शान्तिका नाममा आत्मसमर्पण गर्न सकिन्न-मोहन वैद्य ‘किरण’ (उपाध्यक्ष, एनेकपा माओवादी)

शान्तिका नाममा आत्मसमर्पण गर्न सकिन्न-मोहन वैद्य ‘किरण’ (उपाध्यक्ष, एनेकपा माओवादी)


० शान्ति र संविधानका लागि गरिएको सातबुँदे सम्झौताको तपाईंहरू किन विरोध गर्दै हुनुहुन्छ ?
– शान्ति अथवा सेना समायोजनको प्रक्रिया सुरु गर्नुअघि राष्ट्रिय सुरक्षानीति तय हुनुपर्छ भनी हामीले भन्दै आएका छौँ, त्यो तय भएको छैन । अर्को कुरा व्यक्तिगत तवरमा होइन समूहगत आधारमा इकाइका रूपले जनसेनालाई समायोजनमा लगिनुपर्छ भन्ने हाम्रो माग हो, त्यसतर्फ पूरै बेवास्ता गरिएको छ । तेस्रो कुरा लडाकुका हतियार सरकारलाई बुझाइने भनिएको थिएन, सेनाबाट हतियार अलग गरिनु त निशस्त्रीकरण गरिएको पो भयो । मूलभूत रूपमा यिनै कारणले गर्दा हामी सातबुँदे सम्झौताको विरोध गर्न बाध्य भएका हौँ । शान्तिप्रक्रिया अर्थात् सेना समायोजनको कुरा संविधान निर्माणसँग जोडिने विषय हो । अब यहाँनेर हेरौँ, संविधान बन्ने कुराचाहिँ सब उधारो, जनसेनाचाहिँ त्यत्तिकै बलि चढ्नुपर्ने ? हामीले हतियार जुन कुरा प्राप्तिका लागि उठाएका थियौँ त्यो हासिल नभई निशस्त्रीकरणमा जान कसरी सहमत हुन सकिन्छ त –
० लडाकुहरूले त शान्ति-सम्झौताको समर्थन गरेका छन् नि !
– कहाँ सबैले समर्थन गरेका छन् -! कैयनले मनमनै विरोध गरिरहेका छन्, कतिलाई समर्थन गर्न बाध्य तुल्याइएको छ भने कैयनले त खुल्ला रूपले विरोध गरिसकेका छन् । यो पाटो एउटा छ भने फेरि लडाकुले विरोध गरे या गरेनन् भन्ने कुराले भन्दा यसले परिणाम कस्तो दिन्छ भन्नेचाहिँ महत्त्वपूर्ण हुन्छ । हामीलाई लाग्छ- यसको परिणति देश र जनताको हितमा हुँदैन ।
० यतिबेला जनमत त शान्तिकै पक्षमा छ र विश्वले पनि यसैको स्वागत गरेको छ, होइन र ?
– कहाँ छ जनमत यसको पक्षमा ? कस्तो विश्वले स्वागत गरेको छ- त्यो पनि हेर्नुपर्छ । विश्व पनि दुई प्रकारमा विभक्त छ, एउटा विस्तारवादी/साम्राज्यवादी विश्व छ भने अर्को सर्वहारावादी विश्व छ । सर्वहारावादी विश्वले यस्तो सम्झौताको समर्थन र स्वागत गर्ने कुरै आउँदैन र गरेको पनि छैन ।
० अमेरिका, भारतहरूले स्वागत गरेका छन्, विश्व समुदायको अहम् हिस्सा हुन् नि यी त ?
– तपाईंको बुझाइ होला यस्तो, यही त गलत छ । अमेरिका र भारतभित्र पनि जनता छन्, त्यो केलाएर हेर्नुपर्छ । शासकले जे भन्यो त्यही सत्य हुँदैन । समर्थन गर्ने र विरोध गर्ने दुईवटा धार छन्, त्यसैले यसलाई एकाङ्की ढङ्गले बुझन खोज्ने र व्याख्या गर्न खोज्ने काम गलत छ ।
० तपाईंका पार्टी-अध्यक्षले त सहमति कार्यान्वयन हुने ठोकुवा गरिसक्नुभएको छ, के भन्नुहुन्छ ?
– के भन्नु ! शान्तिप्रक्रियाको समुचित हल गर्ने हिसाबले फेरि द्वन्द्व पैदा नहोस् भन्ने हिसाबले प्रक्रिया अघि बढाउने कि फेरि पनि थामथुम पार्ने, टालटुल गर्ने र फेरि अर्को आन्दोलन गर्नैपर्ने खालको आधार तयार पार्ने ? मैले भनेँ नि- किसान, मजदुर, दलित, जनजाति, महिला, मधेसी, मुस्लिम गरी यावत्का समस्या समाधान गर्न बन्दुक उठाइएको थियो ! यसैका लागि त्यत्रो सहादत व्यहोर्नुपरेको छ हामीले । अब यो यथार्थ र अपरिहार्यतालाई चटक्कै बिर्सेर जथाभावी सम्झौता गर्ने र कार्यान्वयन हुन्छ भन्दै हिँड्ने कामलाई मैले के भन्ने -! जनताले नै भन्दिन्छन् नि !
० तपाईंले यसरी उठाएका मुद्दा समाधान भएनन् भने के फेरि पनि बन्दुक उठाउन तयार हुनुहुन्छ तपाईंहरू ?
– मैले के गर्छु, साथीहरूले के गर्छन् भन्ने महत्त्वपूर्ण होइन जनताले कस्तो कदम चाल्छन् भन्ने कुरा विचारणीय हुन्छ । सर्वप्रथम त अब कस्तो संविधान बन्छ भन्ने पनि हेर्नैपर्ने भयो । जनताले यस्तो क्रियाकलापको भित्रभित्रै विरोध गरिरहेका छन्, जनताले समर्थन गरे भन्ने तपाईंहरूको बुझाइ एकदम भ्रमपूर्ण छ, यो सम्झौताको पक्षमा जनता छैनन् । तर्सथ यसैगरी उल्टापुल्टा कदम चालिएर, मुद्दाहरू समाधानतर्फ नलगी बल्झाउन थालिए जे पनि हुनसक्छ ।
० होइन, पार्टी भनेको जनताकै लागि काम गर्ने निकाय हो क्यारे ! तर, जहिल्यै जे कुराको पनि विरोध गर्नैपर्ने तपाईं कस्तो पार्टीको प्रतिनिधित्व गर्दै हुनुहुन्छ ?
– पार्टी विभिन्न चरित्रका हुन्छन् । हेर्नुस्, विभिन्न वर्गको प्रतिनिधित्व गर्छन् पार्टीले । कोही पार्टी दलालको प्रतिनिधित्व गर्छन्, कोही सामन्तको प्रतिनिधित्व गर्छन्, कोही नोकरशाहको त कोही संशोधनवादीको प्रतिनिधित्व गर्छन् । जनताको प्रतिनिधित्व गर्ने पार्टी पनि हुन्छन्, त्यही कित्तामा हामी उभिएका छौँ ।
० एउटै पार्टीमा यसरी दुई फरक धार पैदा भएको छ, बहुमत अध्यक्ष प्रचण्डतिर छ भने अब तपाईंहरूको विरोध र्व्यर्थ भएन र ?
– बहुमत र अल्पमतको कुरा छोड्नोस्, जनता बहुमतमा छ कोही व्यक्ति होइन । कसैले चाहेर हुनेवाला छैन, कुरा बुझनुभो ? एकछिनका लागि ट्याकल गरेर अर्कै दृश्य देखिन सक्ला तर सत्यको विरुद्ध जान कोही सक्दैनन् । फेरि पनि म भन्छु कि हामीले १० वर्षे जनयुद्ध किन सुरु गरेका हौँ ? के जनयुद्धका लक्ष्यहरू हासिल भएका छन् ? आज शान्ति सहमतिका नाममा समर्पण गर्नेहरूले यसको जवाफ दिन सक्छन् ?
० यतिबेला प्रचण्डले जे चाह्यो त्यही गर्न सक्छन्, पार्टीपङ्क्ति उनकै प्रभाव र समर्थनमा छ, यो त सत्य हो नि ?
– कसले भन्यो व्यक्तिविशेषले जे चाह्यो त्यही गर्न सकिन्छ भनेर ? पार्टीको मर्मविपरीत उहाँ -प्रचण्ड) जान थाल्नुभयो भने उहाँको भविष्य कस्तो होला भन्न सकिन्न, तर पार्टी स्पिरिटअनुरूप आउनुहुन्छ भने एकदम स्वागत हुन्छ । त्यसो नगर्दा हामीबाट विरोध हुन्छ र विरोधका बुँदाहरू केन्द्रीय समितिमा हामीले राखिसकेका पनि छौँ ।
० त्यसो भए तपाईंहरू विरोधका लागि विरोध गर्दै हुनुहुन्छ, कि कसो ?
– होइन ! विरोधका लागि विरोध पटक्कै गरिँदैन । देशको निम्ति, जनताको निम्ति, एउटा नयाँ नेपाल निर्माणका निम्ति हामी विरोध गर्दै छौँ । यस्तो महत्त्वपूर्ण मुद्दामा हामी विरोध गरिरहेका छौँ तर तपाईंहरू विरोधका लागि विरोध भनेर अवमूल्यन गर्न खोज्नुहुन्छ, यही त विडम्बना छ । तर यसले हामीलाई केही फरक पार्दैन ।
० देश र जनता शान्ति खोजिरहेछन्, यो सम्झौताले शान्ति र संविधान दिने भयो भनी सबै पार्टीले स्वागत गरिरहेका छन्, यस्तो परिवेशमा सम्झौताको विरोध गर्दै खारेजीको माग गर्न किन अप्ठ्यारो नलागेको तपाईंलाई ?
– फेरि पनि तपाईं उल्टो कुरा गरिरहनुभएको छ । यस सम्झौताले देशको हित गर्दैन, जनताको हित गर्दैन, जनसेनाको हित गर्दैन । कुन-कुन पार्टीले समर्थन गरे, किन गरे, त्यसको आफ्नै रहस्य होला, तर हामी यसको खारेजीकै लागि अग्रसर छौँ, हाम्रो यो माग हो भनेर बुझनुस् । तपाईं सर्वत्र जनमत यसको पक्षमा छ भनिरहनुभएको छ, तर यो सही होइन भन्ने एउटा उदाहरण दिन चाहन्छु म । ०४६ सालको जनआन्दोलनको बेलामा हामीले त्यो बहुदल एकदम गलत छ, यसले मुलुकलाई निकास दिँदैन भनेर ठोकुवा गरेका थियौँ । जनताको हकहितको रक्षा त्यो व्यवस्थाले गर्दैन भनेर हामीले भनेका थियौँ । त्यतिबेला पनि हामीलाई उल्टो देखे । ०४७ को संविधानलाई विश्वको सर्वोत्कृष्ट संविधानको पगरी गुथाइयो । तर, यथार्थ के रहेछ त ? ०५२ सालमै त्यत्रो जनयुद्ध किन सुरु गर्नुपर्‍यो त ? आर्थिक उदारीकरणको नाममा देशको अस्मिता नै छ्यालब्याल भयो र मुलुक दुर्दशामा पर्‍यो । अहिले हामीले गरेको विरोध सही भएको इतिहासले प्रमाणित गर्नेछ, हेर्दै जानुस् ।
० त्यसो भए संविधान पनि बन्दैन त ?
– क्षणिक तुष्टिका लागि बन्छ भनी कसैले भन्छन् भने हाम्रो भन्नु केही छैन, होइन र यस्तै रवैया कायम रहन्छ भने त जनताले चाहेको संविधान कसरी बन्छ ? बन्दैन ! संविधानसभालाई नै बाइपास गरेर क्रियाकलाप गरिएका छन्, विज्ञहरूको समिति बनाउने कुरा गर्न थालिएको छ, विज्ञहरूको समिति बनाउने हो भने सभासद्हरूको काम अब के त ? त्यसकारण हेर्नुस् यो सब नाटक हो । यस्तो नाटकले कुनै निकास दिन सक्दैन भन्ने जनताले समेत बुझिसकेका छन् ।
० यो नाटक कहिलेसम्म जारी रहला त ?
– त्यही त विडम्बनाको कुरा छ । अनावश्यक नाटकको अन्त्य गर्न एउटा पङ्क्ति प्रतिबद्ध हुन्छ तर त्यसलाई निर्रथक भन्दै नाटक तन्काउन पार्टीहरू उद्यत् देखिन्छन् । ०७ सालमा नेपाली जनताले आन्दोलन गरे- अन्तमा झुक्याइयो । ०४६ सालमा ठूलो आन्दोलन भयो- फेरि झुक्काइयो । र, त्यत्रो जनयुद्धबाट गुज्रिनुपर्‍यो र पनि झुक्याउने प्रक्रियामा लगिँदै छ । यो सह्य हुँदैन हामीलाई ।
० माओवादी पार्टीको जनविद्रोहको लाइन त अस्वीकार्य भइसक्यो, पार्टीले नै खारेज गरिसक्यो, होइन र ?
– तपाईंले भनेर खारेज हुन्छ ? आफ्नो पार्टीको लाइन के हो, के खारेज भयो के भएन भन्ने हामीलाई थाहा हुँदैन ? कस्तो कुरा गरेको ? पार्टीको अहिलेसम्मको लाइन भनेको जनताका समस्या हल गरेर जाने, शान्तिप्रक्रियालाई अग्रगामी निकाससहित सही ढङ्गले तार्किक प्रक्रियामा लैजाने, जनताको संविधान लेख्ने हिसाबले जाने भन्ने हो । यदि यी भएनन् भने हामीलाई किमार्थ स्वीकार्य हुँदैन । हामी एकदम जनयुद्ध, जनविद्रोहमै जान त चाहन्नौँ तर बाध्यता पर्‍यो भने फेरि पनि जान सकिन्छ, यसमा स्पष्ट भए हुन्छ ।
० ए ! अझै पनि जनयुद्धमा जान तयार हुनुहुन्छ तपाईंहरू ?
– अवश्य ! जनताका हक-अधिकार स्थापित भएनन् भने, जनतालाई झुक्याइयो या धोका दिइयो भने जनता उठ्छ त !
० तपाईंका यस्ता कुराले त माओवादी पार्टी फुट्ने पो देखियो त !
– पार्टीमा बहस चल्दैमा फुट्नुपर्छ भन्ने छ र ? हामी त पार्टीमा बहस गरिराखेका छौँ, बहस र छलफल गछौं अनि पार्टीलाई रूपान्तरणको दिशामा लैजान्छौँ ।
० पार्टी निर्णयविपरीत तपाईंहरू गएपछि नफुट्ने ग्यारेन्टी कसरी हुन्छ त ?
– को पार्टी निर्णयविपरीत गयो ? हामी त गएका छैनौँ । बरु केन्द्रीय समितिको निर्णयविपरीत हाम्रा साथीहरू नै गएका छन्, जसलाई तपाईंहरू संस्थापन पक्ष र बहुमत पक्ष भनेर संज्ञा दिइरहनुभएको छ । केन्द्रीय समितिको बहुमतको एउटा निर्णय छ अनि अल्पमतले विरोध गर्‍यो भन्ने परेको छ सबलाई । वास्तवमा कुरा ठ्याक्कै उल्टो छ । आधिकारिक निर्णय के छ भने सम्माजनक ढङ्गले सेना समायोजन गर्नुपर्छ, सेना समायोजन प्रक्रिया र संविधान निर्माण प्रक्रिया एकदम अन्तर्सम्बन्धित छन्, त्यसैले सशस्त्र र सामूहिक रूपमा समायोजन गरिनुपर्छ भनिएको छ, तर यी निर्णयको घोर उल्लङ्घन भएको छ । यसरी केन्द्रीय समितिको निर्णयको पक्षमा हामी वकालत गरिरहेका छौँ साथीहरू उल्टो बाटो हिँडेर भ्रम र्छर्दै हुनुहुन्छ ।
० तपाईं यसो भन्नुहुन्छ तर पार्टीमा अध्यक्षलाई प्रचण्ड समर्थन छ भनिन्छ !
– जे मन लाग्यो त्यही भन्ने हो भने त बेग्लै कुरा अन्यथा यथार्थ त यो होइन ।
० बाह्रबुँदेदेखि अहिलेको सातबुँदेसम्म त प्रचण्डले जे चाह्यो त्यही भएको छ, यस्तो यथार्थलाई पनि तपाईं कसरी झुटो भन्नुहुन्छ –
– यसमा म के भन्छु भने, हाम्रो अध्यक्षलाई असाध्यै आधिकारिक मान्ने, असाध्यै विश्वास गर्ने अवस्था थियो कुनै बेला, तर हेर्दै-भोग्दै जाँदा अब ती त गलत भएछ, गल्ती गरिएछ भन्नुपर्ने अवस्था आएको छ अहिले । खरिपाटी बैठकमा, पालुङटार बैठकमा हामीले कुरा उठायौँ, बारम्बार उठाइरहेका छौँ कि हामी यही संसदीय व्यवस्थालाई स्वीकार गरेर जाने कि जनवादी व्यवस्था स्थापनार्थ लागिपर्ने ? यही कुरामा अल्झिनु थियो भने त दश वर्षको जनयुद्ध सुरु गर्नुको औचित्य के हो ? जनताले प्रश्न गर्छन्, त्यसै छोड्दैनन्, बुझनुभो ? तर्सथ जुन उद्देश्य प्राप्तिका लागि बन्दुक उठाइयो त्यो प्राप्त भएको छैन । अध्यक्षले यसमा समर्थन गरेर साथ दिए हामी अझै पनि सम्मान गर्र्छौं, होइन भने सत्यको पक्षमा आवाज उठाउन छोड्दैनौँ । कमी-कमजोरी भयो भनी गल्ती स्वीकार गरेर आए हामी मान्दिन्छौँ, होइन भने विवाद जारी हुन्छ । केन्द्रीय समिति मात्रै पार्टी होइन, पार्टी त तल्लो निकायसम्म फैलिएको हुन्छ । हामी पार्टीको तल्लो पङ्क्तिमा पुग्छौँ । पार्टी फुटाउँदैनौँ तर बहस जारी राख्नेछौँ, पार्टीपङ्क्ति र जनताबीच पनि जान्छौँ हामी । हाम्रा कुरा वैज्ञानिक छन्, त्यसैले हामी आत्तिदैनौँ । हामीलाई शान्तिविरोधीका रूपमा चित्रित गर्न खोजिँदै छ तर हामी शान्तिविरोधी होइनौँ र शान्तिका नाममा आत्मसमर्पण गर्न पनि चाहन्नौँ । देशमा शान्ति चाहिन्छ तर त्यो शान्ति यस्तो हुनुपर्छ कि भविष्यमा फेरि कसैले हतियार उठाउन नपरोस् ।
– ऋषि धमला