प्रेममा धोका सहन गर्न नसक्दा सप्तकोशीमा समाहित

प्रेममा धोका सहन गर्न नसक्दा सप्तकोशीमा समाहित


आफूले प्रेम गर्दै आएको युवतीले धोका दिएर अर्कैसँग विवाहको तयारी गरेपछि इटहरीका एक युवाले मंगलबार (२८ माघ) नदीमा फाल हानेका छन् । इटहरीमा सेकुवा कर्नर सञ्चालन गर्दै आएका ३१ वर्षीय राजेश बानियाँले आफ्नी प्रेमिकाले अर्कै केटासँग विवाहकोे लागि ‘इन्गेजमेन्ट’ गरेपछि फेसबुकमार्फत जानकारी दिएर यस्तो कदम चालेका प्रहरीले जानकारी दिएको छ ।

इटहरी–१०का राजेशले आफ्नो फेसबुक वालमा ‘दश वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विनाकारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो । केही छैन । आशा छ, तिमीले संसारका सबै खुसी पाउनेछौ । गुडबाइ इसु, आशा छ तिमीले मलाई माफ गर्नेछौ’ भन्ने लेखेका छन् ।

मंगलबार अपरान्ह अन्दाजी पाँच बजेतिर राजेश बानियाँले सुनसरी बराहक्षेत्रस्थित सप्तकोसी नदीमा हामफालेका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । बानियाँले हाम फालेको स्थाननजिकै सडकमा उनले प्रयोग गर्दै आएको ‘को. ३७ प ७’ नम्बरको बुलेट मोटरसाइकल फेलापरेको बताइएको छ ।

नदीमा फालहानेका राजेशको अवस्थाबारे तत्काल खोजतलास गर्दा कुनै जानकारी नमिलेको र बुधबार बिहानबाट विशेष तवरले खोजी कार्य गरिने प्रहरीले जनाएको छ ।