चार करोड सहयोगमा चन्द्रकोट क्याम्पसको भवन निर्माण

चार करोड सहयोगमा चन्द्रकोट क्याम्पसको भवन निर्माण


गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकास्थित चन्द्रकोट क्याम्पसलाई चार करोडभन्दा ज्यादा आर्थिक अनुदान सहयोग उपलब्ध गराएर भारत सरकारले नयाँ क्याम्पस भवन निर्माण गरिदिएको छ । नवनिर्मित सो क्याम्पस भवनको बुधबार (१२ फेब्रुअरी) उदघाटन गरिएको छ ।

चन्द्रकोट क्याम्पस परिसरमा आयोजित क्याम्पस भवन उद्घाटन समारोहमा भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका काउन्सिलर डा. प्रफुल्लचन्द्र शर्माले दूतावासको प्रतिनिधित्व गर्दै भारतको सहयोगमा नवनिर्मित संरचनाले विद्यार्थीहरूको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरे । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पूरा गर्ने सहयोगीको रुपमा रहेको परियोजनासँग जोडिन पाएकोमा भारत सरकारको तर्फबाट उनले खुशी प्रकट गरे ।

उदघाटन समारोहमा चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्री, जिल्ला समन्वय अधिकारी भक्तिराम मरासिनीलगायत स्थानीय राजनीतिक तथा सामुदायिक अग्रजहरूकोे उपस्थिति थियो ।

निम्न आर्थिक अवस्थाका कारण पाल्पा, बुटवल, काठमाडौं आदि शहरसम्म पुगेर उच्च शिक्षा हासिल गर्न असमर्थ विद्यार्थीहरूलाई उच्च शिक्षा अध्यापन गराउने उद्देश्यका साथ स्थानीय जनताको पहलमा सन् २००८ मा चन्द्रकोट क्याम्पसको स्थापना भएको थियो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस सामुदायिक क्याम्पसले स्नातक तहमा मानविकी, व्यवस्थापन तथा सामाजिक विज्ञान विषयको अध्यापन गराइरहेको छ ।

सो क्याम्पसमा ९० प्रतिशत भन्दा बढी छात्रा अध्ययनरत छन् भने क्याम्पसको अभावमा उच्च शिक्षाबाट बञ्चित हुनुपरेको सो क्षेत्रका आर्थिक तथा सामाजिक रुपले विपन्न, पिछडिएका विद्यार्थी, विशेष गरी छात्राहरूका लागि विद्यालयको स्थापनाले उनीहरुको उच्च शिक्षा हासिल गर्ने इच्छालाई साकार बनाएकोे छ ।

ज्ञातव्य छ, भारत सरकारको चार करोड ९ लाख ९० हजारको अनुदान सहयोगमा यो तीनतले नयाँ भवन निर्माण भएको हो । नवनिर्मित संरचनामा १२ वटा कक्षा कोठा, कार्यालय भवनका साथै प्रत्येक तलामा छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको छ भने गुल्मीे जिल्ला समन्वय समितिले सो परियोजनाको कार्यान्वयन गरेको जानकारी दिइएको छ ।