माओवादी राज र काङ्ग्रेसको राजनीति – बद्रीनरसिंह केसी

माओवादी राज र काङ्ग्रेसको राजनीति – बद्रीनरसिंह केसी


माओवादीले ‘हस्तिनापुरको राज’ पाएपछि नेपाली काङ्ग्रेस दुर्योधनको सभामा सकुनीको जाली पासा हारेर वनबास जान लागेका पाण्डवजस्तो भएको छ । अर्थात् हिजो वनबासी माओवादी आज राजकाजमा, हिजो राजकाजमा भएको काङ्ग्रेस आज उठिबास वा वनबासमा । शक्तिको राजनीति गर्नेले सधैँ राजनीति जितिरहन्छ भन्ठान्नु गलत हो । शक्तिको राजनीति गर्नु र जुवा खेल्नु उस्तै हो । तर, मूल्य र मान्यताको राजनीति गर्नेले दुःख पाउला, कहिल्यै हार्नुपर्दैन । काङ्ग्रेसले जहाँ मूल्य र मान्यताको राजनीतिलाई तिलाञ्जली दिएर शक्तिको राजनीति गर्न थाल्यो, तब यो पार्टी हार्न थालेको हो । हस्तिनापुरमा विदेश (गान्धार राज्य) बाट आएका सकुनीले बनाएको कपटी पासाबारे जान्दाजान्दै युधिष्ठिरले जहाँ द्रौपदीलाई जुवामा बाजी थापे र हारे, त्यसैगरी काङ्ग्रेसले साठी वर्षदेखि मान्दै आएको राजतन्त्रको नीतिलाई षड्यन्त्रकारी पासामा बाजी थाप्यो र हारेको हो । माओवादीलाई ‘राज’ दिलाउनेहरू, काङ्ग्रेसबाटै अघाएर हिँडेका महन्थ ठाकुर, विजय गच्छदार, जयप्रकाश गुप्ताजस्ता सारथिहरू एकताका गिरिजाप्रसाद कोइरालाका अतिप्रिय थिए, आज बाबुरामका सत्ता साझेदार भएका छन् ।
राष्ट्रप्रमुख रामवरण, सरकारप्रमुख बाबुराम, मुख्य विपक्षी नेता रामचन्द्र हुँदैमा मुलुक रामराज्य नहुने रहेछ । हार्ने ‘राम’, जित्ने ‘राम’, जित्नेलाई जिम्मेवारीको सिन्दुर पहिराउने पनि राम ! जता हेर्‍यो उतै राम भएको नेपाली राजनीतिले ‘रामराज्य’ दिनुपर्ने हो । तर, आँखै नभएकीलाई नयनकुमारी, भिखमङ्गाको नाम कुवेर भनेजस्तो भइरहेको छ नेपाली राजनीतिको चरित्र ।
इतिहास दोहोरिँदैन भन्छन् जानिफकारहरू, तर दोहोरिन्छ । इराकमा १२ जना नेपाली मारिएको विरोधमा २०६० भदौ १६ गते काठमाडौंलगायतका सहरमा जनताले राँको बालेका थिए, ती राँकाहरू मस्जिद, म्यानपावर सप्लाई कम्पनी, ‘स्पेसटाइम दैनिक’, कान्तिपुर दैनिकमा झोसिएका थिए । यो वर्षको भदौ १६ गते पनि सडकमा त्यस्तै राँकाहरू देखापरे, हतियारको साँचो बुझाएको विरोधमा । एउटा माओवादी सरकारमा बसेर ‘शान्ति र संविधान’को माला जपिरहेको छ । अर्को माओवादीको जत्था शान्तिप्रक्रियाको विरोधमा सडकमा राँको बालेर हिँड्दै छ । आफैँ बोक्सी आफैँ धामीको यो तमासा जनताले कहिलेसम्म हेर्ने ? यहाँ त इतिहास मात्र दोहोरिएको होइन, महाभारत नै दोहोरिँदै छ ।
यसअघि गठन भएका कुनै सरकारलाई र्समर्थनको टेकोपुँडो लगाएर भारतीयहरूले लेख लेखेको थाहा थिएन । हो, माधवकुमार नेपाल प्रधानमन्त्री बनेपछि भारतीय सरकारी समाचार संस्था ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले एउटा समाचार प्रकाशित गर्‍यो, ‘भारतीय जातीय मूलका वरिष्ठ नेता नेपाल नयाँ प्रधानमन्त्री बन्न सक्छन् । …..उनको उम्मेदवारीमा पार्टी (एमाले) भित्र खासै विवाद छैन ।’ यो समाचारलाई भारतीय पत्रपत्रिकाले महत्त्वका साथ छापेका थिए ? हे. कान्तिपुर, २०६६ वैशाख २९) । डा. भट्टराई प्रधानमन्त्री भएपछि नेपालबारे चासो राख्ने भारतीय प्राध्यापक एस. डी.मुनीले त भट्टराईको सरकारमा सामेल हुन काङ्ग्रेसलाई उपदेश दिँदै यतिसम्म लेखे, ‘…डा. भट्टराईले पदभार सम्हालेलगत्तै सरकारमा नेपाली काङ्ग्रेसलाई सामेल गराउन विशेष पहल गरेर राम्रो गर्नुभएको छ । के आशा गर्न सकिन्छ भने यो नयाँ सरकारले शान्तिप्रक्रियामा केही गरेर देखाउन सक्यो भने काङ्ग्रेस माओवादीप्रति अपनाउँदै आएको आफ्नो रणनीतिमाथि पुनर्निविचार गर्न उत्प्रेरित हुनेछ । माओवादीसँगको समझदारी तथा गठबन्धनद्वारा नै दोस्रो जनआन्दोलनको जग तयार गरिएको हो भन्ने नेपाली काङ्ग्रेसले सम्झिन आवश्यक ठान्दछ । यसै गठबन्धनले मात्रै राष्ट्रिय सङ्क्रमणकाललाई तारि्कक निष्कर्षमा पुर्‍याउन सक्षम हुनेछ । राष्ट्रिय सहमतिमा सामेल हुनबाट बाहिरै रहेर नेपाली काङ्ग्रेसले नेपालका जनतामाथिको आफ्नो आस्थालाई आघात पुर्‍याइरहेको छ, जसको आह्वानमा जनता अप्रिल २००६ ? चैत ? वैशाख २०६२ (६३) मा गोली र लाठीको सामना गर्न सडकमा ओर्लेका थिए ।’ (हे. अङ्ग्रेजी दैनिक ‘रिपब्लिका’, यही भदौ १५ को अङ्क) ।
प्रा. मुनीले पाएको यो प्रकाशन स्वतन्त्रताले नेपालीलाई पनि ‘भारतका माओवादीलाई सरकारको नेतृत्व दिनुपर्छ र भारतीय काङ्ग्रेस त्यही सरकारमा सामेल हुनुपर्छ’ भन्ने स्वतन्त्रता स्थापित गरेको छ । माओवादी नेतृत्वको सरकारमा माओवादीले सबभन्दा धेरै कालोझन्डा देखाएका विजयकुमार गच्छदार उपप्रधानमन्त्री तथा गृहमन्त्री भएपछि अरू के चाहियो ? सरकार टिकाउने आतुरता प्रचण्डलाई भन्दा भारतीयहरूलाई बढी देखियो ।