अन्ततः गृहमन्त्रीका भाइ जाने नै भए जेल

अन्ततः गृहमन्त्रीका भाइ जाने नै भए जेल


व्यवसायीहरूलाई धम्क्याएर रकम असुल गर्ने धन्दामा संलग्न गिरोहको सदस्य रहेको अभियोगमा मुद्दा चलेर पनि उच्च पारिवारिक पहुँचको आधारमा उम्किएका नरेश थापा मगरले जेल जानैपर्ने अवस्था निम्तिएको छ ।

फिरौती रकम उठाउने गिरोहसँगको मिलिभगतमा व्यवसायीलाई धम्क्याएर रकम असुलेको अभियोगमा थापालाई पक्राउ गरी मुद्दा चलाइएकोमा काठमाडौं अदालतका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले उनलाई गत असोज १ मा एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, थापाविरुद्धको ‘आपराधिक लाभ र संगठित अपराध’ मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेश उल्टाउँदै उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र श्रीमणकुमार गौतमको संयुक्त इजलासले थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

नरेश थापा गृहमन्त्री रामबहादुर थापाका सहोदर भाइ हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको गत ०७४ असोज २३ का दिन कारठमाडौंको शान्तिनगर खरिबोटमा गरिएको हत्यामा संलग्न समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीसँग रकम असुल गर्ने समूहका सदस्यहरूसँग नरेश थापाको मिलिभगत रहेको प्रहरी अनुसन्धानबाट देखिएको थियो ।

थापालगायत अन्य पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाउँदा जिल्ला अदालतले ती पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाए पनि थापालाई एक लाख धरौटीमा रिहा गरिदिएको थियो । उच्च अदालत पाटनको आदेशपछि थापा पनि अब अन्य अभियुक्तसँगै मुद्दाको किनारा नलागुञ्जेलसम्म जेलमै रहने भएका छन् ।