गाउँको फटाहा तिजोरीको डिठ्ठा ! -बद्रीनरसिंह केसी

गाउँको फटाहा तिजोरीको डिठ्ठा ! -बद्रीनरसिंह केसी


शान्ति-सुरक्षा वा गरिबीबाट मुक्तिमध्ये एउटा रोज्न नेपाली जनतालाई भनियो भने एकमुखले शान्ति-सुरक्षा भन्लान् । माओवादीको युद्ध थामियो, तर ‘खाओवादी’को वितण्डा र अपराध नरोकिएकोले जनताले अझै सुविस्ताको सास फेर्न पाएका छैनन् । एक दशकसम्म आफ्नो शब्दकोशमा ‘शान्तिसुरक्षा’ भन्ने शब्दै नराखेका र यसको उच्चारण पनि गर्न नचाहने माओवादीको नेतृत्वमा राज्यको जिम्मा रहेको छ, त्यसका एक नेताले ‘चुनावाङ बैठक’ताका भनेको सम्झना आइरहन्छ, ‘संविधान सत्ताका ठालुहरूको यातना यन्त्र हो, …..कानुन राज्यआतङ्क मच्चाउने फर्मान हो र शान्ति खोज्नु भनेको बलिदान दिने बेलामा कायरता देखाउनु हो ।’ दश वर्ष यही मन्त्र घोके-घोकाएका माओवादी नेताहरू सरकार बनाएर बसेका छन् । घाटघाटको पानी पिएर उपप्रधानमन्त्री तथा गृहमन्त्री हुन आइपुगेका विजय गच्छदार पचहत्तरै जिल्लामा एक-एकजना रमेश खरेल -एसपी) जन्माउने घोषणा गर्दै हिँडिरहेका छन् ।
एउटा एसपी इमानदार बनिदिँदा कति फरक पर्छ भन्नेमा रमेश खरेलले बनाएको उदाहरणबाट गृहमन्त्री पनि प्रभावित देखिन्छन् । तर, वीरगञ्जका एक धार्मिक नेताको हत्याको षड्यन्त्रकारी र सूत्रधार आफ्नै नेता प्रभु साह हुन् भन्ने ‘किटानी दोष र अकाट्य प्रमाण’ तिनै एसपी खरेलले जुटाएर पक्राउ गर्न खोजेको ‘दोष’मा सत्ताको अगुवा माओवादीले उनलाई वीरगञ्जबाट अन्यत्रै हुत्याइदिने षड्यन्त्र गरिरहेको छ, हस्ताक्षर अभियान काम नलागेपछि दोष खोज्ने अर्को कसरत भइरहेको छ ।
रमेश खरेल प्रहरीको कर्तव्यपरायण रोलमोडेल भएजस्तै भारतमा किरण वेदी यस्तै प्रहरी उच्च अधिकृत थिए, जसको पालामा सबैखाले अपराधीको दोहोलो काडियो । आज उनी अन्ना हजारेको भ्रष्टाचारविरोधी अभियानका एक प्रमुख जनआकर्षण भएका छन् । यता नेपालमा नेताका चर्तिकलाबाट आजित भएका जनता रमेश खरेललाई गृहमन्त्री बनाउनुपर्ने आवाज उठाउने हदसम्म पुगेका बेला गृहमन्त्री गच्छदार हरेक जिल्लामा ७५ वटा रमेश खरेल आफैँले जन्माइदिने वाचा गरिरहेका छन् । तर, दर्ुजकुमारजस्ताको बढुवा गरेर रमेश खरेल जन्मिँदैन क्यारे !
७५ मात्रै किन ? गृहमन्त्रीको सफा नियत, पारदर्शी नीति र जनताप्रति इमानदार हुने कार्यशैली छ भने प्रहरीका पचासै हजार अधिकारी र जवान रमेश खरेल हुन सक्छन् । किनकि प्रहरी शक्ति आफैँ बिग्रिएको होइन, सत्तासीन ठालुहरूले बिगारेका हुन् । भाषण गर्दा रमेश खरेल जन्माउँछु भन्ने काममा ‘गणेश लामा’ -कानुनले खोजी गरिरहेको ‘फरार’ डन) लाई बोकेर हिँड्दा गृहमन्त्रीमाथि विश्वास गर्न गाह्रो भएको हो । रमेश र गणेश दुवैको पुख्र्यौली घर काभ्रे हो । ‘सुडान घोटाला’जस्ता कुख्यात काण्ड घटाउने वा हुन दिने सम्भावना जिउँदै रहेको परिप्रेक्षमा प्रहरीमा गृहमन्त्रीले कसरी जन्माउलान् ७५/७५ वटा रमेश खरेल !
भारतको बिहारका लोकप्रिय मुख्यमन्त्री नितिश कुमारले पाँच वर्षको कार्यकालमा ६६ हजार अपराधीलाई कारबाहीद्वारा ठेगान लगाइसकेको, अङ्ग्रेजी दैनिक ‘रिपब्लिका’ले कात्तिक १५ गते छाप्यो । नितिशकुमारले पहिले अरू अपराधीलाई ठेगान लगाए, ‘आफ्ना’ अपराधीलाई छोएनन् । सब अपराधी सकिएपछि अन्त्यमा ‘आफ्ना’ लाई सिध्याइदिए । कतिपय बिहारी अपराधीहरू यता मधेसमा ‘सेफ हेभेन’ बनाएर मधेसी नेताहरूको राजनीतिक संरक्षणमा निष्पिmक्री धन्धा चलाइरहेका छन् । महोत्तरीमा कारोबार भएका शिभान -बिहार)का एक भारतीयले मसँग भने, ‘नितिशजी के अपराधी-कठघरे मे दाखिल करानेकी जरुरी शातिर अपराधीयोँ नेपाल मेँ मधेसीवाला राजनीति कर रहे हैँ और काठमाण्डू को अपना तेबर देखा रहे हैँ…..।’ गृहमन्त्रीले भनुन्, रमेश खरेल जन्माउने हो भने उनी आफ्नै काखमा विराजमान अपराधीहरूलाई ठेगान लगाउन सक्छन् ? ‘सुडान घोटाला’का अपराधीहरूलाई नाङ्गेझार बनाएर अदालतलाई सहयोग पुर्‍याउन सक्छन् ? व्यक्ति हेरेर होइन, अपराध हेरेर अपराधीलाई तह लगाउन सक्छन् ? संविधानसभालाई आश्रयस्थल बनाएका अपराधीहरू ‘रमेश खरेलहरू’लाई ‘हवाला’ गर्न सक्छन् ? सक्छन् भने अन्य धेरै रमेश खरेलहरू जन्माउने प्रजनन शक्ति प्रहरीमा बन्ला । नत्र रुद्रघण्टी थर्काउने र ज्रि्रोको कसरत मात्रै गरेर जनतालाई किन निराश बनाउने ? मुखमा रामराम बगलीमा छुरा होइन, रमेश खरेलजस्तै गृहमन्त्री जनताले खोजेका छन् । जनता अब धेरै बाठा भइसके । जो लाटो छ उसले पनि गँवारको अभिनय मात्रै गरेको हो ।