विवाद चर्काउन खोज्दाखोज्दै राष्ट्रपतिबाट अध्यादेश जारी भएको खबर आएपछि…

विवाद चर्काउन खोज्दाखोज्दै राष्ट्रपतिबाट अध्यादेश जारी भएको खबर आएपछि…


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठक सोमबार (८ वैशाख) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । सोमबारकै मन्त्रिपरिषद बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याइएपछि आकस्मिक रुपमा पार्टीको सचिवालय बैठक बोलाइएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद्ले निर्णय गरी अघि बढाएका अध्यादेशहरूबारे जानकारी दिइएको बताइएको छ ।

बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा बैठकमा पार्टीका अध्यक्ष ओलीले अध्यादेशहरू जारी गर्न निर्णय गर्नुको औचित्यबारे बैठकलाई जानकारी गराउनुभएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार बैठकमा सचिवालय ससदस्यले यससम्बन्धी विधि, प्रक्रिया र समय सन्दर्भलगायतमा आ-आफ्नो धारणा राखेका थिए । कतिपय सदस्यले विश्वभर कोरोना महामारी फैलिएको बेला उक्त अध्यादेश आउन नहुने भन्दै बैठकमा कुरा उठाए पनि छलफलकै क्रममा राष्ट्रपतिबाट अध्यादेश स्वीकृत गरिएको खबर आएपछि त्यसबारेको बहस एकाएक साम्य भएको बुझिएको छ ।

राष्ट्रपतिले आजै ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्नुभएको हो । सचिवालय बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा कोरोना सङ्क्रमणविरूद्ध जारी लडाइँमा सिङ्गो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा विशेष जोड दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्राप्त जानकारी अनुसार सरकारले ल्याएको अध्यादेशबारेको विषय बैठकमा चर्काउन खोजिए पनि राष्ट्रपतिबाट पारित भइसकेको सूचना आएपछि ‘यस्ता महत्वपूर्ण विषयहरु पार्टीमा छलफल गरेर मात्र निष्कर्षमा पुग्नुपर्ने’ कुरामा सहमति जनाउँदै बैठक टुंगिएको थियो ।

यो पनि हेर्नुहोस्-
सरकार बदल्न प्रचण्ड फेरि सक्रिय !
तरङ्गित नहुन बास्कोटाको आग्रह