प्रमदाको प्रश्न -बोलेनन् भन्दैमा रेटिरहने ?

प्रमदाको प्रश्न -बोलेनन् भन्दैमा रेटिरहने ?


प्रमदा शाह मानव अधिकारको क्षेत्रमा कार्यरतहरूका लागि परिचित नाम हो । महिलामाथि हुने हिंसाको क्षेत्रमा कार्यरत संस्था साथीकी पूर्वअध्यक्ष प्रमदा अहिले अग्नि-हिंसापीडित नेपालमा रहेर हिंसापीडित महिला तथा पशुअधिकारको क्षेत्रमा समेत कार्यरत हुनुहुन्छ । फेसबुक प्रयोगकर्ताहरूको समूह नेपाल युनाइट्समा समेत सक्रिय उहाँ अहिले वलिप्रथाको विरुद्धमा खुलेरै लाग्नुभएको छ । दसैँ नजिकिँदै रहेको बेला पशुबलिको साटो नरिवल, कुभिण्डोलगायतको बलि दिनका लागि उहाँसम्बद्ध संस्था एनिमल नेपालले सबैमा आग्रह गरेको छ । कुनै समय राजदरबारको नातेदारको रूपमा बेग्लै जीवन बाँच्दा पनि उहाँ सामाजिक काममा व्यस्त हुनुहुन्थ्यो । राजा वीरेन्द्र र ज्ञानेन्द्रकी माइली दिदी शारदा राज्यलक्ष्मीदेवी शाह र कुमार खड्गविक्रमकी बुहारी प्रमदालाई मानिसहरू ससुराको बिँडो थामिरहेकी बुहारीका रूपमा पनि हर्ेर्ने गर्छन् । पुस्तकप्रेमी कुमार खड्ग विभिन्न सामाजिक कार्यमा संलग्न हुनुहुन्थ्यो, अधिराजकुमारी शारदा र कुमार खड्गको राजदरबार हत्याकाण्डमा देहान्त भएको थियो । प्रस्तुत छ, घटना र विचारले विविध विषयमा उहाँसँग गरेको कुराकानी-
० महिला अधिकारलाई मानव अधिकारसँग जोडेर वकालत गर्दागर्दै तपाईं त पशु अधिकारतिर पो लाग्नुभयो त ?
– हो, म पशुअधिकारको आन्दोलनमा लागेकी छु, यसको अर्थ महिला अधिकारको आन्दोलनबाट अलग भएँ भन्ने होइन । हामीकहाँ जनावरलाई पनि दुख्छ भन्ने भावना नै छैन । जथाभावी पिट्ने, दुर्व्यवहार गर्ने कुराले मलाई असाध्यै छुन्छ । ठाउँठाउँमा खुलेका इँटाभट्टामा भारी बोक्ने गधाको जीवनको बारेमा हामीकहाँ कसले सोच्ने ? नेपालगञ्जमा दर्जनौँ मानिस बोकेर हिँड्ने टाँगालाई दौडाउन जुन प्रकारले कुटपिट गरिन्छ त्यसमा दया कसले देखाउने ? उनीहरू बोल्न सक्दैनन्, प्रतिकार गर्न सक्दैनन् भनेर जे पनि गर्ने गरिएको छ । मानिसले जनावरप्रति गरेको व्यवहारले कहिलेकाहीँ मलाई हामी किन यति धेरै क्रूर भएका जस्तो लाग्छ । बोल्दैनन् भनेर लाटा मानिसलाई कुट्नु र जनावरलाई पिट्नुमा केही फरक छैन, त्यसैले पशुका बारेमा जनचेतना जगाउनु जरुरी भएको मैले ठानेँ ।
० मान्छेको बारेमा वकालत गर्न सजिलो हुँदो रैछ कि पशुको ?
– मान्छेकै सजिलो, आफूमाथि भएको पीडा र दुर्व्यवहार भन्न नसक्ने भएकाले पशुको कुरा मानिसलाई बुझाउनै गाह्रो छ । आफूलाई कति कुराको तनाव छ, पशुको कुरा भन्नेहरूको सङ्ख्या पनि धेरै छ ।
० तपाईं हिन्दू धर्म-संस्कारलाई मान्ने मान्छे, पशुबलिको विरोध गरिरहनुभएको छ, कति देवी त भोग खाने नै हुन्छन् नि ? यो कुरा त धर्मलाई नै चुनौती भएन र ?
– हो, म हिन्दू धर्म-संस्कारमा हुरि्कएकी र यही संस्कारलाई मान्ने मान्छे हुँ । तर, हिन्दूधर्मले रगत र बलिलाई निर्विकल्प रूपमा हेरेको छैन । यदि त्यस्तो हुँदो हो त नरिवल, कुभिण्डोजस्ता कुराहरूको बलि दिने अवधारणा नै आउने थिएन । पुरातन मूल्य-मान्यताकै कुरा गर्ने हो भने कुनै बेला नरबलि दिने चलन पनि थियो, मानिसको हितमा नभएकोले हामीले नरबलि हटायौँ, जनावर बोल्न सक्दैनन् भनेर रेटिरहेका छौँ । दसैँमा दुर्गा भवानीलाई बलि दिने गरिएको छ, दुर्गा भनेको सबैकी आमा हुन्, आफ्नै सन्तानको बलि उनले कसरी माग्छिन् र ?
० प्रसङ्ग बदलौँ, तपाईं राजदरबारको नातेदार, राजा हुँदा र नहुँदा के फरक हुँदोरहेछ ?
– म दरबारको नातेदार मात्र नभई यो देशको उत्तरदायी नागरिक पनि हुँ । नातेदारको रूपमा मलाई खासै फरक परेको छैन, हामी हिजो पनि पारिवारिक जमघटहरूमा जान्थ्यौँ, सरकारहरूको दर्शन र भेटघाट गथ्र्यौं, आज पनि गरिरहेकै छौँ । एउटा नागरिकको रूपमा भने मलाई यो मुलुकबाट राजसंस्था हटाउँदा असाध्यै नरमाइलो लागेको छ, त्यति पुरानो संस्थालाई बिनाजनमतसङ्ग्रह जसरी हटाइयो त्यो दुःखलाग्दो कुरा हो । इतिहास भन्ने कुरा मेटाउन जति सजिलो छ, बनाउन त्यति सजिलो छैन, कम्तीमा सांस्कृतिक राजा यो मुलुकलाई आवश्यक थियो । हाम्रोजस्तो विविध संस्कृति भएको मुलुकमा सांस्कृतिक राजा अहिले पनि आवश्यक छ जस्तो लाग्छ मलाई । संविधान बन्नुअघि राजसंस्थाबारे जनमतसङ्ग्रह हुनुपर्छ, जे परिणाम आउँछ त्यही आधारमा राज्यप्रमुखको स्वरूप निर्धारण गरिनुपर्छ जस्तो लाग्छ मलाई । यो कुरा मैले राजाको नातेदारका रूपमा भनेको होइन, एउटा नेपाली नागरिकका रूपमा मलाई मात्र होइन धेरैलाई यस्तो लागेको छ ।
० अरूले गर्ने व्यवहारमा चाहिँ के फरक हुँदोरहेछ नि ?
– खै मलाई त खासै फरक लागेन, पहिला पनि सामाजिक काममा थिएँ, अहिले पनि छु, त्यस्तो फरक छैन । वास्तवमा भन्ने हो भने अहिले सार्वजनिक ठाउँहरूमा जाँदा सरकारहरूलाई त जनताले फरक व्यवहार गरेका छैनन्, मलाई त धेरैले त्यसरी चिन्दा पनि चिन्दैनन् । मन्दिर जाँदा होस् या अन्त काहीँ राजावरिपरिको भीड हेर्दा राजसंस्थाप्रतिको श्रद्धा मानिसहरूमा अहिले पनि उत्तिकै छ कि जस्तो लाग्छ ।
० तपाईं त फेसबुक अभियानकर्ताको रूपमा संविधान निर्माणको दबाब कार्यक्रममा पनि संलग्न हुनुहुन्छ, के भइरहेको छ अहिले ?
– हरेक मानिसको नागरिक हुनुको कर्तव्य पनि हुन्छ । सबै नेपाली नागरिक एक भएर समयमै संविधान निर्माण गरेमा विदेशीले चलखेल गर्न पाउँदैनथे जस्तो लाग्छ । देशका लागि सबै नेपाली मिलेर केही गरौँ भन्ने हाम्रो मान्यता हो, नेपाल युनाइट्सको अर्थ पनि यही हो ।
० भविष्यमा राजनीति गर्नका लागि पृष्ठभूमिको तयारीको रूपमा यो सक्रियतालाई लिँदा के होला ?
– अलि गलत हुन्छ कि जस्तो लाग्छ । मुलुकको राजनीतिक परिस्थितिका बारेमा मलाई हिजो पनि गम्भीर चासो थियो र आज पनि छ । तर, राजनीतिमा जानेबारे भने सोचेको पनि छैन, हामीजस्तो ‘फेयर पोलिटिक्स’को चाहना राख्नेका लागि राजनीतिमा त्यति स्थान छ जस्तो पनि लाग्दैन ।