काङ्ग्रेसले प्रचण्डको एजेण्डा बोकेको कमल थापाको आरोप

काङ्ग्रेसले प्रचण्डको एजेण्डा बोकेको कमल थापाको आरोप


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली काङ्ग्रेसले तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डको एजेण्डा बोकेर हिँडेको आरोप लगाएका छन् । राप्रपा भक्तपुर जिल्ला समितिले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईको एजेण्डा छाडेर काङ्ग्रेसले प्रचण्डको एजेण्डा बोकेर हिँडेको जिकीर गरे ।

देशमा अहिले योजनाबद्ध रूपमा प्राचिन र मौलिक धर्म संस्कृतिमाथि आक्रमण हुनुको प्रमुख कारण काङ्ग्रेसले प्रचण्डको भरिया भई उनैको एजेण्डा बोकेर हिँडेकैले हो भन्दै थापाले नेपालको धर्म र संस्कृति त्यागेर विदेशी धर्म स्थापना गर्ने दुस्प्रयास भइरहेकोमा चिन्ता व्यक्त गरे ।

ठूला दलका केही वरिष्ठ नेताहरू नै विदेशीको प्रभावमा पर्दा नेपालको धर्म, संस्कृतिमा सङ्कट आएको दाबी गर्दै उनले नेपालको धर्म संस्कृतिमा भइरहेको अतिक्रमणलाई रोक्न नसके यहाँको पहिचान र अस्तित्व गुम्ने दाबी गरे ।