आशा पलाएको छ – सुशील कोइराला(सभापति) नेपाली काङ्ग्रेस

आशा पलाएको छ – सुशील कोइराला(सभापति) नेपाली काङ्ग्रेस


नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला शान्तिप्रक्रिया निष्कर्षमा पुग्नेवित्तिकै लोकतान्त्रिक संविधान जारी हुनेमा ढुक्क हुनुहुन्छ । माओवादी अध्यक्ष प्रचण्डसँग दिनहुँ औपचारिक -अनौपचारिक कुराकानी गरिरहनुभएका कोइराला माओवादी लडाकु समायोजनको प्रक्रियामा साँचो हस्तान्तरणलाई एक कदम अगाडि बढेको घटना मान्नुहुन्छ । त्यागी, संघर्षशील र आफ्नो अडानमा सदा अविचलित रहने सभापति कोइरालासँग घटना र विचार साप्ताहिकका लागि ऋषि धमलाले गर्नुभएको कुराकानीको मुख्य अंश ः
साँचो हस्तान्तरणले शान्तिप्रक्रिया अगाडि बढ्ने संकेत देखाएको हो ?
कन्टेनरको साँचो हस्तान्तरण प्रक्रियाले शान्तिप्रक्रियामा केही आशा पलाएको छ । म अझै पनि माओवादी नेतृत्व प्रचण्ड र बाबुराम भट्टराईलाई विशेष आग्रह गर्न चाहन्छु कि शान्ति प्रक्रियालाई तारि्कक निष्कर्शमा पुर्‍याउन यो एउटा काम मात्रै पर्याप्त छैन । अब माओवादीले सेना समायोजनको मोडालिटी, संख्या, दर्जा र पुनर्स्थापनाको प्याकेजको प्रष्ट खाका ल्याएर ब्यवहारमै उतार्नु पर्छ । त्यो भयो भने मात्रै माओवादीलाई विश्वास गर्न सकिन्छ ।
काङ्ग्रेसको शान्तिप्रक्रियाको बटमलाइन के हो ?
हामी त प्रष्ट छाँै, बृहत शान्तिसम्झौता, अन्तरिम संविधान र विगतमा भएका सहमतिअनुसार नै शान्तिप्रक्रिया निष्कर्शमा पुर्‍याउनु पर्छ, त्यो नै काङ्ग्रेसको बटमलाइन हो । माओवादीको नेतृत्वमा सरकार बनेको छ, अहिले उसको लागि उपयुक्त समय र अवसर छ । आफ्नो नेतृत्वमा शान्तिप्रक्रिया निष्कर्षमा पुर्‍याएर उसले आफूलाई साँचो अर्थमा नागरिक पार्टी भएको देखाउनु पर्छ । माओवादीले हतियार राज्यलाई बुझाएर दीगो शान्तिको प्रत्याभुति नेपाली जनतालाई दिनुपर्छ ।
हतियार नबुझाएसम्म माओवादीलाई विश्वास गर्न सकिँदैन भन्ने काङ्ग्रेसको धारणा हो ?
काङ्ग्रेस लोकतान्त्रिक संविधान चाहन्छ । त्यसको लागि शान्तिप्रक्रिया पहिला टुङ्गिनै पर्छ ।
माओवादी जिम्मेवार भएको छैन र ?
पछिल्लो समयमा प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईसँग धेरै कुरा भएको छ । कुराकानीबाट केही मात्रामा भएपनि म आशावादी र विश्वस्त मैले गरेको छु तर त्यो व्यवहारमा उतार्नका लागि माओवादी नेतृत्वको लागि ठूलो अग्नीपरीक्षा छ । त्यसमा माओवादी खरो रुपमा उभियो भने मुलुकमा साँच्चिकै शान्तिप्रक्रिया टुङ्गोमा पुर्‍याउन सहमति बन्छ र संविधान पनि जारी हुन सक्छ । प्रचण्डजीलाई मेरो विनम्र आग्रह छ- शान्तिप्रक्रिया टुङग्याउनुस् र विश्वकै नेता बन्ने अवसरको सदुपयोग गर्नुस् । नेपाली जनताको चाहनालाई सहि रुपमा आत्मसाथ गर्नुस् । अब झुठो बोलेर र भाषण गरेर मात्रै हुँदैन, व्यवहारमा उतार्नुस् ।
माओवादीप्रति तपाईंको विश्वास बढेको हो कि टुटेको ?
१२ बुँदे सम्झौताबाट सुरु भएको शान्तिप्रक्रियाको एक प्रमुख घटक माओवादी हो । माओवादी र काङ्ग्रेसबीचमा शान्ति र संविधानको लागि न्यूनतम सहमति भइदियो भने धेरै समस्या समाधान हुन्छ । त्यसैले अहिले माओवादी नेतृत्वसँगको कुराकानीपछि केही मात्रामा म सकारात्मक भएको छु, तर परिणाम नआइकन केही भन्न सक्दिनँ । म नतिजाको प्रतीक्षामा छु ।
अब काङ्ग्रेस सरकारमा सहभागी हुन्छ ?
हामी सरकारमा त जाँदैजाँदैनौ, जाने सम्भावना छैन । तर पनि रचनात्मक प्रतिपक्षको भूमिका हामी निर्वाह गर्छौं ।
सरकारमा जान काङ्ग्रेसलाई केको आपत्ति ?
अहिले काङ्ग्रेसको ध्यान सरकारतिर नभई शान्ति र संविधानतिर छ । शान्ति र संविधानले नै मुलुकमा स्थायित्व ल्याउँछ । सरकार भनेको आउँछ, जान्छ । शान्ति प्रक्रिया टुङ्गिएपछि सबै कुरा मिल्छ ।
माओवादीले त काङ्ग्रेसलाई पनि सरकारमा ल्याउने भनेको छ नि त ?
अहिले त्यो सम्भव छैन । हामी सरकारमा नगइकन पनि शान्ति र संविधानको लागि पूर्ण रुपमा सहयोग र र्समर्थन गर्छौं । शान्तिको लागि यो सरकारले राम्रो काम गर्‍यो भने हामी कुनै र्सत नराखी सहयोग गर्छौं ।
काङ्ग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन सकेन, तर पछिल्लो समयमा पार्टीभित्रै माओवादीको नेतृत्वमा पनि सरकारमा जानुपर्छ भन्ने आवाज उठेको छ होइन –
काङ्ग्रेसले आफ्नो नेतृत्वमा किन सरकार बनाउन सकेन भन्ने कुरा प्रष्ट छ । त्यसमा म लामो ब्याख्या गर्न चाहन्नँ । तर अहिले माओवादीको नेतृत्वमा सरकारमा जानुपर्छ भन्ने हाम्रो पार्टीमा कुरै उठेको छैन । माओवादीले शान्तिप्रक्रियालाई विश्वसनियताका साथ अगाडि बढायो र अब शान्तिप्रक्रिया टुङ्गिन्छ भन्ने आधार तयार भयो भने काङ्ग्रेसले त्यतिखेर आफ्नो पोजिसन स्पष्ट गर्न सक्छ, तर अहिले हामी सत्ताको कुरो गर्दैनौँ । सत्तामा नगएर पनि शान्ति र संविधानको लागिकाग्रेसले जस्तोसुकै भूमिका पनि निर्वाह गर्न सक्छ काङ्ग्रेस ।

सरकारी निकायबाटै निर्माण व्यवसायी अपहरणमा पर्छन-जयराम लामिछाने -नेपाल निर्माण व्यवसायी महासङ्घका सल्लाहकार तथा अध्यक्षका प्रत्याशी)
नेपाल निर्माण व्यवसायी महासङ्घको चौधौँ साधारणसभा यही भदौ २३, २४ र २५ मा काठमाडौंमा हुन गइरहेको छ । निर्माण व्यवसायीहरूबीच भावी नेतृत्वमा पुग्ने होडबाजी तीव्र रूपमा चलेको छ । यही क्रममा हाल महासङ्घमा सल्लाहकारको भूमिकामा रहनुभएका जयराम लामिछानेले आफूलाई अध्यक्ष पदको प्रत्याशी बनाउनुभएको छ । स्वच्छन्द निर्माण सेवा प्रालिका प्रबन्ध-निर्देशक लामिछानेसँग निर्माण व्यवसायीका समस्यालगायतका विषयमा गरिएको कुराकानीको केही अंश प्रस्तुत गरिएको छ ।
० नेपाल निर्माण व्यवसायी महासङ्घको चौधौँ वारि्षक साधारणसभाको तयारी कस्तो भइरहेको छ ?
– तयारी व्यापक रूपमा हुँदै छ । एसोसियटतर्फबाट ३५ जना प्रतिनिधि चयन हुनुपर्ने प्रावधान रहेकोमा र्सवसम्मत रूपमा प्रतिनिधि चयन भइसकेका छन् भने ७५ वटै जिल्लाबाट प्रतिनिधिको नामावली आएर रजिस्ट्रेसन भइसकेको छ । अन्य आवश्यक तयारी पनि द्रुत गतिमा अगाडि बढिरहेका छन् ।
० यसपटक त तपाईं स्वयम् पनि अध्यक्ष पदमा उम्मेदवारी दिँदै हुनुहुन्छ भन्ने कुरा चर्चामा छ, तपाईंको उम्मेदवारी किन ?
– हो, म अध्यक्ष पदमा उम्मेदवारी दिँदै छु । किनकि निर्माण उद्योग भनेको अति नै महत्त्वपूर्ण क्षेत्र हो । उद्योगहरूको पनि उद्योग हो यो । आज देशका कमैयाहरू मुक्त भइसके तर निर्माण व्यवसायीहरू कसैको दासत्वबाट मुक्त हुन नसकिरहेको अवस्था छ । मेरो उम्मेदवारी यही दासत्वको अवस्थाबाट मुक्तिका लागि हो । निर्माण व्यवसायीहरूलाई हरतरहबाट उत्थान गर्नु मेरो पहिलो दायित्व हुनेछ ।
० निर्माण व्यवसायी महासङ्घजस्तो निकाय पनि कसैको दासत्वमा रहन सक्छ र ? के भन्न खोज्नुभएको, स्पष्ट पारिदिनुस् न !
– हो, निर्माण व्यवसायी महासङ्घ दासत्वमै परेको छ । यसका लागि व्यवसायीहरू आफैंमा दोषी होइनन् । जुन ठेक्कापट्टाको नामबाट ०२८ सालदेखि नेपालमा निर्माण व्यवसाय सुरु भएको देखिन्छ, राजनीतिक शक्तिकेन्द्र र नेपालका कर्मचारीहरूले यो व्यवसाय र व्यवसायीलाई त्यसबेलादेखि नै दास बनाउँदै आएका छन्, आफ्नो कमारोकै रूपमा हेर्न र व्यवहार गर्न खोज्छन् । त्यो दासत्व आजसम्म अन्त्य हुन सकेको छैन । त्यसबाट मुक्ति नै मेरो मुख्य एजेण्डा हुनेछ । १४ हजारभन्दा बढी निर्माण व्यवसायीमध्ये १२ हजारभन्दा बढी ‘घ’ वर्गका व्यवसायी छन् र सबैभन्दा ठूलो पीरमर्का आज त्यही वर्गका निर्माण व्यवसायीले भोगिरहेका छन् । तिनले एक त काम नै पाउन सकेका छैनन्, काम पाइहाले पनि समयमा सजिलोसँग बिल भुक्तानी लिन नसकिने अवस्था छ यहाँ । नेपाल सरकारले इजाजतपत्र दिएकै बखतमा निश्चित योग्यता नभई लाइसेन्स दिइँदैन, तर प्रि-क्वालिफिकेसन, पोस्ट क्वालिफिकेसन, उपभोक्ता समिति आदिका नामबाट १२ हजारका सङ्ख्यामा रहेका व्यवसायीलाई थिचोमिचो गरिन्छ । अनेक बहानामा होच्याउने र पेमेन्ट रोकेर बँधुवा तुल्याउन खोजिन्छ । मेरो दोस्रो लडाइँ यसैमा हुनेछ ।
० निर्माण व्यवसायी महासङ्घले क र ख वर्गका व्यवसायीलाई मात्र हेर्ने अरू तल्ला तहकालाई बेवास्ता गरेको, विभेद गरेको आरोप पनि विगतदेखि लाग्दै आएको छ नि, यसमा के भन्नुहुन्छ ?
– एक पक्षबाट हेर्दा यो कुरा सत्य हो । तर, नेपाल निर्माण व्यवसायी महासङ्घ र यसका जति पनि पर्ूवकार्यसमिति र अधिकारीहरू छन्- उनीहरूले केही गरेनन् भन्ने मेरो आक्षेप होइन । बरु राज्यका माथिल्ला स्तरका निकायले नै यो क्षेत्रमा हस्तक्षेप गरिराखेकाले हामीले त्यो चिर्न सक्नुपरेको छ । मुख्य मुद्दा हामी व्यवसायीमाझ भन्दा पनि बाहिर नै छ । सबै व्यवसायी या कम्पनीको अभीष्ट यो हुनु स्वाभाविकै छ कि आफ्नो कम्पनीले कसरी नाफा कमाउने ? यसक्रममा क वर्गमै पनि धेरै पीडित साथी छन्, ख वर्गमा पनि त्यही हाल हो । ग र घ वर्गको कुरा गर्ने हो भने त उहाँहरू अत्यन्तै पीडित तप्कामा पर्नुहुन्छ । ठूला व्यवसायीले सानालाई थिचोमिचो गरे भन्ने जहाँसम्म आरोप छ, यसमा उनीहरू मात्रै दोषी नभएर बरु मैले अघि इङ्गित गरेका वर्गबाट आड पाएर यस्तो भएको हो । यस प्रवृत्तिलाई चिर्न सक्छु भन्ने दृढसङ्कल्पका साथ म अघिबढेको छु ।
० आयोजनाहरू समयमै सम्पन्न हुन नसक्नु पनि एउटा रोग नै भएको छ नेपालमा, यस्तो किन भएको होला –
– यसमा निर्माण व्यवसायीको मात्र हात रहन्न । अर्थात्, हामीले चाहेर मात्र हुँदैन । हामी त समयमै काम सम्पन्न गरेर अर्को कामको खोजीमा लाग्न चाहन्छौँ । तपाईं हेर्नुस् हामीले ६०१ जनालाई संविधान निर्माण गर्न दुई वर्ष म्याद दिएर पठाएका थियौँ, तर उनीहरूले अहिलेसम्म म्याद मात्रै थपिरहेका छन् । हामीले कुनै पुल बनाउन ठेक्का लिएजस्तै उनीहरूले संविधान निर्माणको ठेक्का लिएका हुन् । तर, खै त पूरा गर्न सकेका ? यसमा दोष कसलाई दिने ? जनयुद्धकालमा ३६५ दिनमा २ सय दिन नेपाल बन्द हुन्थ्यो । त्यो रोगको नकारात्मक परिणति अझै कायम छ । देशको राजनीतिक परिस्थिति अझै सङ्क्रमणकालबाटै गुज्रिरहेको छ । यसले विकास निर्माणकार्यमा कस्तो असर पार्छ मैले भनिरहनै पर्दैन नि । बन्द-हडताल, चन्दाआतङ्क, साइटमा काम गर्न नदिने, मेसिन बन्द गर्न लगाउने दुर्नियतिहरू अझै कायम छन् भने कसरी तोकिएको समयमा काम हुन सक्छ र ? वास्तवमा समयमा काम सम्पन्न हुन नसक्दा हामी व्यवसायी नै सबभन्दा बढ्ता प्रताडित हुन पुगिरहेका हुन्छौँ । अनेक अदृश्य तवरमा हामीमाथि हर्जाना थोपरिएको हुन्छ र समयमा काम गर्न नसक्ने कम्पनी भन्दै बद्नाम गराउन खोजिन्छ । अचानोको चोट खुकुरीलाई थाहा हुँदैन भनेझैँ यसको वेदना हामीलाई मात्र थाहा हुन्छ । यो वास्तविकता जनसमक्ष पुर्‍याउन र सरकारसँग अनुरोध गर्न, सुनुवाइ नभए एकजुट भएर आन्दोलन र प्रतिरोध गर्न पनि मेरो उम्मेदवारी आवश्यक परेको हो ।
० निर्माण व्यवसायीबीच फुटको अवस्था पनि छ नि ? कसरी मिलाउनुहुन्छ ?
– यसमा मिलाएर लैजाने मेरा आफ्नै सूत्र छन् । म पूरा विश्वस्त छु । मेरो नेतृत्व सक्षम सावित हुनेछ । ठूला निर्माण व्यवसायीलाई सानो तुल्याउने होइन सानालाई ठूलो बनाउनका लागि मेरो पहलकदमी हुने हुनाले सबैले मेरो तौरतरिकाको कदर गर्ने अपेक्षा गरेको छु ।
० निर्माण व्यवसायले भोग्दै आएको समस्याबाट मुक्तिका लागि मूल रूपमा के हुनुपर्ला भन्ने लाग्छ तपाईंलाई ?
– नेपालको ल एन्ड अर्डर मेन्टेन्ड नभएसम्म यसमा सुधार आउन सक्दैन । कानुनी शासन लागू हुनुपर्‍यो नि ! प्रत्येकपटक बिल भुक्तानीका बेला निर्माण व्यवसायी अपहरणमा पर्छ । कस्तो अपहरण भने बिल भुक्तानी दिनुपर्ने निकायले नै ब्ल्याकमेलिङ सुरु गर्छ र भुक्तानी रोकेर कमिसन असुलिसकेपछि मात्र ढिलो गरी पेमेन्ट पाइन्छ । सरदर १७ प्रतिशत नबुझाईकन भुक्तानी नै नपाउने अवस्था छ । यस्तो हुनु कहाँसम्मको न्याय हो ?

जङ्घार तरेर बाबुरामले लौरो बिर्सिनुभयो-सीपी गजुरेल (सचिव, एनेकपा माओवादी)
० घर बनाउँदा-बनाउँदै भत्किएको दृश्य तपाईंले कहिल्यै देख्नुभएको छ ?
– कुन सन्दर्भमा भन्न खोज्नुभएको हो ! पार्टीभित्रको घटनाक्रमका सिलसिलालाई जोडेर भन्न खोजिएको हो भने पार्टी अलिक भिन्न कुरा भएकाले घर बन्ने र भत्कने भन्ने सन्दर्भ यहाँ नसुहाउन सक्छ । हामी पार्टीलाई विपरीतहरूको एकत्वको रूपमा बुझ्छौँ र पार्टी आफैं एउटा सङ्घर्ष पनि हो । सङ्घर्षबाटै पार्टी बन्छ र यसको विकास हुन्छ । यतिबेला जुनखाले सङ्घर्ष पार्टीभित्र देखिएको छ, त्यसलाई घर भत्किएको रूपमा बुझ्नुहुँदैन । यो निरन्तर प्रक्रिया हो ।
० यसको मतलब बाहिर चर्चा भएजस्तो तपाईंहरूले घर बनाउँदाबनाउँदै भत्किएको महसुस गर्नुभएको छैन ?
– हामी कसैले पनि घर भत्काउन लागेको भन्ने महसुस गरेका छैनौँ र घर भत्काउँदा पनि भत्काउँदैनौँ । छलफल वा बहसबाट पार्टी मजबुत बनाएर लैजान्छौँ ।
० पार्टीमा फेरि अध्यक्ष प्रचण्ड नै बलवान बन्ने स्थिति बनेको छ, तपाईं त्यस्तो ठान्नुहुन्छ कि हुन्न ?
– यतिबेला बाबुरामजी फेरि उतै (प्रचण्डतिर) मिसिएको हुनाले बहुमत देखिएको र बलवान भयो भनेको हुनसक्छ । तर, बलवान त्यसरी हुँदैन, जोड-घटाउबाट को बलियो वा को कमजोर भन्ने हुँदैन । सही विचार र राजनीति जोसँग छ अन्त्यमा त्यसैले फैसला गर्छ र जित्छ । तत्कालको जोड-घटाउले केही मत यताउता हुँदैमा एकदम बलवान र एकदम कमजोर भइहाल्यो भन्न मिल्दैन ।
० पार्टीलाई सत्तामा पुर्‍याउन तपार्इंहरूको विशेष भूमिका छ, तथापि माओवादी नेतृत्वले मधेसकेन्द्रित दलको मोर्चासँग चारबुँदे सम्झौता गर्‍यो, तपाईंहरू त्यो सम्झौताको नैतिक जिम्मेवारी लिनुहुन्छ कि हुन्न ?
– पार्टीभित्र पछिल्लो चरणमा भएको बहसको एउटा कारण त्यो पनि हो । चारबुँदे सहमतिभित्र हाम्रा दुई पक्षमा विरोध छ । एउटा त्यसको नीतिगत तथा दुई पक्षबीचमा भएको शक्ति बाँडफाँड र अर्काचाहिँ विधिको पक्ष हो । नीतिगत पक्ष्ँलाई हेर्दा जनताको सङ्घीय गणतन्त्र भन्ने संविधानको मुख्य प्रारूपलाई नै चारबुँदे सम्झौताले परित्याग गरेको छ । त्यहाँ समावेशी लोकतान्त्रिक गणतन्त्र भनिएको छ । त्यो पार्टीको आधारभूत लाइनसँग मिल्दैन, विपरीत छ । त्यस्तै शक्तिको बाँडफाँडमा पनि ब्यालेन्स एकदमै मिलेको छैन । ६९ सिट भएको मधेसी दलहरू र दुई सय ३८ सिट भएको माओवादीको सिटसङ्ख्या पनि कतै बराबरी हुन्छ ? यसरी दुनियाँमा कहीँ नमिल्ने कुरा किन भयो ? देस्रो, जुन विधिबाट वार्ता या छलफल गरियो, त्यो विधिप्रति हाम्रो असहमति छ । किनकि, वार्ता गर्न एउटा वार्ताटोली नै बनाएका छौँ हामीले । पदाधिकारीको वार्ताटोलीले वार्ता गर्ने भनिएको छ तर वार्ताटोलीलाई एकातिर छाडेर उहाँहरू दुईजना मात्र -प्रचण्ड-बाबुराम) वार्ताटोलीलाई जानकारी नै नगराईकन चुपचाप गएर मोर्चासँग हस्ताक्षर गरेर आउनुभयो । तर्सथ विधिसम्मत ढङ्गले पनि यो गलत भयो भनिएको हो । त्यसकारण त्यो सम्झौताप्रति हामीले असहमति जनाइसकेको हुनाले त्यसभित्रको सबै जिम्मेवारी हामी लिँदैनौँ ।
० यी दुई कुरामा मात्र विवाद भएको हो भने साँचो बुझाउने कुरालाई किन अघि सारेको त ?
– यी दुई कुराको असहमति पहिलो चरणको हो । पछिल्लो चरणमा साँचो बुझाउने कुरा पनि थपियो । पहिलो चरणको विवादलाई त हामीले एक किसिमले हल गरेका थियौँ । यो दुई कुरा गल्ती हो भनेर हामीले नोट अफ डिसेन्ट पनि लेख्यौँ र केही कमजोरी भएको उहाँहरूले पनि स्वीकार्नुभएको थियो । तर, साँचो प्रसङ्गमा त्यही प्रकृतिको अर्को गल्ती पुनः दोहोर्‍याउनुभयो । त्यसकारण पार्टीमा विश्वासको सङ्कट भई फेरि विवाद सुरु भयो ।
० यसरी मिल्दैनमिल्ने र नसुहाउने गठबन्धन किन बन्यो होला ? तपाईंलाई के लाग्छ –
– यसबारेमा बाहिरबाट पनि धेरै टीका-टिप्पणी आएका छन् र यो गठबन्धन नसुहाउने खालको छ । संविधानसभाभित्र भएका दलहरूसँगको एलाइन्स बनाएर सरकार बनाउने कुरा त सबैले गरिराखेकै हो । तर, अहिले जुन ढङ्गले दुईवटा कुरा उठायौँ योचाहिँ गम्भीर कुरा हो । एउटा नीतिगत कुरामा किन उहाँहरूले धेरै कुरा छाड्नुभयो । पार्टीको नीतिसँग नमिल्ने कुरा कसरी सम्झौता गर्नुभयो । अर्को शक्तिको बाँडफाँडमा यति धेरै किन दिनुभयो । एकतिहाइ पनि उहाँहरूले लिनुभएको छैन । एकतिहाइ पनि लिन नसक्ने गरी किन सम्झौता गर्नुभयो । हामीले उठाएको प्रश्न पनि यही हो । अब जहाँसम्म साँचोको कुरा छ, साँचो किन बुझाउनुभयो ? साँचो बुझाउनुपर्छ भनेर अहिले कसैले माग नै गरेको थिएन । अन्य दलले त अन्य-अन्य कुराहरू पो माग गरेका थिए त । सङ्ख्या कति, मोडालिटी, नम्सहरू माग गरेका थिए । माग गरेको एउटा विषय थियो तर उहाँहरूले तिमीहरू किन त्यति माग गर्र्छौ हामी त्योभन्दा बढी दिन्छौँ भने जसरी हत्तनपत्त साँचो बुझाइदिनुभयो । त्यसैले यी सबै घटनाक्रमले नेतृत्वमा कहीँ न कहीँ राजनीतिक विचलनतिर गएको हो कि भन्ने आशङ्का पार्टीमा बढ्दै गएको छ ।
० यस विषयमा नेतृत्वको के प्रतिक्रिया पाउनुभयो त –
– उहाँहरू अहिलेको अवस्थामा यही ठीक छ भन्नुहुन्छ । यो गतिशीलता हो, यो नगर्नु जडता हो, यदि यो सम्झौता नगरेको भए माओवादीको नेतृत्वमा सरकार बन्ने थिएन, पार्टीको नेतृत्वमा सरकार बनाउन यसो गरिएको हो भन्नुहुन्छ । सरकारको नेतृत्व पाउनु ठूलो सफलता हो । पार्टीको नेतृत्वमा सरकार बन्दा लडाकु समायोजनमा सहयोग पुग्छ भन्ने जस्तो विश्लेषण आएको छ तर, हामीले त्यसमा चित्त बुझाएका छैनौँ ।
० धोबीघाट भेलाले पार्टीमा नयाँ तरङ्ग ल्याएको थियो, पार्टी नेतृत्वलाई झुक्न बाध्य पारेको पनि थियो, तर, अब त्यस भेलामा विशेष भूमिका खेल्नुहुने बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ -प्रकाश)को कसरी व्याख्या गर्नुहुन्छ ?
– धोबीघाटको इतिहासमा एउटा महत्त्व छ । त्यही धोबीघाटकै कारण बाबुराम प्रधानमन्त्री बन्नुभएको हो नत्र त्यो सम्भावना नै थिएन र उहाँको जीवनमा त्यो हुन्थ्यो कि हुँदैनथ्यो भन्न सकिँदैनथ्यो । जुन धोबीघाटले उहाँलाई प्रधानमन्त्री बनायो, त्यो धोबीघाटलाई बिर्सनुभयो, छाड्नुभयो । र फेरि अध्यक्षसँग गाँसिन पुग्नुभयो र उहाँहरू एकप्रकारले विलयको अवस्थामा पुग्नुभएको छ यतिखेर । जङ्घार तर्‍यो लौरो बिर्सियो भनेजस्तो उहाँले जङ्घार तरुन्जेल लौरो लिनुभयो तर, जङ्घार तरेपछि फालिदिनुभयो । त्यो लौरो पाउनुहुन्न उहाँले अब किनकि बगाइसक्नुभयो त्यो । फेरि जङ्घार तर्नुपर्‍यो भने अर्को नयाँ लौरो बनाउनुपर्ने हुन्छ । र, त्यो नयाँ लौरो पाउन पनि निकै मुस्किल छ । जहाँसम्म प्रकाशको कुरा छ । प्रकाश धोबीघाटको कुनै महत्त्वपूर्ण पात्र होइन । उहाँ धोबीघाटमा बलियो भयो भन्ने थाहा पाएपछि सामेल हुन जानुभएको थियो र त्यसबाट उहाँले थोरै लाभ पनि उठाउनुभयो । पछिल्लो समयमा बाबुराम प्रचण्डतिर लागेपछि धोबीघाट कमजोर भयो भन्ने ठानेर उतै जानुभयो र फेरि पनि फाइदा लिनुभयो । उहाँको नीति त्यही नै रहेछ । तर्सथ प्रकाशको बारेमा सबैलाई प्रस्ट भएको छ ।
० तर, उपप्रधानमन्त्रीको हैसियतमा तपाईंले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भन्ने थियो नि, होइन ?
– हो, यसमा सबैको सहमति पनि भएको थियो । तर, अर्थ कि परराष्ट्र भन्नेमा थोरै कुरा मिलिरहेको थिएन । हामीले अर्थ लिन खोजिरहेको थियौँ, उहाँहरूले परराष्ट्र दिनुभयो । हाम्रो समूहमा पनि यही विषयमा सहमति भएको थियो कि उपसहित अर्थ मन्त्रालयको नेतृत्व मैले गर्ने । उहाँहरूमा अर्थ मन्त्रालयको नेतृत्व गर्ने अरू कोही थिएन पनि । त्यसमा कुरा सहज भइसकेको र टुङ्गिइसकेको थियो । तर, निर्णय हुनचाहिँ बाँकी थियो । जब उहाँहरूले विशेष समितिलाई साँचो बुझाइसकेपछि सबै कुरा बिग्रियो । र, हामी सरकारमा नजाने भएपछि त जुनसुकैले जे दिए पनि हामीलाई के भयो र !
० तपाईंहरू सरकारमा जानुहुन्न होइन त ?
– यो साँचोको कुरा नटुङ्गिएसम्म हामी सरकारमा जाँदैनौँ ।
० साँचो विशेष समितिलाई बुझाइसकेको छ र अब त्यो फिर्ता हुने अवस्था पनि छैन, अनि कसरी समाधान होला त यो मुद्दा –
– चाबी त फिर्ता हँुदैन र त्यो अब सम्भव पनि छैन । त्यो कुरा हामीलाई पनि जानकारी छ । अब उहाँहरूले त्यो गल्ती भयो र त्यसलाई सच्याउनुपर्छ भन्ने कुरा रियलाइज गर्नुपर्छ । त्यति भयो भने अरू प्रक्रियामा त्यसले प्रभाव पर्छ । विवादित विषय समाधान हुँदै जान्छ ।
० तर, उहाँहरूले त वैद्य कमरेड अर्थात् तपाईंहरू पार्टी निर्णय र हितविपरीत जानुभयो, त्यसैले आत्मालोचनासहित माफी माग्नुपर्छ भनिरहनुभएको अवस्थामा उल्टै गल्तीको रियलाइज गर्नुहोला र ?
– अहिलेसम्म त उहाँहरूले गल्तीको रियलाइज गर्नुभएको छैन । त्यसैले हामीले केन्द्रीय समिति बोलाएको हो । केन्द्रीय समितिमा पनि रियलाइज गर्नुभएन भने केन्द्रीय समितिले के निर्णय लिन्छ त्यसमा भर पर्छ । अब जहाँसम्म हामीले माफी माग्नुपर्ने भन्ने कुरा छ, हामीले माफी माग्ने भए त यो कुरा स्थायी समितिमै टुङ्गिइहाल्थ्यो नि । किन केन्द्रीय कमिटीमा पुग्नुपथ्र्यो र । वैद्यबाट जुन प्रकारको वक्तव्य गयो, त्यो निजी विचार होइन । सबैको विचार हो र क्रियाबाट उत्पन्न प्रक्रिया मात्र हो ।
० तपाईंहरू क्रान्ति-क्रान्ति भन्नुहुन्छ, तर, क्रान्तिमा भविष्य खोज्दाखोज्दै आफ्नै भविष्य जोगाउनुपर्ने अवस्थामा आइपुगेका छौँ भन्ने ठान्नुहुन्न ?
– क्रान्ति गर्न हिँडेका यात्रीहरू थाक्छन्, निराश हुन्छन्, समाजमा सुख-सुविधा भोग गरिरहेका देख्छन् र थकित भए सुख-सुविधा भोग गर्न लाग्छन् । यत्रो क्रान्तिमा होमिएकामध्ये केही मानिस थाकेका छन्, भौतिक सुखसुविधाबाट आकरि्षत भएका छन् र योभन्दा अन्त जानुहुँदैन भन्नेमा केही साथी लागेका छन्, यो सत्य हो । तर, क्रान्ति भनेको निरन्तर चलिरहने प्रक्रिया हो । हामीले समाजमा आमुल परिवर्तन गर्ने भनेर क्रान्ति गरेका हौँ तर, त्यो परिवर्तन भएको छैन, गरिबको चुलोमा आगो बलेको छैन, धनी र गरिबबीच समानता कायम भएको छैन । भूमिहीन किसानले जमिन पाएको छैन, बेरोजगारले रोजगारी पाएको छैन, हामीले जनताको सङ्घीय गणतन्त्र भनेका छौँ त्यो हुने कुराको पनि कुनै ग्यारेन्टी छैन । त्यसैले यी सबै कुरा पूरा गर्न क्रान्ति अनिवार्य छ र क्रान्ति पूर्ण भएको छैन । त्यसैले हामीले यो देशमा क्रान्तिमै भविष्य देखेका छौँ ।

मुस्ताङ सोचका लागि प्रधानमन्त्रीले धन्यवाद भन्नुभयो-रामेश्वर सापकोटा र्-पर्यटन व्यवसायी)
वि.सं. २०१९ असार १० गते धादिङ साङकोषको आँपस्वाँरामा जन्मनुभएका रामेश्वर सापकोटा पर्यटन व्यवसायमा स्थापित व्यक्तित्व हुनुहुन्छ । तीन दशकदेखि नेपालको पर्यटन उद्योगमा आबद्धता राख्नुहुने उहाँ एडभेन्चर सिल्क रोड, ठमेलका कार्यकारी प्रमुख हुनुहुन्छ भने मेगा बैंकका एक संस्थापक सञ्चालकका रूपमा पनि चिनिनुहुन्छ । गणतन्त्र लिथुवानियाको नेपालका लागि अवैतनिक वाणिज्यदूतसमेत रहनुभएका सापकोटासँग प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चढ्नुभएको मुस्ताङ गाडीमा केन्द्रित रहेर घटना र विचारले गरेको कुराकानीका केही अंश प्रस्तुत गरिएको छ ः
० प्रधानमन्त्री बाबुराम भट्टराईलाई स्वदेशमै निर्मित मुस्ताङ गाडी चढ्न सुझाउनुभयो तपाईंले, किन यस्तो सुझाव दिनुभयो –
– म एक सानो व्यवसायी हुँ, उहाँ भनेको ठूलो नेता र अब राष्ट्रकै अभिभावक हुनुहुन्छ । राष्ट्रका नेता र ठूला व्यक्ति-व्यक्तित्वहरूले स्वदेशी उत्पादनहरू प्रयोग गरिदिए उद्योग-धन्दाहरू प्रोत्साहित हुन्छन्, फस्टाउँछन् । यसरी उद्योग फस्टाएपछि रोजगारी बढ्छ, मुलुकले हासिल गर्ने करमा वृद्धि हुन्छ । यी यावत् कुराहरू मनन गरेर नै मैले मुलुकको कार्यकारी प्रमुखका रूपमा प्रस्तावित डा. बाबुराम भट्टराईज्यूलाई त्यतिबेला उक्त सुझाव दिएको थिएँ ।
० तपाईंले बाबुरामजीलाई लोकप्रिय बनाउने अभ्रि्रायले यस्तो सुझाव प्रस्ताव गर्नुभएको हो कि साँच्चै स्वदेशी उद्योगधन्दाको उन्नतिका लागि –
– यथार्थ यही नै हो कि स्वदेशी उद्योग फस्टाउने वातावरण बनोस् भनेर नै मैले उक्त प्रस्ताव गरेको थिएँ ।
० डा. भट्टराईलाई लोकप्रिय भएको देख्ने लालसाचाहिँ थिएन तपार्इंमा –
– म उहाँको ‘फ्यान’ हुँ । डा. भट्टराई मुलुकको यो विषम अवस्थामा एउटा सफल नेता सावित हुन सक्नुहोस् भन्ने अभीष्ट त मभित्र हरदम छँदै छ । उहाँलाई सफल र लोकप्रिय भएको देख्न चाहने मजस्ता धेरै छन् । मुस्ताङ गाडी चढ्ने निर्णयले प्रधानमन्त्री भट्टराईको लोकप्रियता वृद्धि गरेको छ भने त्यो मेरो लागि खुसी र गौरवकै विषय हो । अब उहाँ सफल भएको हेर्न बाँकी छ ।
० मुस्ताङ गाडी चढेपछि अब सफल हुनुहोला त उहाँ –
– नेपालको राजनीति यसरी बिग्रिएको छ कि जादुको छडीले झैं तत्काल केही हुनेवाला छैन, यसले समय त लिन्छ नै । आर्थिक या औद्योगिक क्रान्तिका लागि प्रधानमन्त्रीले एउटा इँटा थप्ने काम त गर्नुभयो नि ! यो प्रारम्भको एउटा सङ्केत मात्रै हो, सबैको सकारात्मक सोच र साथ पाए डा. भट्टराईबाट यस्ता धेरै काम हुन्छन् जसबाट हामीले कल्पना गरेको समृद्ध मुलुक निर्माणतर्फ तीव्रता हासिल हुनेछ भन्नेमा म विश्वस्त छु ।
० स्वदेशी उद्योग प्रवर्द्धनका लागि तपाईंले मुस्ताङ गाडी चढ्ने सुझाव दिनुभयो, प्रधानमन्त्रीले चढ्नु पनि भयो । तर, धेरै उद्योगधन्दा बन्द हुनुमा त माओवादी टे्रड युनियन नै कारकतत्त्व बनेका छन् ! यसमा के भन्नुहुन्छ तपाईं –
– पार्टीगत सवालमा म गहिरिएर कुरा गर्न चाहन्न । यसका अर्न्तर्वस्तुहरू अनेक हुन सक्छन् । राष्ट्रका अग्रज व्यक्ति-व्यक्तित्वहरूले भरसक स्वदेशी वस्तु प्रयोग गरून्, उद्योग-धन्दाहरूले प्रोत्साहन पाऊन् भन्ने मात्र मेरो ध्येय हो भन्ने स्पष्ट पार्न चाहन्छु ।
० तपाईं झन्डै तीन दशकदेखि पर्यटन व्यवसायमा संलग्न हुनुहुन्छ । तीन दशकभित्र नेपालमा एक दर्जनजति प्रधानमन्त्री बने, यस्तो सुझाव अरू कसैलाई नगरेर किन बाबुरामजीलाई नै गर्नुभयो –
– त्यसो त होइन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नु चार-पाँच दिनअघि पनि मैले यो प्रयत्न गरेको थिएँ । त्यतिबेला योजत्तिको सुविधासम्पन्न पनि थिएन मुस्ताङ मोटर । डा. भट्टराईले चढ्नुभएको ‘मुस्ताङ भी टू- म्याक्स’ हो भने त्यतिखेरचाहिँ ‘मुस्ताङ भी टू’ मात्र थियो । तर, त्यतिखेर सुरक्षाको दृष्टिले उपयुक्त हुँदैन भन्ने कुरा आयो ।
० अनि सुरक्षाको दृष्टिले उपयुक्त नहुने कुरा त यसपालि पनि उठेको थियो नि !
– हो, तर मेरो तर्क के रह्यो भने नेपालका विकट उकाली-ओरालीहरूमा यो गाडीले १०-१५ जना यात्रु बोकेर मज्जैले काम गरिरहेको छ, के ती सबै नेपाली असुरक्षित यात्रा नै गरिरहेका हुन् त ? त्यसो भए सरकारले अनुमति नै दिन भएन नि ! फेरि प्रधानमन्त्रीका अघि र पछि त स्करि्टङमा थुपै्र गाडी हुन्छन्, के फरक पर्छ र -‘ मैले यसो भनेपछि सुरक्षाको कारण देखाउनेहरूले प्रतिवाद गरेनन् ।
० प्रचण्डपछि प्रधानमन्त्री बनेका माधव नेपाल र झलनाथ खनालहरूलाई चाहिँ यो सुझाव दिनुभएन –
– उहाँहरूसँग चिनजान नभएकोले गर्दा ‘स्वीकार गर्नुहोला या अस्वीकार -‘ भन्ने द्विविधा परेर मैले उहाँहरूकहाँ गएर यस्तो प्रस्ताव गर्ने आँट गर्न सकिनँ । गरेको भए खै मान्नु पो हुन्थ्यो कि !
० त्यसो भए, बाबुराम भट्टराई साधारण जीवनशैली मन पराउने व्यक्ति हुनुभएकोले नै मुस्ताङ गाडी स्वीकार गरिएको हो भन्ने लाग्छ कि लाग्दैन तपाईंलाई –
? एउटा कुरा त यो पनि हो । मैले उहाँलाई चिनेको पनि भयो पच्चीस ? तीस वर्ष । जहिले पनि उहाँ साधारण जीवनशैलीमै रहनुभयो । कतिपय पत्रपत्रिकाले त ‘चप्पल मात्रै लगाएर हिँड्ने नेता’का रूपमा कैयनपटक कोड पनि गरे । जे होस्, मलाई पनि यही लाग्छ कि उहाँको सादगी सोचकै कारण यो सम्भव भएको हो । उक्त गाडी देखाउनेबित्तिकै उहाँले भन्नुभयो, ‘मलाई लग्जरीयस मोटर किन चाहियो ? यत्तिको भए यथेष्ट हुन्छ ।’
० तपाईंसँग यतिबेला प्रधानमन्त्री बाबुरामजी खुसी हुनुभएको छ कि उक्त गाडी उत्पादक कम्पनीका मालिक ?
? यस विषयमा मेरो कसैसँग बुझबुझारथ या कुराकानी भएको छैन । प्रधानमन्त्रीले चाहिँ एकपटक बालुवाटारमै भएको छोटो भेटमा ‘लौ, मुस्ताङ गाडीले रामै्र गर्‍यो, सुझावका लागि धन्यवाद है’ भन्नुभयो ।
० उत्पादक कम्पनीका मानिसहरूले चाहिँ केही भनेका छैनन् तपाईंलाई ? उनीहरूले त करोडौँ खर्च गरेर पनि नपाउने प्रचार पाए नि !
? खै मसँग खासै त्यस्तो प्रतिक्रिया त केही दर्शाएका छैनन् । बरु कम्पनीका मुख्य व्यक्ति सुरेन्द्र गोल्छाले चाहिँ अब प्रधानमन्त्रीलाई प्रदान गरिने गाडीमा के ? के फिचर थप्नुपर्ने हो भनी सोधेका थिए, मैले प्रधानमन्त्रीज्यूको मुख्य स्वकीय सचिव गंगा श्रेष्ठसँग सुझाव लिन भनिदिएको छु ।
० तपाईं बाबुरामजीको फ्यान र उहाँ सफल भएको हेर्न चाहने शुभचिन्तक पनि हुनुहुँदोरहेछ । उहाँ सफल हुनेमा कति विश्वस्त हुनुहुन्छ र यदि असफल बन्नुहुन्छ भने के कारणले असफल हुनुहोला भन्ने लाग्छ ?
? भनिहालेँ, यतिबेला देशको अवस्था अत्यन्तै जटिल छ । प्रधानमन्त्रीको मुख्य ध्येय शान्ति र संविधान नै हो । सरकारमा सहभागी हुनेहरूको आन्तरिक किचलो त्यत्तिकै छ । जहाँसम्म मेरो बुझाइ छ, डा. बाबुराम भट्टराईको सफलता भनेको उहाँको पार्टीको पनि र नेपाली जनताको पनि सफलता हो । सबै दलबाट सकारात्मक र रचनात्मक सहयोग रहे उहाँ सफल बन्नुहुनेछ, उहाँका भिजनहरूले मुलुकलाई समृद्धितिर लैजानेछ र त्यसको सफल देश र जनताले चाख्न पाउनेछन् । अब उल्टोपुल्टो व्यवहार नै गरिन्छ, दलहरू विमति र अविश्वासबाटै अघि बढ्न खोज्छन् भने त उहाँ एक्लो व्यक्तिले सफलता पाउन गाहै्र होला नि !