विप्लव नेतृत्वको नेकपामा नरहेको बन्दीहरुको दाबी

विप्लव नेतृत्वको नेकपामा नरहेको बन्दीहरुको दाबी


■ गोपाल भण्डारी, कपिलवस्तु

सार्वजनिक मुद्दामा वडा प्रहरी कार्यालय तौलिहवामा थुनामा रहेका तीन व्यक्तिले आफुहरु विप्लव नेतृत्वको नेकपामा नरहेको बताएका छन् । रुपन्देहीको सियारी गाउँपालिका वडा नं. ओर्लवाका ६४ वर्षीय विष्णु तिवारी, गैडहवा गाउँपालिका वडा नं. ६ मोजरहवाका ४५ वर्षीय रुदल यादव र लुम्विनी सांस्कृतिक नगरपालिका वडा नं. ८ भगतपुरवाका ५३ वर्षीय विक्रम यादवले आफुहरु कुनै पनि राजनैतिक पार्टीमा नरहेको बताएका हुन् ।

प्रहरीले आइतवार (५ असोज) सार्वजनिक मुद्दामा म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय तौलिहवा लगेको बेला जिल्ला प्रशासन कार्यालय परिसरमा घटना र विचार सम्वाददातासँग कुरा गर्दै उनीहरुले आफुहरु स्वतन्त्रपूर्वक एक साधारण नागरिकको रुपमा जीवनयापन गर्न चाहेको बताए । उनीहरुले आफुहरु विप्लव नेतृत्वको नेकपामा संलग्न नरहेको दाबी गरे ।

(प्रहरी हिरासतमा रहेका रुदल यादव र विक्रम यादव)

गत साउन ३१ गते रुदल यादव र विक्रम यादवलाई प्रहरीले उनीहरुको घरबाट राती ११ बजे सुतेको अवस्थामा पक्राउ गरेको थियो । विष्णु तिवारीलाई भदौ १ गते राती उनकै घरबाट राती पक्राउ गरी राज्यद्रोहको मुद्धा लगाई २५ दिन रुपन्देहीमा थुनामा राखेको थियो ।

२५औँ दिन जिल्ला अदालत रुपन्देहीबाट तारिखमा छुटेका उनीहरु तीन जनालाई प्रहरीले पुनः पक्राउ गरी एकापसमा झगडा गरी कुटपिट गरेको झुटो आरोप लगाई अदालत परिसरबाटै पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरुलाई रुपन्देही र कपिलवस्तुको सीमा क्षेत्र कोठी नदी पुल नजिक एकापसमा कुटपिट गरेको आरोपमा पक्राउ गरी उनीहरु उपर सार्वजनिक मुद्दा चलाएको छ । तर आफुहरु कुनै झैझगडा तथा त्यस्तो कुनै गैरकानुनी क्रियाकलापमा संलग्न नरहेको उनीहरुले बताए ।

पक्राउ परेका ६४ वर्षीय विष्णु तिवारी बिरामी रहेका छन् । यसरी थुनामै राखिरहँदा उनको स्वास्थ्य अवस्था थप बिग्रन सक्ने भन्दै परिवारजन चिन्तित बनेका छन् ।