आवागमन बाक्लिएपछि धादिङ र गोरखा जोड्ने झोलुङ्गे पुलमा ताला

आवागमन बाक्लिएपछि धादिङ र गोरखा जोड्ने झोलुङ्गे पुलमा ताला


■ विकास रौनियार, धादिङ

सिङ्गो देश लकडाउनमा भए पनि राजधानी उपत्यकाबाहिरका जिल्लाहरूमा यसको प्रभाव नपरेको पाइएको छ । मानिसहरुरको आवागमन बढ्न थाले पनि स्थानीय प्रहरी प्रशासनले विभिन्न उपाय लगाएर लकडानमा कडाई गर्न थालेका छन् ।

यसक्रममा आवागमन रोक्न धादिङ र गोरखा दुई जिल्ला जोड्ने झोलुङ्गे पुलमा ताला लगाइएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ रोकथामका लागि सरकारले गरेको लकडाउन उल्लङ्घन हुन थालेपछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ र गोरखाको भीमसेन थापा गाउँपालिका–८ जोड्ने पुलमा ताला लगाइएको हो ।

आफ्नो वडा भन्दा बाहिरको मानिसहरु घुम्न, आवतजावत गर्न, ‘ससुराली, आफन्त भेटघाट गर्न भन्दै मान्छेहरु गाउँमा आउने क्रम बढ्न थालेपछि प्रहरी र स्थानीयवासीकै सक्रियतामा झोलुङ्गेपुलमा आवतजावत गर्न रोक लगाइएको हो । झोलुङ्गे पुलको वारी र पारी दुवैतिर साङ्ला बाँधेर ताला लगाइएको छ । तालाबन्दीपछि आवागमन पूरै नियन्त्रण हुने सम्बन्धित वडाध्यक्षहरुले जनाएका छन् ।

स्थानीय टोल सुधार समिति, प्रहरी, सरोकारवालालगायतका निकायसँग समन्वय गरी ताला लगाइए पनि अत्यावश्यक काम परेकालाई भने ताला खोलेर पुल पार गर्न दिइने बताइएको छ ।