विष खुवाउन खोज्नेलाई कर्णेल पद !

विष खुवाउन खोज्नेलाई कर्णेल पद !


प्रधानमन्त्री जंगको उदयअघि नेपाल सरकारको परराष्ट्रनीति अङ्ग्रेजविरोधी थियो भन्न सकिन्छ, तर जंगको उदयपछि नेपाल सरकारको परराष्ट्रनीतिमा मूलभूत परिवर्तन देखापऱ्यो र कम्पनी सरकारको समर्थन भई नेपालको भलो हुने कुरा अनुभव गरियो । अङ्ग्रेजले पनि केवल निःस्वार्थ भावले प्रधानमन्त्री जंगको मद्धत गरेको थिएन, आफ्नो स्वार्थलाई भित्रभित्रै दबाएको थियो । जे होस्, जंगले आफ्नो बुद्धिमानी र चातुर्य दर्शाए भन्न सकिन्छ ।

वि.सं. १९०६, तदनुसार सन् १८४९ मा पूर्व मेचीदेखि पश्चिम डोटीसम्म ठूलो चौडा बाटो बनाउन र बाटोको दायाँ–बायाँ रूखसमेत लगाउनको निमित्त तीन लाख रुपैयाँ निकासा गरेर जंगले सर्वप्रथम नेपालमा राजमार्ग निर्माणको शुरु गरेका थिए ।

त्यतिबेला बिफरलाई पहाडतर्फ दैवी प्रकोप सम्झिन्थ्यो । धेरैको यस रोगबाट मृत्युसमेत हुन्थ्यो भने धेरै कुरूपसमेत हुन्थे, तसर्थ जंगले ‘बिफर खोपाउने’ विधि नेपाल अधिराज्यभर लागू गरी ठाउँ–ठाउँमा कर्मचारीहरू खटाए । पहाडतर्फ कहीँ–कहीँ यस कार्यको घोर विरोधसमेत जनताले गरी कान्ति नै गर्लान् झैँ गरे । ती पहाडिया सोझाहरूले आफ्नो पुराना रुढिवादीपनमा विश्वास गर्ने हुँदा ‘खोपाउने’ कार्यलाई दुस्मनसमान नै सम्झन्थे, तापनि यस कार्यलाई जंगबहादुरले सफल नै गरिछाडे ।

चौतारिया गुरुप्रसाद शाहको जाल अझै अन्त्य भएको थिएन । वि.सं. १९०६ वैशाख, तदनुसार सन् १८४९ मेमा जंगकी एक सुसारे (जो पहिले कुनै एक चौतारियाको घरकी सुसारे रहिछिन्) लाई उनको दाजुमार्फत लोभ–लालच देखाएर जंगबहादुरको खानामा ‘सङ्ख्या–विष’ हाली खुवाई मार्ने तयारी भएको थियो । तर, संयोगले अर्की सुसारेले मौकामै सो कुरा थाहा पाइछन् र जंगबहादुरलाई जाहेर गरिदिएकी हुँदा ती सुसारे पक्राउ परिन् । जंगको हत्या गर्न खोज्ने सुसारेलाई केरकार गर्दा उनले आफ्नो दाजुले सिकाएबमोजिम जंगबहादुरको खानामा विष हाल्न ठीक गरेकी हुँ भनी साबिती बयान दिइन् । ती सुसारेको दाजुलाई पक्री ल्याई केरकार गर्दा चौतारिया गुरुप्रसाद शाहले ‘सङ्ख्या विष’समेत दिई पठाई जंगको खानामा हाली हत्या गर्न लगाउनू भनी पठाएको साबिती बयान गरेकाले ती दुबै दाजु–बहिनीहरूले आजीवन कैदको सजाय पाए । पुनः चौतारिया गुरुप्रसाद शाहको जाल विफल भयो ।

आखिर थकित भई चौतारिया गुरुप्रसाद शाहले प्रधानमन्त्री जंगबहादुरसमक्ष आत्मसमर्पण गरी माफीसमेत मागे । जंगले उनलाई माफी मात्र होइन कि उनको हरिएको सम्पत्ति सबै फिर्ता दिलाए र सेनामा ‘कर्णेल’ पदसमेत दिए । यसरी जंगले आफ्नो शत्रुलाई वैगुनको बदला गुन गरी बदला लिए । करिब वर्ष दिन काठमाडौंमा बसेर नोकरी गरेपछि कर्णेल चौतारिया गुरुप्रसाद शाहले जंगको इजाजत लिएर तराई बरेवामा जग्गा खरिद गरी जागिरबाट राजीनामा गरे । आखिर बरेवामै खेती गरी बसोबास गरे । उनको छोरा चौतारिया हिम्मतबहादुर शाहलाई उनको ठाउँमा कर्णेलको पद दिई काठमाडौंमै राखियो ।

(‘श्री ३ हरूको तथ्य वृत्तान्त’बाट)