्यकालमा संस्थागत हुन सक्ला कि नसक्ला त बताइदिनुस् न ।
– हर्ेर्नुस्, मैले अघि नै भनेँ कि १५ जनाभन्दा कमको मन्त्रिमण्डल घोषणा गर्न उहाँले सक्ने कि नसक्ने भन्नेदेखि नै हेरेर मात्र त्यस्तो महत्त्वपूर्ण भविष्यवणी गर्न सकिन्छ । केही दिन उहाँका काम र कदम हेरिसकेपछि बताउन सकिन्छ यस्तो प्रश्नबारे त । ‘म त्यसो गर्न सक्दिनँ किनकि सबैको चित्त बुझाउनुपर्छ’ भन्न थाल्नुभयो बाबुरामजीले भने त उहाँ केवल फोटो टाँस्न गएको प्रधानमन्त्रीमै सीमित रहनुहुनेछ । उहाँले आफू मुलुकको कार्यकारी हिसाबले नम्बर एक व्यक्ति बनेको महसुस गर्न सक्नुभएको छ कि छैन ? यो अनुभूति गर्नुभएको छ भने त्यो व्यक्तिले कसरी काम गर्नुपर्छ भन्ने पनि उहाँले बुझनुपर्ने हुन्छ । आफ्नो पार्टी मात्रै, आफ्ना केही साथी मात्रै हर्ेर्नुपर्ने अवस्था पो आउने हो कि उहाँसामु ! उहाँको पार्टीका ठूलाठूला नेता त बाहिरै छन्, यो चुनौती कसरी फेस गर्नुहुन्छ, तिनलाई आदरसम्मानसहित व्यवस्थापन गर्न सक्नैपर्ने बाध्यता उहाँसामु छ । यस सँगसँगै ‘चुनौती नै चुनौती, अपेक्षा नै अपेक्षाबीच म देशको प्रधानमन्त्री बनेको छु, मैले गर्नुपर्ने धेरै छ र बाटो जटिल छ’ भन्ने बोध गरेर अघि बढ्नुपर्ने परिस्थिति प्रधानमन्त्री डा. बाबुराम भट्टराईका अघिल्तिर ठडिएको छ । साँच्चै यस चुनौतीका पहाडसँग जुझने आँट विवेकपूर्ण ढङ्गले प्रदर्शन गर्न सके धेरै काम हुन पनि सक्ला उहाँको कार्यकालमा । – ऋषि धमला