कास्की क्षेत्र नं. २ को अन्तिम मतदाता नामावली असोज २७ गते सार्वजनिक हुने

कास्की क्षेत्र नं. २ को अन्तिम मतदाता नामावली असोज २७ गते सार्वजनिक हुने


कास्की क्षेत्र नं २ को मतदाता नामावली असोज २७ गते सार्वजनिक हुने भएको छ । सो संसदीय क्षेत्रअन्तर्गत विभिन्न वडामा असोज १ गतदेखि ७ गतेसम्म मतदाता सूचीको अद्यावधिक तथा दाबी विरोधको अवधि सकिएपछि असोज २७ गते अन्तिम मतदाता सूची सार्वजनिक गर्ने तयारीमा जुटेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

कार्यालय प्रमुख महेन्द्र सुवेदीले दिएको जानकारीअनुसार मङ्सिर १४ गते उपनिर्वाचन हुने सो क्षेत्रमा दाबी विरोधलगायतको उजुरीमाथि छानबिन गरेर मतदाता सूची सार्वजनिक गरिनेछ । सो क्षेत्रमा करीब ७२ हजार मतदाता रहेको छ । सो संसदीय क्षेत्रअन्तर्गत पोखराका विभिन्न ११ वटा वडामा खटिएको टोलीले मतदाताको नाम सच्याउने, दाबी विरोध गर्ने, दोहोरो नाम परेमा हटाउनेलगायतका कार्य सम्पन्न गरेको छ ।

मतदाता नामावली अद्यावधिक गर्नका लागि वडासचिवको संयोजकमा सहयोग समन्वय समिति गठन गरिएको थियो । सो समितिमा स्थानीय सुरक्षाकर्मी, स्थानीय पदाधिकारीका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि रहेको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए ।

उक्त क्षेत्रबाट निर्वाचित भएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि मङसिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।