खतरामा राजधानी

खतरामा राजधानी


घटना र विचारको वैशाख १५ को अङ्कमा प्रकाशित बमप्रसाद श्रेष्ठको लेख ‘यसरी भुइँचालो निम्त्याउँदै छ राजधानी’ उपयोगी लाग्यो । अव्यवस्थित र जथाभावी भवन निर्माणकार्यले आजको काठमाडौं कति खतरायुक्त बन्न पुगेको छ, लेखले बुझ्न सघाउँछ । जमिनबाट भारी मात्रामा जथाभावी पानी निकाल्ने प्रवृत्ति काठमाडौंका लागि सामान्य विषय बनेको छ । तर, यसरी पानी निकालेर जमिनमुनिको तह खोक्रो तुल्याउनुको अर्थ भोलि खण्ड-खण्ड गरेर यो उपत्यकालाई भसाउनुबाहेक अरू केही हुन सक्दैन । प्राकृतिक रूपले आउने भूकम्पको खतरा आफ्नै ठाउँमा छ, तर जानाजान यसरी कृत्रिम भूकम्प पनि निम्त्याउँदै छौँ हामी । यस्ता विषयमा ध्यान पुर्‍याएर आवश्यक नीति-नियम लागू गरी सहर व्यवस्थित तुल्याउनुपर्ने निकायहरूको निकम्मापनमाथि औंला उठाउनेदेखि आवश्यक सुझाब दिनेसम्मको सत्कार्य लेखकले गर्न भ्याएका छन् । घटना र विचारले यस्तै समसामयिक र ज्ञानबर्द्धक सामग्री प्रकाशनमा जोड देओस् ।
-निशान गुरागाईं, बालकुमारी, ललितपुर

पत्रकार भन्दाभन्दै किन पिटियो ?
गत २३ गते बिहीबार राति १०:३० बजे अनामनगरस्थित जनदिशा दैनिकको काम सकेर आफ्नो कोठातिर जाँदै गर्दा कार्यालयबाहिर जनदिशाका वरिष्ठ संवाददाता एवम् नेपाल पत्रकार महासङ्घका सभासद् मनोज र्घर्तीमगरलाई प्रहरीले अनाहक पक्रिएर निर्घरा पिट्यो । पत्रकार र्घर्तीले आफू पत्रकार रहेको र कार्यालयबाट काम सकी कोठामा जान लागेको भनी आफ्नो परिचयपत्र देखाएका थिए । तर, प्रहरीले उल्टै धम्कीपूर्ण भाषा प्रयोग गर्दै मगरलाई कुट्दै सिंहदरबार वैद्यखानामा रहेको प्रहरी प्रभाग पुर्‍यायो । कुटपिटबाट मगरको एउटा हातको पाता नै नचल्ने भएको छ र शरीरभरि नीलडाम रहेको छ । पत्रकार भनेर परिचय दिँदादिँदै पनि प्रहरीले कुट्दै चौकीमा लैजाने काम गरेबाट हामीलाई निकै गम्भीर बनाएको छ । यसबाट विगतको भद्दा संसदीय दमन-संस्कृतिको पुनरावृत्ति भएको छ । यस्तो कार्यको निन्दा र भत्र्सना गर्दै आयन्दा यस्तो हरकत नदोहोर्‍याउन सम्बन्धित पक्षसँग माग गर्दछँ ।
-महेश्वर दाहाल, संयोजक
क्रान्तिकारी पत्रकार सङ्घ, नेपाल

छिमेकीलाई गाली गर्नुअघि आफैंलाई नियाल्ने कि ?
शान्ति र संविधानका लागि भन्ने नारा दिएर कथित तेस्रो जनआन्दोलन सुरु गरेको नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मे दिवसमा दिएको भाषणका क्रममा घुमाइफिराइ छिमेकी भारतको विरोध गर्न चुकेनन् । तुलनात्मक रूपमा यसअघिको भन्दा नम्र या शिष्ट भाषामा बोले पनि नेपालको राजनीतिमा भारतले हस्तक्षेप गर्दै आएको र असमान सन्धिका कारण नेपाल थिचाइमा परेको कुरा उनले व्यक्त गरे । ‘भारत नेपालको मित्र होइन पराया नै हो, उसको कुनै भूमिका यहाँ जरुरत छैन’ भन्ने नै उनको कथनको आशय थियो । माधव नेपाल नेतृत्वको सरकारलाई पनि सतप्रतिशत भारतीय ‘गोटी’का रूपमा माओवादीले चित्रित गर्दै आएको छ । यसरी, पूर्वदेखि पश्चिमसम्म खुल्ला सिमाना भएको, रोटी-बेटीको सम्बन्ध रहेको छिमेकी मित्रराष्ट्रसँग पानी बाराबारको सम्बन्ध बनाउन उद्यत् रहेको कुरा जनताका अगाडि गर्ने उनै प्रचण्डले माओवादी-आमहडतालको पाँचौँ दिन भारतीय राजदूतसँग साक्षात्कार गर्न पुगे । भेटमा समसामयिक राजनीतिबारे छलफल भएको र शान्ति, संविधान, नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधीनताको सुनिश्चितताका लागि जनता सडकमा उत्रिएको आफूले राजदूत सुदलाई प्रस्ट पारेको कुरा प्रचण्डले सार्वजनिक गरे । तर, के त्यति सुनाउन मात्रै उनले राजदूत सुदसँग भेटघाट गरेका होलान् त – एकान्तमा अरू के-के कुरा गरे ? सत्ताका लागि गुहार मागेनन् होला ? माधव नेपाललाई गोटी भन्ने प्रचण्ड आफैं गोटी बनेको ठहरिएन यसबाट ? वास्तवमा छिमेकीप्रतिको प्रचण्ड-रोष सत्ता नपाउनुको आक्रोश मात्र हो भन्ने प्रस्ट छ । जुन शैलीमा भारतको सत्तोसराप गर्ने र फेरि काइते भाषामा फकाउन खोज्ने प्रचण्ड-शैली छ, यो नेपाल र नेपालीको हितमा त छैन नै, स्वयम् प्रचण्ड र माओवादीलाई पनि यसले बेफाइदा नै पुर्‍याइरहेको अवगत गराउँदछौँ ।
– रवि प्राञ्जल र मुन शर्मा अधिकारी, कपन, काठमाडौं

नेता प्रचण्डबाट अपेक्षा
घटना र विचारले प्रचण्डका दुई विकल्प औंल्याएअनुसार नै प्रचण्ड ‘बहादुरी’साथ पछि हट्न पुगेका छन् । सरकारले जनता-जनताबीच लडाइँ गराउन थालेकोले आफूहरू पछि हट्नुपरेको तर्क प्रचण्डले गरेका छन् । यसरी जनता-जनताबीच लडाइँ हुनुहुन्न भन्ने बुझेका प्रचण्डजीले अब कदापि युद्ध, हतियार र अप्रासङ्गिक आन्दोलन-हडतालका कुरा गर्नुहुने छैन, सुझबुझका साथ परिपक्व राजनीतिक नेतृत्व दिएर मुलुकको बेडा पार लगाउनु होला भन्ने हाम्रो अपेक्षा र अनुरोध छ ।
– सालिक, समिता घिमिरे, रचना सिंखडा
र आसुतोष, काठमाडौं