सिद्धिने भए बाबुराम

सिद्धिने भए बाबुराम


सक्षम मानिसहरू नयाँ बाटो बनाएर पनि गन्तव्यमा पुग्छन्, कमजोर मानिस अरूले बनाइदिएको बाटोमा हिँडेर पनि गन्तव्यसम्म पुग्न सक्दैनन् । बाटो कहिल्यै कहीँ पुग्दैन, यात्री पुग्ने हो । दिशा र दृष्टि नहुनेको गन्तव्यसम्म पहुँच स्थापित हुन सक्दैन । दार्शनिक रूपचन्द्र विष्ट मानिसलाई गन्तव्य भेदन गर्न त उत्प्रेरित गर्थे नै, आफू हिँड्ने बाटो आफैं बनाउँm भन्ने शिक्षा दिन उनी पालुङ उपत्यकाबाट दामनसम्मको नियमित यात्रामा सडकको घुमाउरो बाटो छोडेर झाडीको सीधा बाटो प्रयोग गर्थे । अनियमित बाटोमा नियमित हिँडेको देख्नेहरूले रूपचन्द्रलाई प्रश्न गर्दा उनको सधैं एउटै जवाफ हुने गथ्र्यो, ‘बनेको बाटोमा भन्दा बाटो बनाएर हिँड्ने कोसिस गर ।’ बाबुराम भट्टराईमाथि मानिसको विश्वास पनि उनी नयाँ बाटो बनाएर समृद्ध र सुखद गन्तव्यमा देशलाई पुर्‍याउन सक्छन् भनेर नै हो । बाबुराम उचाइदार नेता भए पनि उनी आफ्नो पार्टीभित्र त्यति लोकप्रिय होइनन्, पार्टीमा पकड प्रचण्ड र मोहन वैद्यकै हो । तर, माओवादी पार्टीबाहिरको संसारले चाहिँ उनलाई बेग्लै ठान्यो, सकारात्मक रूपमा लियो र आशा राख्यो । बाहिरका मानिसले उनको प्रशंसा गर्दा माओवादी पार्टीले उक्त प्रशंसालाई आफ्नो पुँजीको रूपमा कहिल्यै लिन खोजेन, बरु बाबुरामलाई नबुझने मानिसले मात्र उनको प्रशंसा गरेका हुन् भन्ने अर्थ लगाउँदै उनलाई होचो देखाउने प्रयास सम्बद्ध पार्टीका नेताहरूबाट हुँदै आयो । गणेशमान सिंहलाई अपवादका रूपमा लिने हो भने नेपालमा एउटा पार्टीका नेतालाई अर्को पक्षकाले सकारात्मक रूपमा लिने संस्कार बसेको थिएन र छैन । तर, बाबुराम मात्र त्यस्ता नेता भए जसलाई माओवादीजस्तो कठोर विचारवाहक पार्टीसम्बद्ध भए पनि अन्य पार्टीका नेता तथा कार्यकर्ताहरूसमेत उनका प्रशंसक बने । पार्टी राजनीतिबाहिरका सर्वसाधारण जनताले पनि बाबुरामप्रति आस्था र विश्वास राखे । प्रधानमन्त्री पदमा नियुक्त हुनेबित्तिकै नेपालमा बनेको मुस्ताङ गाडी प्रयोग गर्ने उनको निर्णयलाई जनताले अति सकारात्मक रूपमा लिए र स्वागत गरे, मुलुकमा ठूलै परिवर्तन गर्ने सङ्केतका रूपमा उक्त कदमलाई लिइयो । तर, प्रधानमन्त्री बनेको दुई महिनाभित्र राज्यसंयन्त्रलाई मितव्ययी बनाउन भने बाबुराम सफल हुन सकेनन् । आफ्नो परिवारका सदस्य तथा मातहतका मन्त्री र सचिवहरूलाई मितव्ययी मार्ग अवलम्बन गराउन उनले नसक्ने देखियो । महँगा गाडी प्रयोग गर्ने परम्परालाई अवरुद्ध गर्न बाबुरामले सकेनन् । प्रधानमन्त्री बन्नेबित्तिकै खाद्यान्नमा शुद्धीकरणका निम्ति उनले चलाएको अभियानलाई पनि सकारात्मक रूपमा लिइयो । मानिसमा शुद्ध एवम् गुणस्तरीय खाना खान पाउने आशा यो अभियानले जगायो । दोषीहरूमाथि कठोर कारबाही हुन नसकेपछि उनको अभियान पनि संस्थागत हुने देखिएन । मुग्लिनको भात राष्ट्रिय समस्या होइन, राष्ट्रिय समस्याभित्रको एउटा अंश मात्र हो, अभियानले दिगो रूप लिन नसक्दा क्षणिक लोकप्रियता हासिल गर्ने प्रपञ्च मात्र यो बन्ने हो कि भन्ने आशङ्का पैदा भएको छ ।
सुदृढ अर्थतन्त्र विकासको निम्ति प्रतिबद्धता जनाउँदै उनले विदेशी लगानी आकर्षित गर्न भारतसँग गरेको बिप्पा सम्झौतालाई देशवासीले स्वागत गरे । तर, स्वदेशी उद्यम-व्यवसायलाई माथि उठाउन आवश्यक प्रयास नभएको र बिप्पा सम्झौता हुँदैमा विदेशी लगानी भित्रिने कुनै निश्चितता नभएकोले तत्काल सकारात्मक प्रभाव पर्न सक्ने देखिएको छैन । शान्ति स्थापना प्रक्रियालाई सकारात्मक निष्कर्षमा पुर्‍याउन बाबुरामले दर्शाएको तत्परतालाई देशवासीले प्रशंसा गरेका हुन्, तर त्यस निम्ति सम्झौता भए पनि त्यसको कार्यान्वयन पक्षलाई लिएर आशङ्का पैदा भइरहेको छ । यसैबीच सर्वोच्च न्यायालयबाट हत्यारा प्रमाणित व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन सहयोग नगरी माफी दिलाउन उनले गरेको निर्णयलाई माओवादीबाहेक कसैले पनि सकारात्मक रूपमा लिएका छैनन् । अन्य राजनीतिक दलहरू, मानवअधिकारकर्मी, न्यायकर्मी र पत्रकारहरूले सरकारी निर्णयको विरोध गर्दै निर्णय सच्याउन गरेको आग्रहलाई प्रधानमन्त्री बाबुरामले सकारात्मक रूपमा ग्रहण गरी जनभावनाको कदर गर्ने अपेक्षा गरिएको थियो । तर, उनले गलत निर्णय सच्याउने तत्परता लिएनन्, बरु हत्यारा प्रमाणित व्यक्तिलाई माफी नदिईकन देश बन्नै सक्दैन भन्ने शैलीमा बाबुराम प्रस्तुत भइदिए । उनको यो कार्यशैलीले उनी स्वयम्प्रतिको आशा र विश्वासमा गम्भीर धक्का पुर्‍याएको छ र बाबुराम पनि ‘एउटै ड्याङको मूला’ भएको प्रमाणित हुने स्थिति बन्दै छ । बाबुरामको छविमा यस प्रकरणले कति ठूलो धक्का पुर्‍याएको छ भन्ने कुराको महसुस सायद सत्ताबाट बाहिर आइसकेपछि उनी आफैंले गर्नेछन् । माओवादी पार्टीले हिंसा आधारित ‘राजनीति’बाट आफूलाई स्थापित गरेको भए पनि मानिसहरू उनलाई हिंसाप्रेमी ठान्दैनथे, हत्यारालाई माफी दिने प्रयासले उनीप्रतिको जनधारणा गलत भएको प्रमाणित गराउने स्थिति बनेको छ ।
बाबुराम भट्टराई सत्तामुखी होइनन् र उनी देश तथा जनताको हितप्रति प्रतिबद्ध छन्, सत्तालाई केन्द्रबिन्दुमा राखेर उनीबाट कुनै गलत निर्णय हुनेछैन भन्ने ठानिएको थियो । दलहरूबीच बन्दै गरेको सहमति र विश्वासको वातावरण नै खलबलिने गरी मन्त्रिमण्डल विस्तार गरेर ४९ सदस्यीय बनाएपछि बाबुरामको तुलना ली क्वान यूसँग होइन शेरबहादुर देउवासँग पो गर्न थालिएको छ । सत्ता रक्षाका निम्ति जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने पुराना नेताहरूभन्दा पृथक बाबुराम होइनन् भन्ने सन्देश मन्त्रिमण्डलको वर्तमान आकारले प्रवाहित गरेको छ । मन्त्रिमण्डल विस्तारको कदम बाबुरामको व्यक्तित्व अनुकूल होइन, उनले जस्तासुकै तर्क प्रस्तुत गरे पनि जनता यसलाई स्वीकार गर्न तयार भएनन् । शेरबहादुरको नयाँ संस्करणका रूपमा बाबुरामको उदय भएको ठान्न थालिएको छ ।
शान्ति स्थापना, संविधान निर्माण र जनताको दैनिक जनजीवन सहज र सरल तुल्याउनु आजको प्रमुख आवश्यकता हो । दशकौंदेखिको समस्यालाई दुई महिनामै बाबुरामले जादुगरी शैलीमा समाधान गर्न सक्ने होइन र त्यस्तो ठानिएको पनि थिएन । तर, बिहानको मौसमले दिनको सङ्केत गर्छ भन्ने मान्यतालाई आधार बनाएर हेर्ने हो भने बाबुरामको बिहानी सुन्दर देख्न पाइएन, उनको आफ्नै कार्यशैली र व्यवहारले बिहानी धमिल्याएको छ र जनता क्रमश: निराश हुने पृष्ठभूमि बन्दै छ ।
राणाकाल र त्यसपछिको एक दशकलाई छोडेर हेर्ने हो भने पञ्चायतकालमा देश पञ्चहरूको मात्र भयो । पञ्च हुन नसक्ने र नचाहनेहरूका निम्ति पञ्चायतकाल स्वतन्त्र नेपाली जनताकै निम्ति पनि देश परायाभूमिजस्तो बन्न पुगेको थियो । ०४६ को राजनीतिक परिवर्तनपश्चात् पनि निष्पक्ष राजनीतिक अभ्यास हुन नसकेको महसुस गरियो । योग्य, दक्ष, विज्ञ र सक्षमलाई उचित जिम्मेवारी नदिई दलविशेषका मानिसलाई छानीछानी महत्त्वपूर्ण जिम्मेवारी दिइने परम्परा प्रजातन्त्रकालमा पनि बसाउन खोजियो । फलस्वरूप देशको एउटा ठूलो सचेत हिस्सा असन्तुष्ट बन्न पुगेको थियो र बाबुरामको उदयपश्चात् योग्य र सक्षम मानिसले मौका प्राप्त गर्ने आशा गरिएको थियो । तर, प्रधानमन्त्री बाबुरामको दुईमहिने कार्यकाल जनअपेक्षाप्रति सकारात्मक देखिएन । खोजीखोजी समर्थकहरूलाई पोस्ने काम उनीबाट भयो, जसका कारण बाबुरामका पालामा पनि मुलुकमा निष्पक्ष राजनीतिक अभ्यास हुन सक्दैन भन्ने ठान्न थालिएको छ । फेरि पनि देशको सचेत समुदाय असन्तुष्ट रहने देखिएको छ । राजनीतिक भागवण्डाका आधारमा हुने निर्णयहरूलाई जनसाधारणले चम्बलको घाँटीका डाँकुहरूले लुटेको सम्पत्ति भागवण्डा गर्ने गरेको कुरासँग तुलना गरेर हेरेका थिए । बाबुरामले ‘चम्बल परम्परा’लाई कायम राख्दै राजदूत र अन्य महत्त्वपूर्ण जिम्मेवारी दिन ‘राम्रो होइन आफ्नो’ मानिसलाई नै प्राथमिकतामा राखे । भागवण्डाको परम्परा कायम रहेसम्म योग्य मानिसले जिम्मेवारी प्राप्त गर्न सक्दैनन् र योग्य मानिस उपयुक्त स्थानमा पुग्ने स्थिति नबनेसम्म देशले सकारात्मक दिशा लिन सक्दैन भन्ने यथार्थप्रति बाबुराम पूर्णत: उदासीन रहेको देखिएको छ । कानुनी राजको स्थापना, महँगी नियन्त्रण, न्यायपूर्ण सामाजिक अवस्था-व्यवस्था र सहज सामाजिक जीवनका निम्ति यदि बाबुरामबाट कतै पहल भइरहेको छ भने पनि जनताले त्यस्तो महसुस गर्न पाएका छैनन् ।
बाबुरामको सफलता मुलुकको हितसँग गाँसिएको छ । जनसाधारण अझै पनि उनको सफलताको कामना गर्दै नै छन् । तर, उनकै पार्टीका नेताहरू बाबुरामको सफलता चाहन्छन् भन्नेमा शङ्का छ । अरू त अरू माओवादी पार्टीका अध्यक्ष प्रचण्डसमेत बाबुरामलाई सफल बनाउन होइन ‘एक्स्पोज’ गरेर आफ्नो उपादेयता प्रमाणित गर्न चाहन्छन् भनिँदै छ । माओवादीभित्रको मोहन वैद्य खेमाले त बाबुराम नेतृत्वको सरकार औचित्यहीन भइसकेको सार्वजनिक घोषणा नै गरेको छ । अन्य दलहरूको शुभेच्छा र जनसाधारणको आस्था एवम् विश्वास बाबुरामको मूल पुँजी हो, त्यही पुँजी पनि रित्तिने सङ्केतहरू देखापर्नु मुलुक र बाबुराम दुवैका निम्ति अनिष्टकारी छ ।
०५१ को मध्यावधि निर्वाचनपश्चात् सत्तारुढ हुन पुगेको नेकपा एमालेले नौ महिना सत्तामा रहँदा गरेको कामको ब्याज एमाले आज पनि खाँदै छ । उक्त नौमहिने कार्यकालमा भए-गरेका कामले एमालेलाई जनविश्वास हासिल गर्न ठूलो सहयोग पुर्‍याएको हामी सबैले महसुस गरेका छौँ । तर, नौ महिना प्रचण्ड प्रधानमन्त्री भएर माओवादी सत्तामा रहँदा जनविश्वास वृद्धि गर्ने कुनै काम भएको ठानिँदैन । प्रचण्डको नौमहिने कार्यकाल एउटा उपद्रव र अराजकताको उर्वरकाल बनेको मानिसहरू ठान्दछन् । धर्म, परम्परा, सामाजिक मूल्य, मान्यता र प्रचलित राज्य परम्पराहरूलाई ध्वस्त बनाउन मात्र प्रचण्ड कार्यकाल केन्द्रित रहेको महसुस गरिएको थियो । बाबुराम प्रधानमन्त्री भएपछि कम्तीमा विगतका कमी-कमजोरीहरू दोहोरिने छैनन् भन्ने जनविश्वास थियो त्यो गलत भएको प्रमाणित हुँदै छ । अन्य दल र साधारण जनताको विश्वाससमेत गुमेको या गुमाएको अवस्थामा बाबुरामको राजनीतिक भविष्य मात्र जोगिने ठान्न सकिँदैन । देश जोगाउन नसक्ने भए बाबुरामले कम्तीमा आफूलाई जोगाउन्, शुभचिन्तकहरूको यस्तै कामना र चाहना छ । अझै पनि समय छ बाबुराम, समृद्धि प्राप्तिको गन्तव्य तय गर्न नयाँ सोच र शैलीको जुन राष्ट्रिय आवश्यकता छ त्यसलाई पर्ूर्ति गर्ने तत्परता लिइयोस् । होइन भने बाबुरामसँगै जनताको आशा र भरोसाको पनि विर्सजन हुने निश्चित छ । त्यसपछि मुलुकले कुनै पनि बाटो तय गर्न सक्छ, बाबुरामहरू देश जलेको खरानी घसेर ‘माओधाम’का अन्तिम बटुवा बन्नेछन् ।