भारतको सहयोगमा निर्मित विद्यालय भवनको प्रचण्डद्वारा उदघाटन

भारतको सहयोगमा निर्मित विद्यालय भवनको प्रचण्डद्वारा उदघाटन


भूकम्पपश्चातको पूनर्निर्माण परियोजनाअन्तर्गत भारत सरकारले नुवाकोटको किस्पाङमा ऐंसेलुभूमे माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण गरिदिएको छ । उक्त विद्यालय भवनको औपचारिक उद्घाटन सोमबार (२७ माघ) भूतपूर्व प्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन् ।

नवनिर्मित उद्घाटन समारोहमा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ पनि उपस्थित थिए भने भारतीय राजदूतावासको पूनर्निर्माण प्रभागका प्रथमसचिव श्रीमती सुचिता किशोरबाट दूतावासको प्रतिनिधित्व गरिएको थियो ।

नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त उक्त ऐंसेलुभूमे माध्यमिक विद्यालय सन् १९९० (वि.सं. २०४६ साल) मा स्थापना भएको हो । यस विद्यालयले करिव ६ सय ३७ विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ ।

भारत सरकारको ३ करोड ९५ लाख ७० हजार अनुदान सहयोगमा निर्मित यस नयाँ संरचनामा तीनवटा ब्लक रहेका छन् । यस विद्यालयको तीनतले शैक्षिक भवनमा ६ वटा कक्षा कोठा रहेका छन् भने दुई तल्ले शैक्षिक भवनमा चार वटा कक्षाकोठाका साथै फर्निचर र छात्रछात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले सो परियोजनाको कार्यान्वयन गरेको बताइएको छ ।

नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको उल्लेख गर्दै भूकम्पपश्चातको पूनर्निर्माण परियोजनालाई सम्पन्न गर्नका निमित्त नेपाल सरकार र नेपाली जनतासँग निरन्तर सहकार्य गर्न भारत सरकार प्रतिबद्ध रहेको दूतावासले जनाएको छ ।