राष्ट्रिय झण्डा जलाउनेलाई कस्तो सजाय होला ?

राष्ट्रिय झण्डा जलाउनेलाई कस्तो सजाय होला ?


■ अर्पण तिवारी

‘बाहुन–क्षेत्रीहरू भनेका मगन्तेहरू हो, बाहुन–क्षेत्री भनेका यो देशका लुटेराहरू हुन्, त्यसकारण अब हामीले बाहुन–क्षेत्रीलाई लुटेरा भनेरै चिन्नुपर्छ, अनि यो देशबाट बाहुन–क्षेत्रीलाई विस्तारै–विस्तारै खेदनुपर्छ’ ! यो अंश बितेको ४८ घण्टाभित्र मंगलहोप अफिसियल नामको युटयुब च्यानलमा राखिएको ‘देशद्रोही’ बोलको ऱ्याप गीतको शुरुको अंश हो ।

आवाजविहीनहरूको आवाज सशक्त रूपमा उठाउने एक सशक्त माध्यम पनि मानिन्छ गीत–सङ्गीतलाई, तर यसरी सार्वजनिक रूपमै जातीय दङ्गा भड्काउने खालको अधिकार यस्ता सामग्रीका ‘सर्जक’हरूलाई अवश्य छैन र हुनु हुँदैन । ‘देशद्रोही’मा भनिएजस्तै बाहुन–क्षेत्री वा अन्य कुनै जात–समुहले अर्को समुहलाई यसरी नै गालीगलौज गर्दै हुर्मत काड्दै स्वतन्त्र सिर्जनाका नाममा यस्तै खालका सिर्जनाहरू बाहिरिन थाल्यो भने कल्पना गरौँ हाम्रो समाज कहाँ पुग्ला ? यस्ता खालका सिर्जनाले ल्याउन सक्ने जातीय, धार्मिक वा आर्थिक द्वन्द्वको उत्तरदायित्व कोसँग खोज्ने ? सजाएको भागीदार को हुने ?

प्रजातन्त्र वा गणतन्त्रमा आफ्नो जात, धर्म, रीतिरिवाज संस्कृतिको रक्षा गर्न सबैलाई अधिकार हुन्छ, सबैलाई छुट छ । जात, धर्म, भाषा र संस्कृतिको रक्षा गर्नु हामी सबैको दायित्व पनि हो र रहन्छ । तर यसैको नाउँमा अन्य जात, धर्म, संस्कृतिलाई गाली गर्दै आफ्ना कथित सिर्जनाहरू निर्माण तथा सार्वजनिक गर्ने प्रवृत्ति बढ्दो छ, जो तत्काल रोकिनु अपरिहार्य छ ।

केही समयअगाडि मात्र सम्पन्न जनैपुर्णिमा पर्वको रूप नै फेरिएको हामीले महसुस गरिसकेका छौँ । सो चाड भाइटीका हो कि जनैपुर्णिमा हो भनेर सामाजिक सञ्जालमा ठूलो द्वन्द्व नै चर्कियो । सामान्यतया ऱ्याप गीतले आफ्नै मौलिकता र महत्व बोक्दाबोक्दै पनि यसलाई आयातीत सङ्गीत–साध्य हो भन्दा अत्योक्ति नहोला । हाल यस्तै खालका गीतहरूले हाम्रो सांस्कृतिक अवस्थालाई निकै लज्जित गराउँदै लैजाने गरेको छ । यतिबेला नेपाली महिलाको महान् चाड तिज चलिरहेको छ जसलाई नै आधार बनाएर विभिन्न तिजगीतहरू बजारमा निस्केका छन्, जसमध्ये ‘अबको तिज नो ब्रत प्लीज’ बोलको गीत अहिले पनि युट्यूबमा ‘प्राइभेट’मा छ । यस्तो अवस्थामा सरोकार पक्ष त्यस्ता खालका गीतहरू युट्यूबमा प्राइभेट गर्न त सफल भयो तर त्यस्ता सृजनामा अङ्कुश लगाउने खालको स्पष्ट नीति बनाउन सकेन जसले घटना, पात्रहरू फेरिएका छन् समस्या जस्ताको तस्तै रहेको छ । पात्रहरू फेरिने तर समस्या उस्तै रहने प्रवृत्तिको विकास भएको छ । यस्ता दुष्प्रवृत्तिलाई रोक्ने कसले ? कसले नियमन गर्ने ?

युट्यूब प्रयोगकर्ताहरू नेपालमा बढेसँगै यसमा प्रसारण हुने यी र यस्तै विषयबस्तुप्रति सरकारले उच्च निगरानी राख्नुपर्ने देखिन्छ तर यसको विपरीत गीत–सङ्गीतको नियमन गर्ने स्पष्ट नियमन–निकाय सरकारले अहिलेसम्म तोक्न सकेको छैन । ‘ढालजस्तो ढाकाटोपी, ब्रा जस्तो हिन्दु झन्डा बोकी, आयातीत विक्रम सम्वत्, राजस्थानको दौरा सुरुवाल’ बोल भजाउँदै यस गीतमा नेपालको राष्ट्रिय झन्डा जलाउँदै उक्त भिडियो जो प्रस्तुत गरिएको छ, जुन हरेक नेपालीको लागि असैह्य छ । नेपाली ढाकाटोपी विश्वमा चिनिँदै आउँदा र नेपालको राष्ट्रिय झण्डा विश्वमा नै नमुना बन्दै गर्दा यस किसिमका गीतले ती झण्डा, टोपी, पोसाक र संस्कृतिमाथि नै हमला गरेर समस्त नेपालीको मन जसरी दुःखाएको छ यो कुनै पनि मानेमा नेपाली जन र नेपाली मनको लागि सैह्य विषय बन्न सक्दैन । यो गीत युट्यूबमा राखेको केही घण्टामै यसलाई लाखौँ पटक हेरिइसकेको छ । तर विडम्बना ! सरोकारवाला सरकारी निकायले यस्ता कथित सर्जकको खोजी गरी कानुनी कारवाही शुरु गर्न तदारुकता लिएको देखिएन । आम तहबाट भएको व्यापक विरोधपछि झारा टार्ने शैलीमा प्रहरी प्रशासन सो गीतका सर्जकको खोजी कार्यमा लागे पनि अझै पनि युट्यूबबाट हटाइसकेको छैन ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाललाई लोकगीत, लोक–दोहोरी गीतबाहेकका अन्य विधामा बोल्न पाउने–नपाउने अवस्थाले पनि यस्तो दूरावस्था रोक्नलाई असहज बनाएको छ । उसो त यस प्रतिष्ठानलाई सेन्सर बोर्डको आधिकारिक रुप दिन नसक्नाले पनि समस्या झनै जटिल बन्दै गएको जस्तो देखिन्छ । आशा छ, सरकारको कुनै निकायले यस्ता खालका विषयमा गहन रूपले मनन गरी यसलाई नियमन गर्ने अधिकार प्राप्त निकाय बनाओस् । यस्ता खालका गीतहरू सामाजिक सन्जालमा ब्यापक विरोधपछि युट्यूबबाट हटाउने प्रवृीत्रमा मात्र सीमित नरही सोभन्दा माथि उठेर त्यस्ता खालका सृजनाकर्तालाई स्पष्ट कानुनी सजायको भागीदार बनाओस् । यसका लागि ठूलो धनराशिको जरिवानासहित आजीवन कारावास होस् वा अन्य जेसुकै उचित सजाय दिएर होस्, यस्ता विग्रहकारी सृजना गर्ने आँट कसैमा नआओस् । जय गीत–सङ्गीत !

– वार्सिलोना (स्पेन)