पूर्वसचिव अर्जुन कार्कीको निवासमा दुःखद् घटना

पूर्वसचिव अर्जुन कार्कीको निवासमा दुःखद् घटना


पूर्वसचिव अर्जुन कार्कीको सानेपास्थित निवासमा घटेको रहश्यपूर्ण तथा दुःखद् घटनाले थप दुःखद् मोड लिएको छ । बिहान कार्कीका घरेलु सहयोगी युवक विजय चौधरी भऱ्याङमा झुण्डिएको अवस्थामा फेला परेका थिए भने उनी पत्नी भान्सामा रक्तमुछेल अवस्थामा भेटिएकी थिइन् ।

उपचारको लागि नजिकको स्टार हस्पिटल पुऱ्याइएकी श्रीमती मुना कार्कीको उपचारका क्रममा निधन भएको सम्बन्धित चिकित्सकलाई उद्धृत गर्दै महानगरीय प्रहरी प्रभाग सानेपाले जनाएको छ ।

पूर्वसचिव अर्जुनकी पत्नी मुना अचेत अवस्थामा फेलापर्नु र घरेलु कामदार झुण्डिएको अवस्थामा भेटिनु आफैमा रहश्यपूर्ण रहेको र यसबारे प्रहरी अनुसन्धानलाई तीव्रता दिइएको बुझिएको छ । चौधरीले आत्महत्या गरेका हुन् कि विषयबस्तु अरू नै हो भन्नेमा प्रहरी निचोडमा पुगिसकेको छैन । बताइएअनुसार उनको शवमा कुनै चोटपटक छैन ।

ज्ञातव्य छ, प्रशासनसम्बन्धी विभिन्न मामलामा चर्चामा आइरहने पूर्वसचिव कार्की आर्थिक मामलामा पनि चर्चामा रहेका व्यक्ति हुन् । कार्कीको घर–परिवारमा कुनै झमेला रहे–नरहेको बारेचाहिँ यसअघि खासै समाचार सार्वजनिक भएको थिएन ।