चीनबाट नेपाली नागरिक स्वदेश ल्याउने तिथि तय

चीनबाट नेपाली नागरिक स्वदेश ल्याउने तिथि तय


चीनको वुहानमा कोरोना भाइरसको त्रास बोकेर अल्झिएका आफ्ना नागरिकलाई स्वदेश ल्याउन ढिलाई गरेर आलोचित बन्न पुगेको नेपाल सरकारले वुहानबाट नेपाली फर्काउने दृढता प्रकट गरेको छ । चौतर्फी आलोचना बढेपछि मंगलबार (२८ माघ) बसेको मन्त्रिपरिषद बैठकले आगामी फागुन ३ गते चीनमा रहेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाका अनुसार चीनबाट पहिलो चरण १ सय ८५ जनालाई स्वदेश ल्याइने छ । चीनबाट ल्याइएकाहरुलाई क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र भवन खाली गराएर आवश्यक तयारी शुरु गरिएको छ । तथापि, स्थानीय वासिन्दाले आफ्नो इलाकामा चीनबाट फर्काइएका नेपालीलाई क्वारेन्टाइनमा राख्न नहुने भन्दै विरोध जनाइरहेका छन् । सरकारले चाहिँ कडा सुरक्षा प्रबन्धका साथ तयारी अघि बढाएको छ ।