झापामा पनि हजार बिघा जग्गा अतिक्रमणमा परेको खुलासा

झापामा पनि हजार बिघा जग्गा अतिक्रमणमा परेको खुलासा


झापाको सरकारी, सार्वजनिक र गुठीको स्वामित्वमा रहेको एक हजार बिघाभन्दा बढी जग्गा अतिक्रमणको चपेटामा परेको कमल गाउँपालिकका अध्यक्ष मेनुका काफ्लेले दाबी गरेकी छन् । झापाको गौरादह, कनकाई, दमक, विर्तामोड, मेचीनगर, कमल र भद्रपुरमा जग्गा अतिक्रमणको समस्या भएको उनको भनाई छ ।

नेपाल सरकारले सरकारी, सार्वजनिक र गुठीको जग्गा अतिक्रमणसम्बन्धी जाँचबुझ गर्न गत जेठ ६ गते गठन गरेको आयोगले झापामा आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा उनले जग्गा अतिक्रमणबारे खुलासा गरेकी हुन् ।

लखनपुरस्थित सशस्त्र प्रहरीको प्रदेशस्तरीय तालिम केन्द्रको २५० बिघा र रतुवामाई वृक्षरोपण आयोजनाको ६६४ बिघा जग्गा व्यक्तिले अतिक्रमण गरेको जानकारी दिँदै अध्यक्ष काफ्लेले सो जग्गा जिल्लाबाहिरका भूमाफियाले कीर्ते कागजात खडा गरी निजी नाममा दर्ता गरिसकेको भेटिएको हुँदा त्यसलाई फिर्ता गराउन स्थानीय तहबाट पहल भइरहेको बताइन् ।

सोही कार्यक्रममा नेपाल बार एशोसिएसन झापाका अध्यक्ष लेखनाथ निरौलाले मेचीनगर नगरपालिकाको प्यारीभिट्टामा २८ बिघा जमीन र कनकाई नगरपालिकास्थित कनकाई नदीको उकास क्षेत्रमा सयौँ बिघा जग्गा अतिक्रमणको चपेटामा परेको बताए भने डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले मठमन्दिर, खेल मैदानको नाममा स्थानीय तहले नै वनको जग्गा अतिक्रमण गरिरहेको आरोप लगाए ।

यस्तै, विर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुव शिवाकोटीले विर्तामोड–३ स्थित देवी गुठीको नाममा रहेको १२ बिघा जग्गा भूमाफियाले व्यक्तिका नाममा दर्ता गरेर हड्प्न खोजे पनि त्यसलाई रोक्न पहल भइरहेको जानकारी दिए । डोमालाल रङ्गशाला रहेको सो जग्गा व्यक्तिका नाममा भोगलचन गर्न दिनु भनी सर्वोच्च अदालतले बद्नियतपूर्ण फैसला गरेको उनको आरोप थियो ।

सञ्चारकर्मी गणेश पोखरेलले झापामा कति र कहाँको जग्गा अतिक्रमित भएको छ भन्ने अभिलेख कुनै पनि कार्यालयसँग नरहेकोले भूमाफियाको मनोबल बढेको बताए भने मालपोत कार्यालयका प्रमुख जनार्दन भट्टराईले मालपोत कार्यालयसँग अतिक्रमित जग्गाको अभिलेख नरहेको स्वीकार गरे ।

कार्यक्रममा झापा सिडिओ उदयबहादुर रानामगरले आयोगलाई दमकको बालुवाटार, कनकाईको नदी उकास क्षेत्र, विर्तामोडको डोमालाल रङ्गशाला र मेचीनगरको प्यारीभिट्टाको अतिक्रमित जग्गाको अनुगमन गर्न आग्रह गरेका थिए ।