गलहत्याइएका सांसद चौधरी नै दोषी ठहर !

गलहत्याइएका सांसद चौधरी नै दोषी ठहर !


■ हेमशंकर सिंह, राजविराज

नेपाली कांग्रेसले गत मंगलबार आयोजना गरेको जनजागरण समापन कार्यक्रमको सभामा नेपाली कांग्रेसबाट निर्वाचित सांसद तेजुलाल चौधरीसहितका नेता–कार्यकर्ताहरुले अभद्र व्यवहार तथा गाली–गलौज गरेको भन्दै नेपाली कांग्रेस सप्तरीले खेद व्यक्त गरेको छ ।

सदरमुकाम राजविराजमा कांग्रेसले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारविरुद्ध आयोजना गरेको विरोध ¥याली सभामा परिणत हुँदा आसन ग्रहणको क्रममा पार्टीका सांसद चौधरीलगायतका केही व्यक्तिले सुनियोजित तरिकाले कार्यक्रम नै भाँड्ने गरी गाली गलौज तथा अभद्र व्यवहार गरेको आरोप लगाउँदै घटनाप्रति नेपाली कांग्रेस सप्तरीले खेद व्यक्त गरेको छ ।

सांसद चौधरी मञ्चमा पुगेर कार्यक्रम सञ्चालकसहित प्रदेशसभा सदस्य, केन्द्रीय प्रतिनिधि र मञ्चमा आसिन अतिथिहरूलाई गालीगलौज गरेको भन्दै उनीसहित अन्य कार्यकर्ताहरूमाथि पार्टीले अनुशासनको कारवाही अगाडी बढाउने खुलासा समेत गरेको छ ।

नेपाली कांग्रेस सप्तरीका जिल्ला सभापति दिनेशकुमार यादवले पार्टी कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरी पार्टीको अनुशासन उल्लंघन गर्ने र पार्टी संगठनलाई भाँड्ने कार्यप्रति आपत्ति जनाउँदै पार्टीपङ्क्तिलाई अनुशासनको दायरामा रही काम गर्न समेत निर्देशन दिएका छन् ।

नेपाली कांग्रेसको जनजागरण कार्यक्रमको समापनको क्रममा सांसद चौधरीले गालीगलौज गरेपछि उत्पन्न घटनालाई बङ्गयाएर सिंगो पार्टीलाई नै कमजोर बनाउने उद्देश्यले पार्टी मर्यादा विपरीत उनीहरु कार्यक्रम छाडेर गएको समेत सभापति यादवले दाबी गरेका छन् । उक्त घटनाबारे विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति पार्टीको ध्यानाकर्षण भएको भन्दै उनले सञ्चारमाध्यमहरुमा आए जस्तो घटना नभएको ठोकुवा समेत गरेका छन् ।

आसनग्रहणको क्रममा आफ्नो मर्यादाक्रम मिचेको भनी असन्तुष्टि पोखेपछि नेपाली कांग्रेस सप्तरीको सभापति दिनेश यादवको निर्देशनमा उनका गुन्डाहरुले हातपात गरी मञ्चबाट धकेलेर खसाएको आरोप लगाउँदै सांसद चौधरीको नेतृत्वमा सांसद नमिता चौधरी, संविधानसभा सदस्य रंजित कर्ण, नेपाली कांग्रेस सप्तरीका अध्यक्ष पदका प्रत्यासी रहेका रामदेव साह, नेपाली कांग्रेस सप्तरीका नेता सरोज विराजीसहितका नेता कार्यकर्ताहरु कार्यक्रम स्थलबाट बाहिरीएर जनआन्दोलन चोकमा आई कोणसभा गरेका थिए ।

सो क्रममा उनीहरुले घटनामा संलग्न नेता कार्यकर्ता र उनीहरुलाई नेतृत्व गर्ने सभापति यादवको साधारण सदस्यतासमेत खारेज गर्न केन्द्रीय समितिसँग माग गरेका थिए । कोण सभा सम्पन्न भए लगतै उनीहरु दास धर्मशालामा बैठक समेत गरेका थिए ।